शुक्रबार, वैशाख १४, २०८१
23:09 | ०३:५४

बेलायतमा थप ५३३ को निधन

१६ हजार बढी संक्रमित

नेपाली लिङ्क डिसेम्बर ९, २०२०

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ५३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो ६ सय १६ जनाको मृत्यु भएकामा आज मृतक संख्यामा केही कमी आएको छ ।

बुधबार साँझसम्मको तथ्यांक अनुसार अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६२ हजार ५६६ पुगेको छ । कोरोना संक्रमितको संख्यामा भने अघिल्लो दिनको तुलनामा झन्डै चार हजार वृद्धि भएको छ । पछिल्लो २४ घन्टामा थप १६ हजार ५७८ जना नयाँ संक्रमित थपिएका हुन् ।

अघिल्लो दिन संक्रमितको संख्या १२ हजार २८२ थियो । यससँगै बेलायतमा कुल संक्रमितको संख्या १७ लाख ६६ हजार ८१९ पुगेको बेलायती स्वास्थ्य विभागले जनाएको छ । संक्रमणदर र मृत्युदर बढेसंगै दैनिक हस्पिटल भर्ना हुने संक्रमितको संख्यामा पनि वृद्धि भइरहेको छ ।

बितेको २४ घन्टामा एक हजार ४५९ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार २७२ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ । बेलायतका हस्पिटलमा अहिले १५ हजार भन्दा बढी संक्रमितको उपचार जारी छ ।

पछिल्लो तथ्याँक अनुसार लन्डनमा कोरोना संक्रमण दर बढ्दै गएको बताइएको छ । लन्डन अहिले कोरोना संक्रमणको मापदण्ड अनुसार ‘टियर टु’ अन्तर्गत छ । तर, आगामी डिसेम्बर १६ मा गरिने पुनर्मुल्यांकनका आधारमा ‘टियर थ्री’ अर्थात उच्च जोखिममा जान सक्ने सम्भावना रहेको बताइएको छ ।

टियर थ्री अन्तर्गत परे पव तथा रेष्टुरेन्ट लगायतका सम्पूर्ण हस्पिटालिटी व्यवसाय बन्द हुनेछन् । तर, टेकवे व्यवसाय भने सञ्चालन हुनेछन् । संक्रमण दर नियन्त्रण नआएको खण्डमा लन्डनमा पूर्ण रुपमा लकडाउन हुन सक्ने पब्लिक हेल्थ विज्ञहरुले चेतावनी दिएका छन् ।

डिसेम्बर ८ मंगलबारदेखि बेलायतमा कोरोनाविरुद्ध खोप अभियान पनि शुरु भएको छ । अर्को हप्तादेखि स्थानीय जीपीबाट पनि खोप उपलब्ध गराउने तयारी भइरहेको सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू