ब्रसेल्समा बेलायती प्रधानमन्त्रीको ब्रेक्जिट वार्ता निष्कर्षविहीन
लण्डन । ब्रेक्जिटपछिको बेलायत ईयू व्यापार सम्झौतामा उत्पन्न गतिरोध अन्त्य गर्न ब्रसेल्स पुगेका बेलायती प्रधानमन्त्रीको वार्ता बिना सहमति टुंगिएको छ ।
दुवै पक्षका उच्च अधिकारीहरुबीच कयौँ वार्ता निरर्थक भएपछि जोनसनले २७ ईयू राष्ट्रका नेताको प्रतिनिधित्व गर्ने युरोपियन आयोगकी अध्यक्ष उर्सुला भोन डर लेनसँग बुधवार साँझ ‘डिनर टक’ गरेका थिए ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार वार्तामा ठूलो ‘मतभेद’ देखिएको छ । यसअघि ति दुई नेताबीच पटक-पटक टेलिफोन सम्वाद भएपनि निकास निस्किएको थिएन ।
बेलायतले ३१ डिसेम्बरमा सकिने ब्रेक्जिट संक्रमणको अवधि थप गर्ने सम्भावना यसअघि नै अस्वीकार गरिसकेको छ । बरु समय र सम्भव भएसम्म आफू वार्ता गर्न तयार रहेको बेलायतको भनाइ छ ।
यूरोपेली संघ (इयूका) प्रमुख वार्ताकार मिसेल बार्नियरले बेलायतसँगको ब्यापार वार्तामा ईयू एकतावद्ध हुने र कुनै अनावश्यक त्याग गर्न नसकिने बताएकाले गतिरोध अन्त्य त्येति सहज नभएको जानकार बताउँछन् । विगतमा भएका धेरै चरणको वार्ताले पनि माछा मार्ने अधिकार, पारस्परिक समान कानून, पुलिस तथा सुरक्षाका केही बिषयमा सहमति हुन सकेको छैन् ।
माछा पार्ने ब्यबसाय बेलायतको कुल ग्राहस्थ उत्पादनको शून्य दशबलब एक प्रतिशत रहेपनि एतिहासिक रुपले फ्रान्स र बेलायतबीच यसमा प्रतिष्ठाको विषय रही आएको छ । पर्यावरण तथा आपसी सद्भावको लागि केही बर्ष देखि इयूको समुन्द्रमा कोटा प्रणालीबाट माछा मार्ने काम हुँदै आएको छ ।
पारस्परिक समान कानूनमा सहमति नभए भन्सार तथा अन्य क्षेत्रमा असर पर्ने हुनाले यसमा सहमति नभए ‘नो डिल’ तर्फ उन्मुख हुनेछ ।
दुवै पक्षले राजनीतिक रुपमा जे जस्तो प्रतिक्रिया दिएपनि सहमतिको विकल्प नरहेको विश्लेषकहरु बताउँछन् । उत्तरी आयरल्याण्डको संभावित समस्या तथा ब्रेक्जिट बहिर्गमन बिषयमा बेलायत लचिलो हुने संकेत गरिसकेको छ । इयू र बेलायतलाई सहमतिमा आउन वहुमत ब्यवसायीहरुको चर्को दवाव छ ।