शुक्रबार, वैशाख १४, २०८१
05:48 | १०:३३

राजदूत सुवेदीलाई तमुधिं यूकेको बिदाई

तमुधिंको कामले सिंगो नेपाली राष्ट्रियता प्रवर्द्धन: राजदूत

नेपाली लिङ्क डिसेम्बर १५, २०२०

लण्डन । आफ्नो चार वर्षे कार्यकाल पूरा गरी नेपाल फर्किन लागेका बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई तमुधिं यूकेले बिदाई गरेको छ ।  

कोभिड महामारीबीच सार्वजनिक बिदाई कार्यक्रम गर्न सम्भव नभएपछि संस्थाका अध्यक्ष नन्दजंग गुरुङ र भावी अध्यक्षमा निर्विरोध वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङसहित सिमित पदाधिकारी मंगलबार दूतावास पुगेर राजदूतको बिदाई गरे ।  

तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङले संस्थाको तर्फबाट खादा र पुष्पगुच्छासहित राजदूतलाई बिदाई गरेका थिए ।  

अध्यक्ष गुरुङले डा. सुवेदीको चार वर्षे सफल कार्यकालका लागि बधाई ज्ञापन गरे । सुवेदीको पालामा दूतावासको सेवा झन् सहज र व्यवस्थित बनेको भन्दै उनले प्रशंसा पनि गरे । 

तमुधिं यूकेको आयोजनामा वर्षेनी हुने नेपाली मेला लगायत कार्यक्रममा दूतावास र राजदूतको तर्फबाट प्राप्त सहयोग तथा सहकार्यका लागि अध्यक्ष गुरुङले आभार समेत प्रकट गरेका थिए ।  

त्यसअवसरमा राजदूत सुवेदीले बेलायतको अग्रणी नेपाली संस्थाका रुपमा तमुधिं यूकेको भूमिकाको प्रशंसा गरेका थिए । तमुधिं यूकेका गतिविधि तथा कार्यक्रमहरुमा तमु समुदाय मात्र नभएर सिंगो नेपालकै प्रतिनिधित्व हुने गरेको उनले बताए ।

‘तपाईंहरुले तमु मेला नभनेर नेपाली मेला गर्नुहुन्छ जसले बेलायतस्थित सबै नेपाली समुदाय र जातिलाई समेट्ने काम गरेको छ ।  ‘गोर्खाकप’ आयोजना गरी समग्र नेपाली खेलाडी र खेलप्रेमीहरुलाई एक ठाउँ उभ्याउनुहुन्छ । ल्होछारको कार्यक्रम समेत तमुहरुमा मात्र सिमित नराखी सबै जात-जातिका नेपालीहरुका लागि गर्नुहुन्छ’, तमुधिंका पदाधिकारीमाझ राजदूत सुवेदीले भने, ‘तमुधिंका यी कार्यले एउटा जाति र समूहको मात्र नभइ सिंगो नेपाली राष्ट्रियता झल्काउने र प्रबर्द्धन गर्ने काम गरेको छ । यस्ता कार्य निरन्तर राख्नुहोला ।’

बेलायतमा आफ्नो कार्यकालका क्रममा दूतावाससँग सहयोग र समन्वय गर्ने तमुधिंसहितका सबै नेपाली संघसंस्थालाई राजदूतले धन्यवाद दिए ।  तमु धिं यूकेले बेलायतमा खटिने हरेक नेपाली राजदूतलाई आउंदा स्वागत र फर्किंदा बिदाई गर्ने परम्परा राखेको छ । 

विगतमा तमुधिं भवनमै आमन्त्रण गरी धेरैको सहभागितामा कार्यक्रम गरिंदै आएपनि यसपटक महामारीका कारण सिमित संख्याका पदाधिकारी दूतावास पुगेरै भएपनि राजदूतको बिदाई गर्ने परम्परा कायम राखिएको संस्थाका सह-कोषाध्यक्ष कमल कोने गुरुङले नेपाली लिँकलाई बताए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू