बिहीबार, जेठ १०, २०८१
21:08 | ०१:५३

मुरारीराज शर्माः जसको क्षमतालाई राष्ट्रले उपयोग गर्न सकेन

विश्वास दीप तिगेला डिसेम्बर १६, २०२०

मैले धेरैजना संग संगत गरें तर छोटो संगतमा पनि सबैभन्दा धेरै चाहिं मुरारीराज शर्मा दाईबाट सिकें । हुंदाहुंदा यति सम्म दाई माथि परनिर्भर थिएं कि दाईको निधनको खबर सुन्ने बित्तिकै म आफूले आफंैलाई सबैभन्दा कमजोर भएको महशुस गरें । नीतिगत तथा सैद्धान्तिक समस्या आउने बित्तिकै मैले उहांलाई नै सोध्थें र उहांले पनि जसरी हुन्छ समाधान दिनुहुन्थ्यो । उसो त शर्मा दाई, साथी, अभिभावक मात्र होइन् उहां मेरो प्रेरणाको स्रोत अझ भनौं रोल मोडल हुनुहुन्थ्यो । उहांको सम्झनामा यी हरफहरु लेख्दै गर्दापनि मैले उहांलाई सम्झेर भावविव्हल भएको छु ।

राजनीति, विधि, प्रकृया र पद्धति बुझ्नु भएको सकारात्मक सोचका शर्मा दाईको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ज्ञान र क्षमता थाहा पाएपछि मलाई चाहिं लोभ लागेको थियो । यदि म नेपालको सत्ता सम्मको पहुंच भएको ब्यक्ति भएको भए शर्मा दाईलाई एसियाको पालोमा संयुक्त राष्ट्र संघमा महासचिव पदमा चुनाव लडाउन पहल गर्ने थिएं । उहां स्वयंलाई पनि यो कुरा एकाध पटक भने र उहांले भन्नुहुन्थ्यो तपाईंले भनेर नहुने विश्वास जी । यस्तो हुनुपर्छ संयुक्त राष्ट्र संघको नयां संरचना अर्थात रिइन्भेन्टिङ द युनाइटेड स्टेट नामक पुस्तक जुन संयुक्त राष्ट्रसंघको बारेमा लेख्नु भएको थियो र उहांकै दोस्रो पुस्तकको काम हुंदै गर्दा पनि उहांले जानकारी गराउनु भएको थियो । उक्त पुस्तकको प्रकाशन पछि विमोचनको लागि संयुक्त राष्ट्र संघको कार्यालय अमेरिका जाने बेला पनि एकदुई पटक हामी बीच कुरा भएको थियो र तत्कालिन महासचिव वान की मुनले विमोचन गरिदिने भएकोले उहां उत्साहित हुनुहुन्थ्यो । तर, प्राविधिक कारणले उहां अमेरिका जानुभएन र विमोचन महासचिव वान की मुनले आफ्नै कार्यालयमा विमोचन गरेको भिडियो संयुक्त राष्ट्र संघको वेभसाइटमा देखेर गर्व महशुस गरें । एक नेपालीले अंग्रेजी माध्यममै लेखेको महत्वपूर्ण पुस्तक राष्ट्रसंघको महासचिवले उहांकै आफ्नो कार्यालयमा विमोचन गरिदिएको त्यति मात्र होइन मुनले विमोचन भाषणमा पनि भनेका छन् । मुरारीराज शर्मा वाज माई वोस र उसको पुस्तक मैले विमोचन गर्न पाउंदा गौरव महशुस गर्छु भन्ने मुनको उक्त शब्दले म झनै गद्गद् भएं । शर्मा दाई संयुक्त राष्ट्र संघका लागि नेपाली राजदूत रहनु भएको बेला उहांले विभिन्न १४ वटा कमिटीको नेतृत्व गर्नुभएको र एक पटक कार्यबाहक राष्ट्रसंघको सभाको अध्यक्षता गर्नुभएको बेला शर्मा दाईले बोल्नुपर्ने भाषण कर्मचारीको हैसियतले मुनले लेखिदिएको संयोग परेको रहेछ ।

संयुक्त राष्ट्र संघमा काम गर्ने मुन कोरिया फर्केर परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेपछि राष्ट्रसंघको महासचिव बनेका कारण शर्मा दाईलाई मेरो बोस भने । तर, मलाई चाहिं नेपाल सरकारसंग चित्त दुख्थ्यो । यस्तो क्षमता भएका शर्मा दाईलाई किन सही सदुपयोग नगरेका होला भनेर । हुन त शर्मा दाई लामो समय नेपालको परराष्ट्र सेवामा सेवागरी परराष्ट्र सचिवको जिम्मेवारी पुरा गरि अवकास पछि संयुक्त राष्ट्र संघका लागि राजदूतको कार्यकाल पुरा गरि पुनः युकेका लागि राजदूत बनेर आउनु भएको हो । हो त्यहि वेला मात्र उहांसंग मेरो चिनजान र भेटघाट भएको हो ।

भेटघाट पछि नजिक हुने निहुं चाहिं मेरो साहित्यिक सक्रियता थियो । सन् २००८ मा नेपालबाट प्राध्यापक डा. गोविन्दराज भट्टराईलाई लण्डनमा ल्याई एक अन्तरक्रियाको कार्यक्रम गरें, गरियो । त्यो बेला उत्तर आधुनिक नेपाली साहित्यको चर्चा शिखरमा थियो । लण्डनको एक कलेजमा कोठा बुक गरेर साहित्यिक एक भेला गरयौं । डा. भट्टराईले उत्तरआधुनिक साहित्यको बारेमा बोल्नु भयो । उहांलाई सम्मान गरयांै र तत्कालै अन्तर्राष्ट्रिय नेपाली समाज (अनेसास) गठन गरयौं । त्यस बेला गैर आवासीय नेपाली संघ (एनआरएन) को चर्चा र लोकप्रियता शिखरमा थियो र अनेसास पनि एनआरएन कै अंग हो झै भन्ने भ्रमका कारण मेरै सक्रियतामा उक्त भेलाको आयोजना भयो । भेलाले अध्यक्षमा हरि सिवाकोटी, उपाध्यक्षमा श्रीमति नीला अधिकारी जो राजदूत शर्मा दाईकी धर्मपत्नि र म चाहिं महासचिव रहें । हामीले झझल्को स्मारिका पनि प्रकाशित गरयौं । धेरै साहित्यिक बैठक र भेलाहरुमा नीला भाउजु संगै राजदूत शर्मा दाई आउनुहुन्थ्यो र छलफल गथ्यौ, योजनाहरु बनाउथ्यौं ।

नेपाली राजदूतको निवासमा मैले साहित्यकार डा. भट्टराई सरलाई लिएर शर्मा दाईकोमा डिनर खान गएको छु । अन्य साहित्यकारहरु आउंदा पनि मैले लिएर जान्थें । त्यो बेला सबैभन्दा सक्रिय थिएं क्यारे म । जब म सन् २००९ को अगष्टमा ब्रुनाई गएं तब हामीले विश्व नेपाली साहित्य महासंघको स्थापना गरयौं । सन् २०१०, जुलाई १३ तारिख भानुभक्तको जन्मजयन्ती थियो । त्यही बेला देखि शर्मा दाईलाई विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय सल्लाहकार राख्यौं र निरन्तर सल्लाहकार हुनुहुन्थ्यो । बीचमा उहांलाई नेपालबारे लेखिएको सूचना सूधार कार्यदलको संयोजक पनि बनायौं र लण्डनको एक म्यूजियममा बुद्ध भारतमा जन्मिएको भनी लेखिएको तथ्याङ्क भेट्यौं र उक्त कुरा सच्चाउन विश्व नेपाली साहित्य महासंघको लेटर प्याडमा विरोध गर्दै सच्चाउन आग्रह गरयौं । उक्त कार्यको नेतृत्व शर्मा दाईले नै गर्नुभयो ।

अंग्रेजी भाषा सुधार, कानूनी सल्लाह, तौरतरिका, मर्यादाक्रम आदिको बारेमा जान्न पर्दा सबैभन्दा पहिला मैले शर्मा दाईलाई सम्पर्क गर्दथें । कति सम्म भने नेपालबाट उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे आउनुभयो । उहांको कार्यक्रममा मैले सम्बोधन गर्नुपर्ने थियो तर उपसभामुखलाई सम्माननीय वा माननीय के भन्नुपर्ने दुविधा भयो । त्यस्तै नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री आउनु हुंदा पनि कार्यक्रमस्थलबाटै उहांलाई टेक्सट गरें तब शर्मा दाईले एकछिन पर्खनु भन्नुहुन्थ्यो र केहि समय पछाडि माननीय मात्र भनिन्छ भनेर भन्नु भो । म ठूलो संकटबाट बचें । यस्ता कुरा त कति सोधें सोधें, यकिन छैन् ।

मलाई नेपालको कर्मचारीतन्त्र अर्थात ब्यूरोक्रेटबारे खुबै चासो हुने भएकाले पटकपटक गरेर घण्टौंसम्म नेपालको ब्यूरोक्रेटको बारेमा उहांबाट जानकारी लिएको छु । म बु्रनाईबाट युके छोटो समयका लागि आएको बखत सन् २०१३ ताका लण्डनको शेक्सपियर ग्लोवमा लाइभ नाटक मञ्चन हेर्न जाने सल्लाह भयो । सल्लाहले कुन हेर्ने भन्ने निक्र्यौल चाहि गर्यौं तर टिकट पाउन हम्मे, कम्तिमा एकहप्ता अघि नै टिकट किनिसक्नु पर्ने रहेछ । र मैले उहांलाई आग्रह गरें लौ हामीले हेर्ने नाटकको सबै कथा तपाईं पढेर मलाई सुनाउने र म चाहिं दुई टिकट लिने भन्ने कामको बांडफांट भयो । र, हामी थिएटर अगाडी भेट भयौं र उहांले हामीले हेर्न गइरहेको नाटकको कथा, हेर्न अगावै मज्जाले भन्नुभयो मलाई र हामी भित्र छिरयौं । थिएटरमा खासखुस हल्ला त के अलिठूलो सास पनि फेर्न नपाइने गरि साइलेन्स हुंदो रहेछ । खुबै मज्जा आयो । कथा अनुसारको नाटक त हेर्यौ नै, त्यो संगै ब्रिट्रिशहरुको लाइभ नाटक कस्तो हुंदोरहेछ, कस्ता कस्ता मान्छे नाटक हेर्न आउंदा रहेछन्, कसरी ब्यवस्थित गरेको हुंदा रहेछन् आदि जान्न पाएं । नाटक हेरेर निस्किए पछि लण्डनको अण्डरग्राउण्डमा संगसंगै निक्कै लामो यात्रा गरयौं । अण्डरग्राउण्डमै कफी खायौं, उक्त दिन उहांले क्याप लगाउनु भएको थियो जसले उहांलाई सामान्य देखाउथ्यो र एक दोकानमा कुरा चलिहाल्यो घुमफिरको । मुलुकहरु दोकानेलाई प्रसंगवश सुनाउंदा दोकाने छक्क परयो र त्यस सांझ अबेर मात्र हामी छुटियौं ।

त्यसबेला उहांले युकेका लागि नेपाली राजदूतको जिम्मेवारी सिध्याइसक्नु भएको थियो । उहांलाई राजदूतबाट फिर्ता बोलाइए पछिको श्रृंखलाहरु पनि मलाई चाहिं उहांले शेयर गर्नुभएको थियो । भाउजु नीलाको मुटुको अप्रेसन, छोराको जिसिएससी परिक्षाको कारण उहांलाई तुरुन्त नेपाल फर्कन मिलेन । सामान्यतया यूकेमा जिसिएससी अर्थात ११ कक्षामा अध्ययनरत रहंदा विद्यालय सार्न र छोड्न मिल्दैन् । त्यही समस्याका कारण नेपाल फर्कन ढिला हुंदा राजदूत नेपाल नफर्किएको कहिंकतै समाचारहरु पनि आए । त्यो खेल पनि दूतावास भित्रैका एकाध कर्मचारीको बेइमान थियो ।

सन् २००७÷८ तिर हामीले प्रवासी नेपाली समाज नामक संस्थाको तर्फबाट विभिन्न स्रष्टासर्जकहरुलाई सम्मान गर्दथ्यौं । सो क्रममा उहांलाई प्रमुख अतिथि बनाएर नायक गोरे गुरुङ, यूकेका पहिलो नेपाली काउन्सिलर धन गुरुङ, डा. कविताराम श्रेष्ठ लगायतलाई फोक्स्टोनको हकिन्स हलमा कार्यक्रम गरेका थियौं र हामीले उहांलाई डोभर इलाकाको आकर्षक र महत्वपूर्ण ठाउंहरुमा संस्थाबाटै भ्रमण पनि गराएका थियौं । उहां सारहै मिजासिलो र बौद्धिक ब्यक्तित्व हुनुहुन्थ्यो र हामी उहांको सधंै चर्चा गर्दथ्यांै ।

शर्मा दाईको म माथि यतिधेरै योगदान छ कि ति कुरा यहां मैले लेखेर पनि सक्दिन सायद । उहां आफैं कवि, मुरारी अधिकारीका कविताहरु नामक संग्रह, मुरारी अधिकारीका लघुकथा संग्रह प्रकाशित छन् । संयुक्त राष्ट्रसंघ बारेको पुस्तक लगायत नियमित रुपमा नेपालको कान्तिपुर, द काठमाडौं पोष्टमा अंग्रेजी र नेपाली दुवै भाषाका लेखहरु प्रकाशित हुन्थे । लण्डनबाट स्याटेलाइट माध्यममा प्रसारण हुने नेपाली टेलिभिजनको निम्ति सन् २०१० ताका मैले उहांलाई संघीयता विषयक टिभी वहसमा पनि सहभागी गराएको थिएं । नीला भाउजू पनि साहित्यमा निरन्तर हुनुहुन्थ्यो । उसो त उहांहरुको अभिनय भएको म्यूजिक भिडियो पनि हरि शिवाकोटी जीले बनाउनु नै भएको छ । म सधैं साहित्य लेखन र संयोजनको कर्ममा जुट्ने भएकोले उहां संगको सम्बन्ध सधैं नजिक रहयो । म सन् २०१४ मा ब्रुनाईबाट युके फर्किए पछि त हाम्रो कुराकानी लामै हुने गर्दथ्यो । अनलाइन स्काइपमा धेरै गफ हुने गर्दथ्यो । कहिले काहीं दुईतीन घण्टा सम्म पनि हुन्थ्यो तर सिद्धान्त र नीतिकै वहस हुन्थ्यो ।

जब जागिरबाट मैले अवकास लिएं र सन् २०१६ देखि निरन्तर पूर्णकालिन विद्यार्थी भएर पढ्न शुरु गरें त्यसपछि पनि साथ सहयोग र सहारा शर्मा दाईबाट पाएं जस्तो लाग्छ । मेरो ३ वर्षे डिग्री कोर्षमा जम्मा दुई जना नेपालीबाट सहयोग प्राप्त गरें । एक शर्मा दाई र अर्का नेपालका एक सफल राजनीतिज्ञ राजेन्द्र प्रसाद श्रेष्ठबाट । श्रेष्ठबाट मेरो निर्वाचन प्रणाली बारेको शोधपत्रमा थोरैभएपनि जानकारी र उहांको उपयोगी पुस्तक पाएं भने मेरो अर्को सानो शोधपत्र जुन चाहिं भ्रष्ट र हत्यारा नेतालाई अन्तर्राष्ट्रिय फौजदारी अदालत हेगमा कसरी लैजाने भन्ने बारे थियो । उक्त अदालत रोम सन्धि अन्तर्गत पर्दछ । जुन नेपालले शुरुमा स्वीकार गरेको र पछि अनुमोदन नगरेको । अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय गर्ने बेलामा शर्मा दाई परराष्ट्र सचिव हुनु भएकोले उहांले बेलिविस्तार लगाउनु भयो जसले मलाई ठूलो सहयोग भयो । त्यस्तै गरि मेरो राजनीति विषयमा ग्लोवल गभन्र्स अन्तरगत पटकपटक संयुक्त राष्ट्र संघको कुरा ठोकिन पुग्थ्यो । राष्ट्रसंघ बारेको लेख लेख्ने बेलामा पनि उहांबाट धेरै सहयोग प्राप्त हुन्थ्यो । हुन त अहिले गुगल, युट्युव, स्कलरसर्चहरु छन् तर प्रत्यक्ष भोगेकाहरुबाट सिधै सुन्न पाउंदा साह्रै धेरै जानकारी मिल्दो रहेछ ।

सन् २०१८ मा विश्व नेपाली साहित्य महासंघको दोस्रो विश्व सम्मेलन म अध्ययन गरेकै यूनिभर्सिटी क्यान्टवरी क्राइसचर्चकै मुख्य हलमा गर्ने निधो भयो । क्यान्टवरी साहित्यको हिसाबमा पनि युकेकै सबैभन्दा ठूलो पवित्रस्थल हो । सो सम्मेलनको निम्ति शर्मा दाईलाई नेपाली साहित्य विश्वमा फैलिन नसक्नुको कारणहरु अर्थात अवरोधहरु के के हुन भन्ने विषयमा अंग्रेजीमा कार्यपत्र बनाएर प्रस्तुत गर्न आग्रह गरे । त्यो बेला महासङ्घको म विश्व केन्द्रीय समितिको केन्द्रीय अध्यक्ष थिए । उहां हाम्रो सल्लाहकार हुनुको नाताले अस्वीकार गर्ने कुरै भएन तर कार्यक्रम हुनु भन्दा केही दिन अघि मात्र केही गम्भिर समस्या आयो । तत्कालको नेपाली दूतावासलाई मुख्यअतिथीको रुपमा बोलाउंदा र पूर्व परराष्ट्र सचिव तथा पूर्व राजदूत आउनु हुंदा मर्यादाक्रम लगायत समस्या हुनगएकाले मलाई मुरारी शर्मा दाई र राजदूतावास मध्ये एक रोज्नुपर्ने भयो । यो अवस्थामा म अति नै दुःखी पनि भए । अब कसलाई राख्ने कसलाई फर्काउने ठूलो संकटमा परे । दूतावासमा पनि कार्यक्रम राखिएको थियो । दुई दिन त मैले निर्णय गर्नै सकिन र अन्ततः साथीहरु संग सल्लाह गरेर जो म संग नजिक, जसले मेरो अप्ठयारा बुझ्न सक्नु हुन्छ उसैलाई फर्काउने निधो गरि मैले शर्मा दाईलाई जे हो त्यहि कुरा प्रष्ट बताए पछि उहां विश्व सम्मेलनमा सहभागी हुनुभएन जुन मेरो आस्थामा निक्कै ठूलो पीडा थियो । मैले उक्त सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र मध्ये शर्मा दाईको उत्कृष्ट हुन्छ भन्ने ठूलो अपेक्षा गरेको थिए किन की वहाको अध्ययन र अंग्रेजी लेखन अब्बल थियो । दाई तपाईको कार्यपत्र चाहि पठाई दिनुभए आभारी हुनेथिएं भन्ने आग्रह गरें तर वहांले हैन ठिकै छ म पठाउदिन भन्नु भयो । त्यो वेला म भित्रभित्रै रोएं पनि । शर्मा दाई कार्यक्रममा आउनु भनेको पूर्व राजदुत मात्र आउनु थिएन मेरो आस्था, अभिभावक र सिंगो शक्ति आउनु थियो तर मलाई आइपरेको अप्ठयारा उहांलाई भन्न बाध्य थिएं । उक्त कार्यपत्र अहिले पनि उहांको कम्प्युटरमा कतै सुरक्षित हुनुपर्छ ।

सन् २०१९ को नोभेम्बरमा अन्य विषयमा निक्कै लामो कुराकानी पछि मैले कुरो कोटयाए खासमा के हो दुतावास बेच्ने कुरा चाहि भनेर सोधेपछि उहांले भन्नु भोः विश्वास जी यो तपाईं र मेरो बीचको मात्र कुरा हो । दूतावासको वास्तविकता यस्तो हो । उहांले भन्नु भयो र मैले टिपें । जस्ताको तेस्तै मेरो नोटः

लण्डनको दूतावास भवन बेच्ने सम्बन्धमा पहिलो पटक बिक्री गर्न खोज्दाः ३५ र ३६ मिलियन पाउण्डमा बेच्ने र काठमाडौंमा २० मिलियन देखाउने । दोस्रो पटक बिक्री गर्न खोज्दाः ५० र ५५ मिलियनमा बिक्री गर्ने र ३० मिलियन देखाउने

तेस्रो पटक बिक्री गर्न खोज्दाः नाइटफ्याङ र साबिल रोयल स्टेन अनुसार १७५ मिलियन भनी बजारमा राख्दा १५० मिलियन आउने भनिएको ।

दूतावास एक सय वर्षका लागि लिजमा किनिएको र पछिबाट पुनः ४० वर्ष थपिएको । अहिले झण्डै ६०÷७० बर्ष बांकी रहेको । लिजको समय सिद्धिएपछि स्वतः सरकारको हुने र त्यसबेला थप्नका लागि असम्भव दुतावासको दाम हुने । युक्रेन वा इरानको त्यस्तै भएको । (संवादः मुरारी शर्मा संग ८ नोभेम्बर २०१९ ।)

यी कुरा मैले मेरो मोबाइलमा जस्ताको तेस्तै लेखेर राखेको छु तर यति चांडै यसरी प्रकाशित गर्ने साइत आउंछ भन्ने लागेको थिएन ।

वहाको छोरो मेरो नानीहरु भन्दा केही जेठा हुन् । मेरो ठूलो छोरी र सानो छोरी युनिभर्सिटी जानेक्रममा कुन विषय पढाउने बारेमा मैले शर्मा दाईसंग धेरै कुरा गरेको थिए । साथीले आइटी पढेका कारण आफू पनि आइटी नै पढछु भन्ने छोरोलाई सम्झाएर डाक्टरी पढाएं, पढाई सिध्याएर जागिर शुरु गरयो पहिलो बर्ष साथीको तुलनामा तलब नहुदा खासै खुशी थिएन तर दोस्रो वर्षदेखि चाहिं तलब ह्रवात्तै बढ्दा अहिले चाहिं बुबाले ठिकै गर्नुभएको रहेछ भन्दैछ छोरोले भनी शर्मा दाईले भन्नु भएको थियो । हो नानीहरुलाई सहि समयमा सहि बाटो देखाउनु पर्छ भन्ने उहांको सल्लाह थियो ।

म फेब्रुवरीमा अल्बटा, क्यानाडा जानु अगावै पटकपटक कुरा हुन्थ्यो । खासमा कुनै नयां कुरा, नेपालमा नयां घट्ना हुंदा हामी बीच कुरा हुन्थ्यो । विशेषतः उहां इभिनिङ वाकमा हुनुभएको बेला लामो संवाद हुन्थ्यो । उहांले भन्नु हुन्थ्यो अब नानीहरु आआफ्नो ठाउंमा टुङ्गो लाग्यो, भाउजूको स्वास्थ्यमा पनि सुधार आएको छ । यहांको बेचेर पांच छ महिना पछि नेपाल जाने योजना सुनाउनु भएको थियो । लाग्छ यो कुरा डिसेम्बर २०१९ तिरको हो तर अफसोच फेब्रुवरीमा उहां त हामीलाई छोडेर सधंैका लागि एक्लै जानुभयो ।

बितेर जान लागेको मान्छेको बोलीले पनि कहिकतै संकेत दिन्छ भन्छन साच्चै नै त्यस्तै भयो उहांलाई लण्डन छोड्नु थियो आखिर छोड्नु नै भयो । जुन दिन मैले उहांको निधनको समाचार पढें म क्यानाडाको अल्बटास्थित म्याडसिन ह्रयाटमा थिएं । ह्याटको तापक्र्म माइनस २२ डिग्री अतिचिसो थियो । सेतै हिउं थियो यद्यपि शर्मा दाईको निधनको कुरा जब समाचारमा पढे तब हिउंले ढाकिएका ठाउंहरु अध्यारा भए, कठङ्ग्रिने चिसोमा पनि मनमस्तिष्क तातिएर आयो । मन बेस्सरी रोयो, म आफूले आफैंलाई धेरै कमजोर बनेको महशुस गरें । मानिस त त्यो बेला आत्मविश्वास भएको शक्तिशाली भइन्दो रहेछ जुनबेला सबैकुरा समयमै जान्न र पुरा गर्न सकिन्छ । त्यसको निम्ति स्रोत ब्यक्ति र साधनहरु हुनु पर्दछ । अहिले मैले नबुझेको कुरा सोध्ने विश्वासको ब्यक्ति शर्मा दाई जस्तो कोहि पनि छैनन् । शर्मा दाईलाई जुन सम्मानको स्थानमा राखेको थिएं अहिलेसम्म कसैलाई राख्न सकेको छैन् ।

अन्तमा, पुनः एकफेर सम्झन्छुः विश्व सम्मेलनमा हाम्रो आग्रहलाई स्वीकार गरेर कार्यपत्र बनाउनु भई प्रस्तुत गर्ने जमर्को यहांको पुरा भएन । त्यसका लागि माफी चाहन्छु । उक्त कार्यपत्र प्रस्तुत गर्न नमिलेको सट्टामा यहां रहनुहुने साउथ लण्डनको पट्नी मै मेरै नेतृत्वमा यहांको एकल कविता वाचन कार्यक्रम गरिदिने वाचा पनि पुरा हुन सकेन । त्यसमा पनि माफी चाहान्छु । हुन त यहांले हामीलाई छोड्न हतार नगर्नुभएको भए अवश्य कविता वाचनको कार्यक्रम पुरा हुने नै थियो । खयर जेहोस्, जे नहुनु पर्नेथियो त्यो आखिर भइछाड्यो । यहांको नेपाल फर्कने चाहना म छिमेकी जिल्ला धनकुटाको हुनुको नाताले म नेपाल गएको बखत हिले, पाख्रीवास, लेगुवा हुंदै भोजपुर दिङलाको अधिकारी परिवार र अधिकारी गाउंको माटोसम्म म पुरयाई दिनेनै छु बस यहांको स्वर्गको यात्रा अनन्तः सम्म शान्तिप्रिय रहोस् ।

[email protected]

२ डिसेम्बर २०२०, आसफोर्ड, यूके

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू