बिहीबार, चैत १५, २०८०
11:12 | १६:५७

बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बस्ने पूर्व गोर्खाको घोषणा

अप्रिलसम्ममा माग पूरा गर्न अल्टिमेटम

नेपाली लिङ्क डिसेम्बर १६, २०२०

संयुक्त गोर्खा सत्याग्रह संघर्ष समिति बेलायतका सचिव धनबहादुर गुरुङ

लण्डन । भूतपूर्व गोर्खाहरुको मागका सम्बन्धमा बेलायत सरकार उदासिन बनेको भन्दै गोर्खा आन्दोलनका एक अभियन्ता धनबहादुर गुरुङले आमरण अनसन बस्ने घोषणा गरेका छन् । 

आउँदो अप्रील महिनाभित्रै बेलायत सरकारले गोर्खा आन्दोलनले उठाएका मुद्धाको यथोचित सम्बोधन नगरे मे १ तारिखदेखि आमरण अनसन थाल्ने उनले बताएका छन् । 

संयुक्त गोर्खा सत्याग्रह संघर्ष समिति बेलायतका सचिव समेत रहेका गुरुङ लण्डनको १० डाउनिंग स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री कार्यालय अगाडि अनसन बस्ने योजनामा छन् । 

‘हामी गोर्खाहरु आन्दोलनमा लागेको तीन दशक काटिसक्यो । हामीले उठाएका जायज मागहरु पनि सुनुवाई हुन सकेन’, नेपाली लिंकसंगको संवादमा उनले भने, ‘हामीले भएभरका सबै उपाय अपनायौं । हरेक कोशिस् गर्यौं । अब अरु केहि नलागेपछि उनीहरुकै अगाडि धर्ना बस्नुको विकल्प बाँकी रहेन ।’

‘काँतर भएर बाँच्नुभन्दा बरु वीर बनेरै मर्न ठीक’ भन्दै उनले गोर्खाहरुमाथिको ऐतिहासिक अन्याय नसच्चिंदै विश्राम नलिने दृढता व्यक्त गरेका छन् । 

बेलायत र नेपालका सरकार तथा गोर्खाहरु सम्मिलित त्रिपक्षीय प्राविधिक संयन्त्रको सिफारिसलाई समेत बेलायतले लत्याएको आरोप गुरुङले लगाएका छन् । ‘प्राविधिक संयन्त्रको सिफारिस हुबहु कार्यान्वयन हुनपर्छ भन्ने हाम्रो क्लियर अडान छ । त्यसमा कुनै पनि वहानामा तलमाथि हुनै सक्दैन’, उनले थपे, ‘सन् १९४७ को नोभेम्बर ९ मा भएको त्रिपक्षीय सन्धिमै टेकेर बेलायतले नेपालसंग वार्ता गरेरै समस्या सुल्झाउनुपर्ने हाम्रो मान्यता छ ।’

बेलायत सरकारले सोझा गोर्खाहरुलाई धेरैपटक ढाँट्ने र झुक्याउने काम गरेको गुनासो गुरुङले पोखे । ‘अब यसरी चल्ने देखिंदैन । हाम्रो आन्दोलन वारपारकै चरणमा पुग्छ । बरु हामी आफ्नो जीवन नै दिन तयार छौं । तर हामीमाथि भएको ऐतिहासिक अन्याय र विभेदका बारेमा चुप लागेर बस्न सक्दैनौं’, उनले भने । 

आउँदो अप्रिल महिनासम्म बेलायत सरकारका लागि अन्तिम समय दिइएको गुरुङको भनाइ छ । ‘जति सहनु हामीले सहिसक्यौं । अब मिठो बोली र प्रलोभनमा फस्नेवाला छैनौं । अझै लगभग साढे ४ महिनाको समय दिएका छौं । त्यतिञ्जेल पनि हाम्रो माग सम्बोधन भएन भने हाम्रो आमरण अनसनको कार्यक्रम कुनै हालतमा रोकिन्न । हामी त्यतिन्जेल अनसन तोड्दैनौं जतिञ्जेल गोर्खाहरुले न्याय पाउँदैनन् ।’

गुरुङसंगै गोर्खा सत्याग्रह संघर्ष समितिका निर्देशक ज्ञानराज राई, नेपालस्थित गोर्खा विधवा पुष्पा घले लगायतले पनि मे १ देखि आमरण अनसन बस्ने बताइसकेका छन् । 

यसअघि सन् २०१३ मा अभियन्ता ज्ञानराज राईले बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि बसेको आमरण अनसनले गोर्खा आन्दोलनका पक्षमा बेलायती तथा अन्तरराष्ट्रिय जगतबाट ठूलो चासो बटुल्न सफल भएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू