शुक्रबार, वैशाख १४, २०८१
11:40 | १६:२५

बेलायतमा महामारीका कारण रोजगारी गुमाउनेहरु ८ लाख बढी

बेरोजगार हुनेमा सबभन्दा बढी हस्पिटालिटी क्षेत्रमा

नेपाली लिङ्क डिसेम्बर १५, २०२०

लण्डन । कोरोना महामारी शुरु भएयता बेलायतमा रोजगारी गुमाउनेहरुको संख्या ८ लाखभन्दा बढी पुगेको छ ।  

‘अफिस फर नेश्नल स्ट्याटिस्टिक्स’ (ओएनएस) ले सार्वजनिक गरेको एक तथ्यांकअनुसार बेलायतमा रोजगार रहने मानिसहरुको संख्या महामारी शुरु हुनु पूर्वको तुलनामा गत नोभेम्बर महिनामा ८ लाख १९ हजारले न्यून छ ।

रोजगारी गुमाउनेहरुमा सबैभन्दा बढी रेष्टुरेन्ट, पब, होटेल सहितका हस्पिटालिटी सेक्टरमा कार्यरत बढी छन् । महामारी शुरु भएयता रोजगारीबाट बाहिरिनेमध्ये एक तिहाई हस्पिटालिटी क्षेत्रकै छन् । त्यसपछि ‘रिटेल’ क्षेत्रमा कार्यरत धेरैले रोजगारी गुमाएका छन् ।  

‘ओएनएस’ तथ्यांकले गत अक्टोबर महिनासम्मको तीन महिनाको अवधिमा मात्रै बेलायतमा बेरोजगारी ४ दशमलव ९ प्रतिशतले बढेको छ । ‘रिडन्डेन्सी’ अन्तर्गत काम छोड्नेहरुको संख्या पनि हालसम्मकै उच्च रहेको बताइएको छ ।  

महामारीका कारण बन्द वा प्रभावित कम्पनीका कामदारको ८० प्रतिशत तलब सरकारले नै व्यहोर्ने ‘फर्लो स्किम’ आउंदो मार्च महिनामा अन्त्य भएपछि बेरोजगारी थप बढ्ने आँकलन छ ।  

कोरोना महामारीले निम्त्याएको संकटपूर्ण अवस्थामा पनि बेरोजगारी बढ्न नदिने र व्यवसायहरु टिकाइराख्ने आफ्नो पहिलो प्रथामिकता रहेको सरकारले बताउँदै आएको छ । सोहीअनुसार ‘फर्लो स्किम’ का साथै व्यवसायहरुलाई विभिन्न छुट र ऋण सुविधा लगायतका राहत पनि सरकारले ल्याएको छ ।  

आम रुपमा कोभिड खोपको वितरण शुरु भएको अवस्थामा अब स्थिति क्रमश: सहज बन्दै जाने आशा पनि पलाएको छ । तर महामारीले देशको अर्थतन्त्रमा पारेको ठूलो खाडल पुर्न भने निकै लामो समय लाग्ने निश्चित  छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू