बिहीबार, वैशाख १३, २०८१
10:02 | १४:४७

गुल्मीमा उपचार नपाएर ज्यान गुमाएका गाहाको परिवारलाई यूकेमा सहयोग संकलन

नेपाली लिङ्क डिसेम्बर १२, २०२०

लण्डन । उपचार अभावमा ज्यान गुमाएका गुल्मीका एक व्यक्तिको परिवारलाई बेलायतबाट सहयोग पठाइने भएको छ ।  

लामो समयको अस्वस्थतापछि हालै निधन भएका गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ किसिकोटका डिलबहादुर गाहाको परिवारका लागि अहिले बेलायतमा सहयोग संकलन भइरहेको छ ।  

बेलायतको बर्मिङहममा रहेका संचारकर्मी एवम् स्कटनेपाल डटकमका संचालक टीका अधिकारीको पहल तथा संयोजनमा गाहा परिवारलाई सहयोग संकलन थालिएको हो ।  

सहयोग अभियान संयोजक अधिकारीका अनुसार शनिबार बिहानसम्ममा ४ लाख रुपैयाँ जुटिसकेको छ । बेलायत साथै कतार, दुबई, जापान लगायतका मुलुकबाट समेत सहयोग प्राप्त भएको उनले बताए ।  

विगत ८ वर्षदेखि प्यारालाइसिसबाट पीडित स्वर्गीय गाहाले आर्थिक अभावका कारण उचित उपचार पाउन सकेका थिएनन् ।  वर्षौंदेखि थला परेका उनको उपचारमा सघाउन स्कटनेपालले सहयोग अभियान शुरु गर्दै गर्दा मंसिर १७ गते उनको निधन भएको हो ।  

सरकारबाट प्राप्त हुने आपांगता भत्ताकै भरमा परिवार पाल्दै आएका गाहाको परिवारमा श्रीमती र चार सन्तान छन् ।  

अति विपन्न आर्थिक अवस्थाका उनीहरु गाहाको निधनपछि थप समस्यामा परेका छन् ।  

‘लामो समयसम्म थला परेर बस्दा समेत उहांले गतिलो उपचार गराउन सक्नुभएन । यही अवस्था देखेर हामीले केही सहयोग जुटाएर भएपनि उपचारमा सहयोग गर्ने कोशिश् थाल्दै थियौँ’- सहयोग अभियान संयोजक अधिकारीले भने, ‘तर उपचार शुरु गर्न नपाउँदै उहाँको निधन हुन पुग्यो ।’

गाहाको निधन भएपछि गुजाराकै लागि थप ठूलो समस्यामा परेको परिवारलाई सक्दो सहयोग गर्ने प्रयास गरिएको उनले बताए ।  

गाहा परिवारको सहयोगका लागि बेलायतमा टीका अधिकारीलाई सम्पर्क गर्न सकिनेछ भने नेपालमा सिधै सहयोग गर्न बैंक खाता निम्नानुसार छ: 

Mega bank Tamghas Gulmi

Aswin Bohora

Account  number 0490050068900

Mobile number +977 9847389115

बेलायतमा सम्पर्क :  

TIKA ADHIKARI

07828905018

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू