बुधबार, वैशाख १२, २०८१
07:58 | १२:४३

लण्डनमा गाडीको ठक्करले गम्भीर घाइते पण्डित काफ्लेको निधन

नेपाली लिङ्क डिसेम्बर १०, २०२०

लण्डन । झन्डै डेढ वर्षअघि लण्डनको वुल्वीचमा गाडीको ठक्करबाट गम्भीर घाइते बनेका पण्डित दधिराम काफ्लेको निधन भएको छ ।

हाल नेपालमा रहेका ६४ वर्षीय काफ्लेको बिहीबार नारायणघाटस्थित निवासमा निधन भएको उनका ज्वाँई एवम् एनआरएनए यूकेका पूर्व अध्यक्ष महेन्द्र कंडेलले जानकारी दिए ।

निधन हुनुभन्दा दुई दिन अघिदेखि काफ्लेलाई श्वासप्रश्वासमा समस्या आएको थियो ।  

गत वर्ष अगस्टको पहिलो साता वुल्वीच आर्सनलमा रोयल मेलको भ्यानले ठक्कर दिएपछि पण्डित काफ्ले गम्भीर घाइते बनेका थिए । मन्दिरमा बिहानको आरती गर्न  प्लमस्टिड हिंडेका उनलाई बाटो काट्ने क्रममा भ्यानले ठक्कर दिएको थियो ।  

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका उनलाई एअर एम्बुलेन्सले ह्वाइट च्यापलस्थित रोयल लण्डन अस्पताल पुर्याएको थियो । केही महिनासम्म लण्डनमै राखेर गरिएको उपचारपछि उनलाई नेपाल लगिएको थियो ।  

दुर्घटना भएको हप्तौंसम्म पनि बेहोस् रहेका काफ्लेको अवस्थामा सामान्य सुधार भएपनि उनी अहिलेसम्म समेत आफै उठबस गर्न सक्ने अवस्थामा थिएनन् ।  

गुल्मीको वामिटक्सार पुर्ख्यौली भएका काफ्ले लामो समयदेखि बेलायतमा बसेका थिए ।  

पण्डित काफ्लेको निधनमा प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरका अध्यक्ष नरेन्द्र कंडेलले गहिरो दु:ख व्यक्त गरेका छन्   

‘मन्दिरका लागि समेत उहाँको ठूलो योगदान छ । ६ महिना त स्वयमसेवी रुपमै पनि नियमित सेवा गर्नुभयो । मन्दिर जाने क्रममै दुर्घटना भयो र अन्तत: सोही कारण आज निधन भएको खबरले हामी मर्माहत छौं’, उनले भने ।

पशुपतिनाथ मन्दिरको विकासका लागि महत्वपूर्ण योगदान गरेका काफ्ले मन्दिरका ट्रस्टी पनि थिए ।  

पण्डित ज्योतिषी निलहरि घिमिरेले पनि बेलायतको नेपाली समुदाय र मन्दिरका लागि स्वर्गीय काफ्लेको योगदान स्मरणयोग्य रहने बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू