शुक्रबार, वैशाख ७, २०८१
01:48 | ०६:३३

लण्डन बुधबारदेखि ‘टियर ३’ मा : पब, रेष्टुरेन्टहरु बन्द रहने

नेपाली लिङ्क डिसेम्बर १४, २०२०

लण्डन । बेलायतको राजधानी शहर लण्डनमा कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि बुधबारदेखि थप कडा प्रतिवन्धहरु लागू गरिने भएको छ ।  

कोरोना संक्रमणका आधारमा यसअघि टियर २ अर्थात् उच्च अलर्ट तहमा रहेको लण्डनलाई अब टियर ३ ( अति उच्च अलर्ट ) मा लैजाने निर्णय गरिएसंगै प्रतिवन्धहरु पनि थप कडा हुने भएका हुन् ।  

सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले सोमबार संसदमा सम्बोधन गर्दै बुधबारदेखि लण्डन टियर ३ मा जाने घोषणा गरे ।  लण्डनसंगै एसेक्स र हेटफोर्डशायरका केही क्षेत्र पनि टियर ३ मै लैजाने निर्णय सरकारले गरेको छ ।  

‘टियर थ्री’ मा गएसंगै बुधबारदेखि लण्डनमा अति उच्च (भेरी हाई) अलर्टमा राखिएका क्षेत्रमा लगाइएका  सबैभन्दा कडा प्रतिवन्धहरु लागू हुनेछन् । 

टियर ३ मा पर्ने  क्षेत्रभित्र एक परिवारले अर्को परिवारसंग इन्डोर जमघटमा पूर्ण प्रतिवन्ध रहनेछ । पार्क,बीच जस्ता स्थानहरुमा ‘ग्रुप अफ सिक्स’ को नियमअन्तर्गत ६ जनासम्म भेट गर्न पाइनेछ ।  पसल, जीम र हेयर ड्रेसिंगसहित पर्सनल केयर सर्भिसहरु खोल्न पाइनेछ । पब, बार, क्याफे तथा रेष्टुरेन्टहरुमा टेकअवेबाहेक सबै बन्द रहनेछन् । टियर ३ का क्षेत्रबाट अरु क्षेत्रहरुको यात्रा पनि नगर्न आव्हान गरिएको छ । 

गत नोभेम्बर ५ देखि चार हप्ताको लागि जारी गरिएको लकडाउन डिसेम्बर २ बाट खुकुलो भएसंगै सरकारले  संक्रमणको जोखिमका आधारमा तीन तहको प्रतिवन्ध लागू गरेको थियो । जस अनुसार अति उच्च, उच्च र मध्यम अलर्ट गरी तीन तहमा वर्गीकरण गरी क्षेत्रगत रुपमा प्रतिवन्धहरु लागू गरिंदै एको छ ।  

लन्डन क्षेत्रमा पछिल्लो समयमा संक्रमण दर तीव्र रुपमा बढेको सरकारी तथ्याँकले देखाएको छ । लन्डनको कोरोना संक्रमणको वृद्धिदरलाई लिएर मन्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । कतिपय स्थानहरुमा एकसाताभित्र संक्रमण ७१ प्रतिशतसम्म बढेको बताइएको छ । लन्डन मेयर सादिक खानले सेकेण्डरी स्कुल र कलेजहरु क्रिसमस अघि चाँडै बन्द गर्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू