बेलायतलाई मृतक संख्यामा इटालीले उछिन्यो
लन्डन । युरोपभर कोरोनाका कारण मृत्यु हुने संख्याका आधारमा अग्र स्थानमा रहँदै आएको बेलायतलाई इटालीले उछिनेको छ । इटाली बेलायत भन्दा ३५० संख्याले अघि छ । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शनिबार साँझसम्म ६४ हजार नाघेको छ भने इटालीमा शनिबार साँझसम्म मृतक संख्या ६४ हजार ५२० पुगेको वल्र्डओमिटरले जनाएको छ । मृतक संख्याको आधारमा बेलायत अब अमेरिका, ब्राजिल, भारत, मेक्सिको र इटालीपछि छैटौं स्थानमा छ ।
बेलायतमा पछिल्लो २४ घन्टामा थप १४४ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ हजार १७० पुगेको छ ।
बेलायतमा सामान्यतया वीकेन्डमा सार्वजनिक हुने मृतक संख्या अन्य दिनहरुको तुलनाम निकै कम हुने गर्दछ । शुक्रबार ५१९ जना संक्रमितको मृत्यु भएको थियो ।
यसैगरी पछिल्लो २४ घन्टामा थप १८ हजार ४४७ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार संक्रमित संख्या २१ हजार भन्दा बढी थियो । बेलायतमा कुल संक्रमितको संख्या १८ लाख ४९ हजार ४०३ पुगेको छ ।
विश्वभरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ लाख नाघेको छ भने संक्रमितको संख्या पनि करिब ७ करोड २४ लाख पुगेको छ । जसमध्ये सबैभन्दा बढी प्रभावित मुलुकमा अमेरिका पर्छ ।