शनिबार, वैशाख ८, २०८१
07:26 | १२:११

एनआरएनए यूकेका ४ उपाध्यक्षहरुले दिए स्पष्टिकरण

नेपाली लिङ्क डिसेम्बर १२, २०२०

लण्डन । एनआरएनए यूकेका ४ जना उपाध्यक्षले १२ डिसेम्बर शनिबार इमेलमार्फत संयुक्त रुपमा स्पष्टिकरण पठाएका छन् ।
एनआरएनए यूकेले अघिल्लो कार्यसमितिले अनियमितता गरेको भनिएको आर्थिक मुद्धा उठाएर संस्थाविरुद्ध अदालती प्रक्रियामा जाने उपाध्यक्षहरु प्रेम गाहामगर, नारायण कंडेल, मोहन कार्की र रामचन्द्र पोखरेलसंग संस्थाको हित विपरित गतिविधिहरु गरेको दावी गर्दै गत नोभेम्बर १४ मा २० बुंदे स्पष्टिकरण ३० दिनभित्र बुझाउन माग गरेको थियो  ।

चार उपाध्यक्षले चुनौतिपूर्ण शैलीमा लेखेको स्पष्टिकरणमा गैर आवासीय नेपाली संघ बेलायतभित्र देखिएको आर्थिक अपारदर्शीता, अनियमितता तथा त्यसलाई संरक्षण प्रदान गर्ने कार्यलाई कानूनी रुपमा चुनौति दिंदै शुरु गरिएको प्रक्रियालाई संस्थाको बैधानिकता तथा मान मर्यादालाई चुनौति दिएको भन्ने संघको बुझाइ गलत रहेको उल्लेख छ ।

‘हामी स्वतन्त्र व्यक्तिहरु हौं । हाम्रो अभिव्यक्ति स्वतन्त्रतामाथि अनुचित बन्देज लगाउने तपाईंको अधिकारको श्रोत के हो ?’ स्पष्टिकरणमा प्रश्न गरिएको छ । संस्थामा अत्यावश्यक सुधार गर्ने उद्देश्यले आजसम्म आफूहरुले गरेका सम्पूर्ण कार्य गौरवपूर्ण भएको जिकिर स्पष्टिकरणमा छ ।

उपाध्यक्षहरु प्रेम गाहामगर, नारायण कंडेल, मोहन कार्की र रामचन्द्र पोखरेलद्वारा संघलाई पठाइएको स्पष्टिकरण जस्ताको तस्तै-

मिति १२ डिसेम्बर २०२०

आदरणीय अध्यक्ष ज्यू
गैरआवासीय नेपाली संघ
संयुक्त अधिराज्य,

विषय-स्पष्टिकरण सम्बन्धमा

उपरोक्त विषयमा गैर आवासीय नेपाली संघ संयुक्त अधिराज्यका उपाध्यक्षहरु तथा साथीहरुले यस संस्थामा देखिएको आर्थिक अपारदर्शीताका विरुद्ध कानूनी उपचार खोजेको कारणबाट उत्पन्न परिस्थितिका सन्दर्भमा हामीलाई स्पष्टिकरण सोधिएको तपाईंको पत्र इमेलबाट प्राप्त भयो । उक्त पत्रका सम्बन्धमा हामी निम्नानुसार स्पष्ट पार्न चाहन्छौं ।

१- हामी निम्न कुराहरु स्पष्ट पार्न चाहन्छौं ।

(क)  गैर आवासीय नेपाली संघ बेलायत भित्र देखिएको आर्थिक  अपारदर्शिता, अनियमितता तथा त्यसलाई संरक्षण प्रदान गर्ने कार्यलाई कानूनी रुपमा चुनौति दिंदै सुरु गरिएको प्रक्रियालाई संस्थाको वैधानिकता तथा मान मर्यादालाई चुनौति दिएको भन्ने तपाईंको बुझाई पूर्णतया गलत छ ।

(ख) गैर आवासीय नेपाली संघ बेलायतमा कार्य प्रणालीगत अपारदर्शीता, आर्थिक अनियमितता लगायतका बेथितीहरु तथा त्यस्ता बेथितीहरुलाई विधि विधान तथा नियम कानूनको समेत उल्लंघन गरी संरक्षण प्रदान गर्ने कार्यका विरुद्ध संस्थामा अत्यावश्यक सुधार गर्ने उद्देश्यले आजसम्म हामीहरुले गरेका सबै कार्यहरु प्रति हामी अत्यन्तै गौरव गर्दछौं ।

२- हामी स्वतन्त्र व्यक्तिहरु हौं । अतः निम्न विषयमा स्पष्ट पारिदिनु हुन अनुरोध गर्दछौँ ।

(क)  हामी स्वतन्त्र व्याक्तिहरु हौं । हाम्रो अभिव्यक्ति स्वतन्त्रतामाथि अनुचित बन्देज लगाउने तपाईंको अधिकारको श्रोत के हो ?

(ख) हामी स्वतन्त्र व्यक्तिहरु हौं । आफू कार्यरत सार्वजनिक तथा सामाजिक संस्थामा विधि विधानका स्थापित मान्यताविरुद्ध भएका गलत गतिविधिहरु चित्त नबुझी कानूनी उपचार खोज्ने न्यायिक प्रक्रियालाई अवरोध गर्ने तथा त्यस्तो प्रक्रिया त्याग्न दवावपूर्ण धम्की दिने तपाईंको अधिकारको श्रोत के हो ?

धन्यवाद ।

उपाध्यक्षहरु- प्रेम गाहा मगर, नारायण कंडेल, रामचन्द्र पोखरेल र मोहन कार्की,

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू