शुक्रबार, वैशाख १४, २०८१
14:41 | १९:२६

बेलायतमा आगामी सातादेखि जीपी सर्जरीबाट पनि कोभिड खोप

पहिलो चरणमा विभिन्न २ सय जीपी सर्जरीबाट खोप

नेपाली लिङ्क डिसेम्बर ९, २०२०

लण्डन । बेलायतमा मंगलबारदेखि शुरु कोभिड खोपको वितरण आगामी सातादेखि झन् व्यापक हुने भएको छ । आउंदो साता मंगलबारदेखि इङ्ल्यान्डका जीपी सर्जरीहरुबाट समेत कोभिड खोप वितरण गर्ने तयारी गरिएको छ ।  

सोहीअनुसार आवश्यक प्रबन्ध मिलाएर तयारी अवस्थामा बस्न जीपी सर्जरीहरुलाई निर्देशन गरिसकिएको छ ।  

पहिलो चरणमा देशका विभिन्न २ सय जीपी सर्जरीबाट कोभिड खोप उपलब्ध गराइनेछ । पछि १ हजारभन्दा बढी जीपीबाट खोप वितरण गर्ने योजना छ ।  

देशभरका सबै क्षेत्रलाई स्थानीय रुपमै पहुंच हुने गरी जीपी सर्जरीहरुबाट खोप उपलब्ध गराउने भनिएको छ ।  

मंगलबारदेखि बेलायतका ५० बढी अस्पताल र खोप केन्द्रहरुबाट कोभिड खोप दिन शुरु गरिएको छ ।  

फाइजर र बायोएनटेक नामक दुई कम्पनीले बनाएको कोभिड खोपलाई आम प्रयोगको लागि स्वीकृति  दिने बेलायत पहिलो देश हो ।  

परीक्षणका क्रममा ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको यो खोप बेलायतले २ करोड मानिसलाई पुग्ने गरी ४ करोड डोज अर्डर गरेको छ । २१ दिनको अन्तरमा दुई डोज दिइनेछ ।  

बेलायतले फाइजर र बायोएनटेकको ४ करोड बाहेक अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड, नोभाभ्याक्सको ६ करोड, भल्नेभाको ६ करोड, जिएसके र सानोफी पाश्चरको ६ करोड, जानसेनको ३ करोड र मोडेर्नाको ७० लाख डोज अर्डर गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू