शुक्रबार, वैशाख १४, २०८१
09:18 | १४:०३

बेलायतमा एकैदिन ६१२ को मृत्यु, २४ हजार बढी संक्रमित  

नेपाली लिङ्क डिसेम्बर १६, २०२०

लन्डन । विश्वभर कोरोना संक्रमणका मृतक संख्याको आधारमा छैठौँ स्थानमा रहदै आएको बेलायतमा बुधबार साँझसम्म मृतक संख्या ६५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ६१२ जना कोरोना संक्रमितको मृत्यु भएसंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६५ हजार ५२० पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । अघिल्लो दिन मंगलबार २४ घन्टामा ५०६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

यसैगरी कोरोना संक्रमितको संख्या पनि विगतका दिनहरुको तुलनाम निकै वृद्धि भएको छ । अघिल्लो दिन मंगलबार २४ घन्टामा ५०६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । बुधबार सार्वजनिक तथ्याँक अनुसार गएको २४ घन्टामा २५ हजार १६१ जना नयाँ संक्रमित थपिएका छन् ।

यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या १९ लाख १३ हजार २७७ पुगेको छ । अघिल्लो दिनको तुलनामा संक्रमित संख्या झन्डै सात हजारले बढी छ । मृतक संख्या र संक्रमित संख्या बढेसंगै हस्पिटल भर्ना हुनेको संख्या पनि विगतका दिनमा भन्दा बढेको छ । पछिल्लो २४ घन्टामा मात्र एक हजार ७७० जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् ।

जसमध्ये एक हजार ३२६ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ । बेलायतका हस्पिटलमा १८ हजार भन्दा बढीको उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा संक्रमण दर तीव्र रुपमा वृद्धि भएको भन्दै बुधबारबाट लन्डन क्षेत्रमा थप कडा प्रतिबन्ध लागू गरिएको छ ।

बेलायतमा गत हप्ताबाट शुरु भएको कोरोना विरुद्धको भ्याक्सिन वितरण कार्य पनि तीव्र रुपमा अघि बढेको छ । बेलायतमा एकसाताभित्र एक लाख ७० हजार भन्दा बढी मानिसले कोरोना विरुद्धको भ्याक्सिन लगाएको सरकारले बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू