शनिबार, साउन १२, २०८१
06:24 | ११:०९

संक्रमण बढ्दै गएपछि लण्डनमा थप कडा प्रतिवन्ध लागू गर्ने तयारी

'उच्च अलर्ट' मा रहेको लण्डन 'अति उच्च अलर्ट' मा जाने सम्भावना

नेपाली लिङ्क डिसेम्बर १४, २०२०

लण्डन । लण्डनमा कोरोना भाइरस संक्रमणका केसहरु बढ्ने क्रम नरोकिएपछि सरकारले थप कडा प्रतिवन्धहरु लगाउने तयारी गरेको छ ।

संक्रमणको आधारमा अहिले ‘उच्च अलर्ट’ (टियर टु) मा रहेको लण्डनलाई ‘अति उच्च अलर्ट’ (टियर थ्री) मा लैजानेबारे सरकारले गृहकार्य थालेको बीबीसीले जनाएको छ । सरकारका मन्त्री तथा सांसदहरु अहिले राजधानी शहरमा तीव्र रुपमा फैलिरहेको संक्रमणका बारेमा ‘चिन्तित’ रहेको बताइएको छ ।

सरकारले लण्डन शहरलाई ‘अति उच्च अलर्ट’ (टियर थ्री) मा लैजाने सम्बन्धमा सांसदहरु तथा काउन्सिलका लिडरहरुलाई ‘ब्रिफ’ गरिसकेको छ । केहि काउन्सिलका लिडरहरुले अति उच्च अलर्टमा रहेका क्षेत्रहरुमा भन्दा पनि झन् कडा प्रतिवन्ध लगाउनुपर्ने आवाज उठाएका छन् ।

लण्डनको अलर्ट तह बढाउनेबारे अहिलेसम्म सरकारले ठोस निर्णय गरिसकेको छैन । सोमबार दिउँसो बेलायत सरकारका स्वास्थ्यमन्त्रीले बेलायती संसदमा गर्ने सम्बोधनमा यसबारे सरकारको भनाइ सार्वजनिक हुने अपेक्षा छ ।

एक महिना लामो देशव्यापी लकडाउन गत डिसेम्बर २ बाट खुला गरेसंगै सरकारले इंग्ल्याण्डमा संक्रमणको आधारमा अति उच्च, उच्च र मध्यम गरी तीन तहमा क्षेत्रगत वर्गीकरण गरी सोहीअनुसार प्रतिवन्धहरु लागू गरेको छ ।

अति उच्च अलर्ट (टियर थ्री) मा रहने क्षेत्रहरुमा फरक फरक घरमा बस्ने मानिसहरुको इन्डोर जमघटमा प्रतिवन्ध छ । फरक घरका ६ जनासम्मको समूहमा पार्क, समुन्द्री किनारा लगायतका ठाउँमा भेट्ने छुट छ ।

बार, पब, रेष्टुरेन्ट, क्याफे लगायतका हस्पिटालिटी व्यवसाय बन्द रहनेछन् । टेकवे र डेलिभरी सेवा भने सुचारु राख्न पाइनेछ ।

पसल, जिमखाना, हेयर ड्रेसर लगायतका व्यवसाय खुला रहनेछन् । तर सिनेमासहितका इन्डोर मनोरञ्जनहरु बन्द रहनेछन् ।

खेल इभेन्टहरु प्रत्यक्ष हेर्न दर्शक स्टेडियमसम्म जान पाउँदैनन् । अति उच्च अलर्टमा रहेका क्षेत्रहरुमा बाहिरबाट आउने र त्यहाँबाट बाहिर जाने यात्राहरु पनि नगर्न आव्हान गरिएको छ ।

पछिल्लो सातामा लण्डनका केहि क्षेत्रहरुमा कोरोना भाइरसको संक्रमण ७० प्रतिशतसम्म वृद्धि भएको तथ्यांकले देखाएको छ । क्रिसमसका अवसरमा ५ दिनसम्म प्रतिवन्ध फुकुवा गर्ने घोषणा भइसकेको अवस्थामा संक्रमण झन् बढ्ने चिन्ता थपिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू