बुधबार, वैशाख १२, २०८१
13:41 | १८:२६

राजदूत सुवेदीका अधुरै रहे केही प्रतिवद्धता

नेपाली लिङ्क डिसेम्बर ८, २०२०

लन्डन । बेलायतका लागि २० औं नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी आफ्नो चार वर्षे कार्यकालको उत्तरार्धमा छन् । सन् २०१६ अक्टुबरबाट कार्यभार सम्हालेका उनको बेलायत वसाइ भावी राजदूत लोकदर्शन रेग्मीको कागजी प्रक्रिया ढिलाइका कारण अझै केही साता लम्बिएको छ ।

उनको गतिविधि पछिल्लो एक वर्ष भने कोरोना संक्रमणका कारण अलिक सुस्त रहन पुग्यो । दूतावासले तय गरेका विभिन्न भौतिक क्रियाकलाप महामारीका कारण स्थगित भए । तैपनि ‘भर्चुअल’ माध्यमबाटै भएपनि दूतावासको सक्रियता पूर्ण रुपमा ठप्प हुन दिएनन् उनले ।

गएको चार वर्षभित्र विशेषगरी बेलायती समाजमा नेपाली साहित्य र कला क्षेत्र भने राजदूत सुवेदीको पहलले निकै विकास भएको सम्बन्धित क्षेत्रका मानिसहरु बताउंछन् । आफ्नो कार्यकालमा बेलायतमा भएका र गरेका साहित्यिक सृजना तथा यसको विकासप्रति आफू शतप्रतिशत सन्तुष्ट रहेको राजदूत सुवेदी स्वीकार्छन् । यति हुंदाहुंदै पनि आफ्ना दुईवटा प्रमुख योजना भने अधुरै रहेको उनले सुनाए ।

हुन त कतिपय कूटनैतिक र प्रशासनिक काम कारवाही अझै प्रक्रियामा छन् । तर, आफ्नो पहलबाट सम्भव हुने बेलायवासी नेपाली समुदायसंग मिलेर धार्मिक कार्यक्रम र साहित्यिक महोत्सव गर्ने योजना कोरोना संक्रमणका कारण असफल भएको सुवेदीले बताए । लगभग ३-४ सय मानिसलाई निमन्त्रणा गरेर एउटा भव्य धार्मिक समारोह गर्ने तयारी भइरहेको अवस्थामा कोरोना महामारी फैलिएपछि आफ्नो त्यो सपना अधुरो रहेको राजदूत सुवेदीले बताए ।

नेपाली समुदायलाई उपस्थित गराउन सम्भव नहुने भएपछि उक्त धार्मिक कार्यक्रम गत अगष्ट ३ मा दूतावास परिवारबीच सम्पन्न गरियो । नेपाली दूतावास लन्डनका कूटनीतिज्ञहरुद्वारा वैदिक सनातन विधि अनुसार पञ्चांग देवताको प्राणप्रतिष्ठा एवं स्थापना गर्दै धार्मिक अनुष्ठान सम्पन्न गरिएको थियो । सोहि अवसरमा दूतावास परिसरमा रहेको मन्दिरमा राजदूत डा. सुवेदी एवं श्रीमती पुनमराज्यलक्ष्मी सुवेदीको तर्फबाट बर्माको म्यान्मारबाट ल्याइएका नवरत्न जडित पञ्चांग देवताहरुलाई पूजा अर्चना गरि प्रतिस्थापन गरिएको छ ।

सो अनुष्ठान समारोहमा बेलायतका ६ जना पण्डित निलहरि घिमिरे, दुर्गाप्रसाद पोख्रेल, गोविन्द नेपाल, नारायण पौडेल ‘गाउंले’, शेखर काफ्ले शाण्डिल्य र विनोद पन्थी सहभागी भएका थिए । दूतावास परिसरमा अवस्थित मन्दिरमा गरिएको उक्त धार्मिक अनुष्ठान डेढ दशक यताकै सबैभन्दा ठूलो र महत्वपूर्ण भएको पण्डित निलहरि घिमिरेको बुझाइ छ ।

यसैगरि, राजदूत सुवेदीले बेलायतवासी नेपाली तथा विदेशीहरुको सहभागितामा एउटा भव्य साहित्यिक महोत्सव गर्ने योजना बनाएका थिए । उनले पछिल्लो चार वर्षमा विभिन्न विधाका थुप्रै कृति प्रकाशित गरेका छन् । साहित्यिक क्षेत्रमा राजदूतले चार वर्ष निकै उपलब्धिमूलक काम गरेको साहित्यकार गोपी सापकोटा बताउंछन् । सुवेदीको आगमनपछि बेलायतमा नेपाली साहित्यिक गतिविधि हलक्कै बढे । दुबसु क्षेत्री थाहै नपाइकन नेपाली लेखक तथा साहित्यकारहरुका लागि अभिभावक बनेको सापकोटाको बुझाइ छ ।

सुवेदीको संयोजन र सम्पादनमा छ वटा कृतिहरु ‘बेलायतमा नेपाली कवि र कविता’, ‘बेलायतमा नेपाली कथा’, ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ ‘बेलायतमा नेपाली नाटक’ प्रकाशित भएका छन् भने ‘बेलायतमा नेपाली निवन्ध’ नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने भएको छ ।

सुवेदीले सुप्रसिद्ध आइरिस कवि माइकल डी हिगिन्सका प्रतिनिधि कवितालाई पनि नेपाली तथा अंग्रेजीमा अनुवाद तथा सम्पादन गरेर प्रकाशित गरेका छन् । हिगिन्स आयरल्याण्डका वर्तमान राष्ट्रपति हुन् । अहिले उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति छन् । त्यहां राष्ट्रपतिको पदावधि ७ वर्ष हुने गर्दछ ।

उनीसंगको कूटनैतिक सम्बन्ध मात्र नभएर साहित्यिक सम्बन्धका कारण बढी आत्मियता भएको राजदूत सुवेदी बताउंछन् । व्यक्तिगत पहलमा राष्ट्रपतिसंगको सम्बन्ध कायम गर्ने 
राजदूतको संख्या सायदै होला, यो साहित्यिक माध्यमबाट भएको सम्बन्धले आफू अझ बढी सन्तुष्ट भएको सुवेदीले बताए ।

गीतसंगीतको क्षेत्रमा पनि उनको उत्तिकै लगाव र योगदान रह्यो । उनले दुईवटा म्यूजिक भिडियो पनि तयार पारे । वरिष्ठ पत्रकार खगेन्द्र नेपालीको स्वरमा कविता संग्रहको ‘अडियो बुक’ पनि तयार भएको छ । यसका साथै राजदूत स्वयंको आवाजमा ८१ वटा कविता वाचन गरिएको अडियो बुक पनि तयार हुंदैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू