शनिबार, वैशाख ८, २०८१
07:10 | ११:५५

बीबीसी मास्टर सेफ: सेमिफाइनलको उपल्लो राउण्ड उक्लिए सन्तोष

हिमाली कुइजिन चखाएर सन्तोषले जिते मन

नेपाली लिङ्क डिसेम्बर ८, २०२०

लण्डन । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् यूके’ मा प्रतियोगी नेपाली सेफ सन्तोष साह सेमिफाइनल राउण्डमा पनि गतिलो प्रदर्शन गर्न सफल भएका छन्   

मंगलबार राती ‘बीबीसी वान’ मा प्रसारित सेमिफाइनल राउण्डबाट अघि बढ्दै उनी अघिल्लो राउण्डका लागि छनोट भएका छन् ।  

प्रतियोगिताको सेमिफाइनल राउण्ड प्रवेश गर्न सफल १० प्रतियोगीलाई दुई समूहमा प्रतिस्पर्धा गराइएको थियो ।  

दुवै समूहबाट ४/ ४ जना छनोट गरेर कूल ८ जनालाई अघिल्लो राउण्डमा पुर्याइएको छ ।  

पहिलो राउण्डमा उत्कृष्ट प्रस्तुति गर्नेमध्ये तीन जना सिधै अर्को राउण्डमा लैजाने क्रममा सन्तोष पनि उत्कृष्ट ३ मै पर्न सफल भए । बाँकी ७ प्रतियोगीमध्ये अरु २ जनालाई पनि सिधै अघि बढाइयो भने अन्य ५ जनाबीच थप एक चरणको प्रतिस्पर्धा गराएर थप ३ जनालाई अघि बढाइयो र २ जना बाहिरिए ।  

सेमिफाइनल राउण्डमा अघि बढ्ने क्रममा सन्तोषले नेपालको हिमाली कुइजिनबाट प्रेरित रोस्टेड काँक्रोको बिंया, पोलेको कटहरको बियां, बन तरुल, प्याजको अचार, स्याउको चट्नी लगायतका परिकार प्रस्तुत गरेका थिए ।  

प्रतियोगिताको विगतका चरणमा उनले पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार जस्ता मौलिक नेपाली खानाका परिकार पस्किएका थिए । अन्तरराष्ट्रिय स्तरमा प्रतिष्ठित बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खाना लिएर प्रतिस्पर्धा गर्ने सन्तोष नै पहिलो नेपाली सेफ हुन् ।

अब ८ जना सेमिफाइनलिस्ट प्रतियोगीबीच अर्को एक चरणको प्रतिस्पर्धा गराएर फाइनल राउण्डका लागि ६ जना छनोट गरिनेछ ।  जुन एपिसोड १० तारिख विहीबार प्रसारण हुनेछ । प्रतियोगिताको फाइनल १७ तारिख हुनेछ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू