बिहीबार, वैशाख १३, २०८१
04:58 | ०९:४३

एलर्जीका बिरामीले कोरोना भ्याक्सिन लिन नहुने

नेपाली लिङ्क डिसेम्बर ९, २०२०

लन्डन । बेलायतमा डिसेम्बर ८ बाट कोरोना विरूद्धको खोप अभियान शुरु गरिएको छ । फाइजर-बायोएनटेकद्वारा निर्मित खोप अनुमोदन गरेर यसको प्रयोग गर्ने बेलायत पहिलो मुलुक हो ।

तर, मंगलबार भ्याक्सिन लगाउनेमध्ये केही एनएचएस कर्मचारीलाई एलर्जीको समस्या उत्पन्न भएकोले खोप सम्बन्धि नियामक निकायले यसबारेमा सचेत रहन आग्रह गरेको छ ।

एनएचएसमा कार्यरत दुईजना कर्मचारीलाई भ्याक्सिन पश्चात एलर्जीको समस्या उत्पन्न भएको थियो । उपचारपछि अहिले उनीहरुको अवस्था सामान्य रहेको बीबीसीले बताएको छ ।

यदि कसैलाई औषधि, खाना तथा भ्याक्सिन सम्बन्धि एलर्जीको समस्या छ भने फाइजर- बायोएनटेक भ्याक्सिन प्रयोग नगर्न ‘द मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्ट रेगुलेटोरी एजेन्सी’ ले आग्रह गरेको छ ।

एलर्जीका कारण छालामा दाग, सास फेर्न समस्या हुनुका साथै कहिलेकहीं रक्तचापको समेत समस्या देखिने गर्दछ । एनएचएसका निर्देशक प्रोफेशर स्टेफन पविसले पनि एलर्जीको समस्या भएकाहरुलाई उक्त खोपको प्रयोग नगर्न भनेका छन् ।

एमएचआरए प्रमुख डा जुन राइनले पनि खोप दिनु अघि र पछि निकै सतर्क रहनुपर्ने भन्दै उच्च जोखिमका आधारमा खोप लगाउदा निकै सावधानी अपनाउनुपर्ने बताएकी छन् ।

यस किसिमको एलर्जी असामान्य भएको तर,  फ्लू ज्याब लगायतका अन्य फ्लू भ्याक्सिनबाट पनि एलर्जीको समस्या हुने उनले बताइन् ।

भ्याक्सिनको प्रतिक्रियाबारे तुरुन्तै जानकारी भएको र यसलाई नियामक निकायले सावधानीपूर्वक अनुगमन गरेर वास्तविक तथ्य पता लगाउने इम्पीरियल कलेज लन्डनका इम्युनोलजी विशेषज्ञ प्रोफेशर पिटर ओपेनशाले भनेका छन् ।

मंगलबार बेलायतका हजारौं मानिसहरुलाई फाइजर-बायोएनटेकको कोरोना विरुद्धको खोप लगाइएको छ जुन क्रम निरन्तर जारी छ । आउंदो मंगलबारदेखि इङ्ल्यान्डका जीपी सर्जरीहरुबाट समेत कोभिड खोप वितरण गर्ने तयारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू