शुक्रबार, वैशाख ७, २०८१
20:12 | ००:५७

बेलायतमा भ्याक्सिन शुरु भएकै दिन छ सय बढीको मृत्यु

नेपाली लिङ्क डिसेम्बर ८, २०२०

लन्डन । बेलायतमा आज मंगलबारबाट आममानिसमा कोरोना विरुद्धको भ्याक्सिन प्रयोग शुरु भएकै दिन ६१६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा थप १२ हजार २८२ जना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । बेलायतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या अब ६२ हजार ३३ पुगेको छ । 

करिब एक वर्ष अघि चीनबाट शुरु भएको कोरोना भाइरस महामारीका कारण विश्वभर १५ लाख ५५ हजार भन्दा बढीको ज्यान गैसकेको छ ।

९५ प्रतिशत सफल र विश्वसनीय मानिएको अमेरिकन तथा जर्मन कम्पनी फाइजर-बायोएनटेकद्वारा विकसित खोपलाई बेलायतले सबैभन्दा पहिले मान्यता दिएसँगै आजैबाट खोप वितरण शुरु गरेको हो ।

बेलायतमा आज पहिलो दिन ९० वर्षकी मार्गरेट कीननले खोप लिएकी छन् । उक्त खोप पहिलो चरणमा बेलायतभरका ५० अस्पतालबाट शुरु भएको छ । स्कटल्याण्ड, वेल्स र नर्दर्न आयरल्याण्डले पनि मंगलबारदेखि खोप वितरण गरेका छन् ।

बेलायतमा पहिलो चरणमा ८ लाख डोज भ्याक्सिन दिइने छ । खोप लगाएका प्रत्येक मानिसलाई खोप कार्ड उपलब्ध गराइने भएको छ । अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदार खोपको पहिलो प्राथमिकतामा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू