शुक्रबार, वैशाख १४, २०८१
16:15 | २१:००

वंशजको नागरिकतालाई निरन्तरता नदिए आन्दोलन

नेपाली लिङ्क डिसेम्बर १५, २०२०

लण्डन । विदेशमा रहेका नेपाली नागरिक र उनीहरुका सन्ततिका लागि वंशजको नागरिकता निरन्तरता नदिइए आन्दोलन गर्ने चेतावनी गैरआवासीय नेपालीहरुले दिएका छन् ।

वंशजको नागरिकता निरन्तरता महाअभियानले हालै एक पत्रकार सम्मेलन गरी नेपालको वर्तमान सरकारले वंशजको नागरिकतालाई निरन्तरता नदिने तयारी गरेको भन्दै आक्रोश व्यक्त गरेको हो ।

संविधानले दिएको अधिकारसमेत कटौती गर्ने गरी सरकारले नयाँ ऐनको तर्जुमा गर्न लागेको महाअभियानको दाबी छ ।

पत्रकार सम्मेलनमा महाअभियानका अध्यक्ष खगेन्द्र पाठकले सरकारले नेपाली नागरिकहरुलाई नागरिकताबिहीन बनाउन लागेको दाबी गरे । उनले संसदको राज्य व्यवस्था समितिमा रहेको विधेयक पारित गरिएमा विदेशमा रहेका नेपालीहरुको तेश्रो पुस्ताको नेपालसँगको सम्बन्ध विच्छेद हुने बताए ।

त्यो विधेयक संशोधन नगरी पारित गरिए सडक आन्दोलन गरिने चेतावनी दिए । उनले त्यसका विरुद्ध महाअभियान सर्वोच्च अदालत जानेसमेत जानकारी दिए ।

नागरिकताको सवालमा गैरआवासीय नेपाली संघले दोहोरो भूमिका खेलेको महाअभियानको दाबी छ ।

पत्रकार सम्मेलनमा वरिष्ठ चिकित्सक डा. राघव धिताल ‘ओबिइ’ ले गैरआवासीय नेपाली संघले आफ्नो दायित्व नै बिर्सेर सरकारको सहायक बनेको टिप्पणी गरे । संघको स्थापनाका क्रममा आफ्नै घरमा संघका संस्थापकहरुसँग भएको छलफल स्मरण गर्दै डा. धितालले अहिले संघले बाटो बिराएको भन्दै कटाक्ष गरे ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष अर्जुन शाक्य, महेश रेग्मी, ध्रुव केसी लगायतले नागरिकता सम्बन्धी अधिकार मौलिक हक भएको भन्दै सरकारले आफ्नै नागरिकलाई लखेटेर अंगीकृतहरुको बाहुल्यता बनाउन खोजेको आरोप लगाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू