बेलायतमा फुड हाइजिन लापरवाहीले नेपाली रेष्टुरेन्ट कानूनी फन्दामा


लन्डन- के तपाईं बेलायतमा बस्नुहुन्छ र नेपाली रेष्टुरेन्ट जाने सोच्नु भएको छ ? छ भने नेपाली रेष्टुरेन्टहरुको ‘फुड हाइजिन रेटिङ’ हेर्न नभुल्नु होला । किनकि तपाईंलाई उत्कृष्ट र स्वादिष्ट खाना पाइने विश्वास लागेको रेष्टुरेन्ट नै खत्तम पर्न सक्छ ।
यस्तै घट्ना भएको छ बेलायतको अल्डरसटमा । नेपालीहरु उल्लेख्य रहेको अल्डरसटस्थित १२८ भिक्टोरिया रोडमा चालु नेपाली रेष्टुरेन्ट ‘भिन्तुना’ ले फुड हाइजिनमा चरम लापरवाही गरेको भेटिएको छ र उसले अहिले कानूनी झमेला सामना गर्नुपरेको छ ।
रसमोर बरो काउन्सिलका वातावरणीय स्वास्थ्य अधिकारीहरूले गत नोभेम्बर २०२४ मा निरीक्षणका क्रममा उक्त रेष्टुरेन्टमा साङ्ला, मुसाको दिसापिसाव भेटे ।
रेष्टुरेन्टभित्र फोहोर, चिल्लो र दुर्गन्धित वातावरण थियो भने अवैध रुपमा आयात गरिएको भैंसीको सुकुटी समेत फेला पारिएको थियो । उपकरण (भांडा) पनि सफा थिएनन् । निरीक्षकहरूले महिनौंदेखि रेष्टुरेन्टमा आवश्यक फुड हाइजिन परीक्षण नगरिएको पाएका थिए ।
निरिक्षणका क्रममा काउन्सिल अधिकारीले रेष्टुरेन्ट सञ्चालकले चारवटा खाद्य सुरक्षा अपराध गरेको आरोप लगाए । निरिक्षणपछि रेष्टुरेन्टको फुड हाइजिन रेटिङ ‘शून्य’ दिई आवश्यक सुधार नभएसम्मका लागि रेष्टुरेन्ट तुरुन्तै बन्द गरियो ।
रसमोर बरो काउन्सिलले एक महिना पछि डिसेम्बर २०२४ मा पुनः खोल्न अनुमति दिएको थियो र पछि रेष्टुरेन्टको फूड हाइजिन रेटिङ ४ सम्म पुगेको छ ।
गत अप्रिल १७ मा बेजिङस्टोक मजिस्ट्रेट अदालतमा उपस्थित भएका रेष्टुरेन्ट सञ्चालक (नेवा ब्रदर्स लिमिटेड) ले भिन्तुनाको चारैवटा अपराध स्वीकार गरेका छन् । सो मुद्दामा सेप्टेम्बरसम्म सजाय सुनाइने स्थानीय अनलाइन ‘गेट सरे’ ले उल्लेख गरेको छ ।
भिन्तुना खुलेको छोटो समयमै ग्राहक आकर्षित गर्न सफल भएको थियो । काठमाडौं उपत्यकामा प्रचलित नेवारी खानाले गर्दा धेरै यो ग्राहकको रोजाइमा पर्दै गएको थियो ।
उक्त रेष्टुरेन्टले ‘ट्रिप एडभाइजर’ लगायत अन्य अनलाइन रिभ्यूमा राम्रो प्रतिक्रिया पाएको थियो । अनलाइन ‘रिभ्यू’ राम्रो भएपनि रेष्टुरेन्टभित्र भने दुर्गन्ध र अखाद्य वस्तु भेटिएपछि कानूनी फन्दामा परेको छ ।
यो घटना बेलायतमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्ने अरु थुप्रै नेपालीहरुको लागि पनि एउटा गतिलो शिक्षा बन्न सक्छ । फुड हाइजिनका सम्बन्धमा कुनै पनि लापरवाही नगरौं र कानूनी झमेला पर्नबाट जोगिऔं ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


