मंगलबार, वैशाख ११, २०८१
13:16 | १८:०१

बीबीसी मास्टरसेफको फाइनलमा ढाकाटोपीमा देखिंदैछन् सन्तोष

नेपाली लिङ्क डिसेम्बर १६, २०२०


लण्डन । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स्’ को फाइनलसम्म पुगेका नेपाली सेफ सन्तोष साहले यतिबेला देशविदेशमा ठूलो चर्चा कमाइरहेका छन् ।

बीबीसीबाट प्रसारण हुने अन्तरराष्ट्रिय स्तरमै प्रतिष्ठित प्रतियोगितामा पहिलोपटक सहभागी बनेका नेपाली सेफको सफलतालाई नेपालीहरुले देशकै गौरवका रुपमा लिएका छन् ।

मंगलबार बेलुका प्रतियोगिताको फाइनल राउण्डको पहिलो चरणबाट छनोट हुंदै सन्तोषले शीर्ष ४ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । बुधबार बेलुका हुने प्रतिस्पर्धामा अघि बढ्न सके उनले विहिबार प्रतियोगिताको विजेताका लागि हुने अन्तिम प्रतिस्पर्धामा भिड्ने अवसर पाउनेछन् ।

बीबीसी मास्टर सेफको प्लेटफर्मबाट नेपाली खानालाई संसारभर चिनाएका सन्तोष प्रतियोगिताको फाइनल एपिसोडमा नेपाली टोपीमै देखिने भएका छन् । मास्टर सेफको किचनमा सेफ पोशाकमा सजिएका उनले नेपाली ढाका टोपी र भादगाउँले टोपी समेत लगाएका छन् ।

बुधबार बिहान टोपीसहितको तस्विर सार्वजनिक गर्दै सन्तोषले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसलाई आफ्नो सपना वास्तविकतामा परिणत भएको भनिन्छ-मास्टरसेफमा ढाकाटोपी । मास्टर सेफ प्रोफेसनल्स् २०२० मा मलाई मेरो देशको राष्ट्रिय टोपी लगाउन दिएकोमा बीबीसीलाई धन्यवाद ।’

नेपाली लिंकसंगको संवादमा सन्तोषले मास्टर सेफको प्लेटफर्मलाई आफूले नेपाली खाना र नेपाल चिनाउने अवसरका रुपमा लिएको सुनाए , ‘मेरो लागि यो एउटा प्रतियोगिता मात्र होइन कि मलाई जित्नैपर्छ । विजेता नै बनेछु भने पनि राम्रै भयो । तर त्योभन्दा बढी मलाई हाम्रो देश नेपाल र नेपाली खानालाई संसारका अरु मानिसहरुसम्म चिनाउने चाहना हो । जसलाई मास्टरसेफले केही हदम्म पूरा गरिदिएको महशुस गरेको छु ।’

मास्टर सेफको यात्राका क्रममा संसारभरका नेपालीहरुबाट पाएको साथ र मायाले आफ्नो हौसला अझै बढेको उनी बताउँछन् ।

मास्टरसेफको फाइनल राउण्डमा मंगलबार कोदोको खीर पस्किएका सन्तोषले अघिल्लो राउण्डमा योमरी बनाएर निर्णायकको मन जितेका थिए । यसअघि उनले सिस्नो र आलुको तरकारी, बेथेको साग, वन तरुल, भांगको चट्नी, प्याजको अचार, मकैको रोटी लगायत थुप्रै मौलिक नेपाली परिकारहरु प्रस्तुत गरिसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू