बिहीबार, चैत १५, २०८०
12:59 | १८:४४

पासा पुच गुठी यूके लन्डनको नेवा 
परम्पराबारे वेबीनार

नेपाली लिङ्क डिसेम्बर ७, २०२०


लन्डन । पासा पुच गुठी यूके लन्डनले गुठी सेमिनार श्रृंखला अन्तर्गत ‘नेवा परम्परा जोगाउन समकालिन अभ्यास’ बारे एक वेबीनार गरेको छ । २९ नोभेम्बरमा आयोजित उक्त वेबीनारमा नेवा संस्कृतिविद, प्राज्ञ, अभियन्ता र नेवा संस्कृतिप्रति उत्सुक करिब एकसय ५० जना सहभागी थिए । नेवा परम्परा संरक्षण तथा संवर्धनका लागि भइरहेका अभ्यास उजागर गर्नु वेबीनारको उद्देश्य रहेको आयोजकले बताएका छन् ।

कार्यक्रममा पासा पुच गुठी यूके लन्डनका अध्यक्ष रुकमणी मानन्धरले स्वागत गर्दै नेपाल सम्वत ११४१ को शुभकामना दिए । पासा पुच गुठी यूके बोर्ड अफ ट्रष्टीजका अध्यक्ष आजेश सिंहले नेवा संस्कृति प्रवर्धनका लागि नवीन सोचबारे छलफल र विचार आदानप्रदान गर्न सेमिनार एउटा प्लेटफर्म भएको प्रकाश पारे । ओजेश सिंहले अध्यक्षता गरेको पहिलो प्यानलमा नेवा संस्कृतिविद काशीनाथ तमोट र दुई लेखिका एवं नेवा अभियन्ताहरु सुप्रिया मानन्धर र रुक्सना कपालीले आ आफ्नो कार्यपत्र प्रस्तुत गरे । तमोटले नेपाल सम्वतको महत्व तथा चुनौतिबारे चर्चा गरेका थिए । सुप्रिया र रुक्सनाले हालै प्रकाशित सौर्य नेपाल सम्वत सम्बन्धमा प्रकाश पारे । त्यसैगरि, डा. महेशमान श्रेष्ठले समकालिन समाजमा नेवा र यसका चुनौतिबारे आफ्नो धारणा राखेका थिए ।

लन्डनस्थित सोआस विश्वविद्यालयमा नेपाल भाषा सोसाइटीकी संयोजक म्यारिलेना फ्रिजोनको अध्यक्षतामा भएको दोश्रो सत्रमा भाषा प्रशिक्षक तथा सञ्चारकर्मी सुनिता डंगोलले क्यालीजात्रा समूहबारे उल्लेख गरिन् जहां उनी पनि आवद्ध छिन् । उक्त समूहले मोबाइल एप्स र विभिन्न प्रत्यक्ष तथा भर्चुअल वर्कसपमार्फत रन्जना लिपीको प्रवर्धन गरिरहेको छ ।

आर्किटेक्ट तथा सांस्कृतिक धरोहरप्रति उत्सुक अलिना ताम्राकारले कथा वाचन कार्यक्रमको आयोजक एउटा स्वयंसेवी संस्था ‘बाख न्यानी वा’ (कथा सुन्न आउ) बारे बोलिन् । उक्त संस्थाले परम्परागत नेवा कथा संरक्षणमा काम गरिरहेको छ । यस सत्रकी तेश्रो वक्ता अजी नामक संस्थाकी सह-संस्थापक लोरिना स्थापितले आफ्नो संस्थाले अन्तरपुस्ता ज्ञान तथा सीप हस्तान्तरण, नेवा खाना तथा परम्पराको दस्तावेज संग्रह आदि गतिविधि गरिरहेको जनाइन् ।

पासा पुच गुठी यूके लन्डनका पूर्व अध्यक्ष संयुक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न तेश्रो तथा अन्तिम सत्रमा पनि तीन कार्यपत्र प्रस्तुत गरियो । उक्त सत्रमा अधिकारकर्मी मल्ल के सुन्दरले नेवा गुठीको स्वराज्य अधिकारबारे चर्चा गरे । मार्बर्ग विश्वविद्यालयका डा. फेलिक्स ओटरले प्राचीन नेवा साहित्य र पाण्डुलिपी संरक्षण एवं अध्ययनमा समकालिन अभ्यासबारे उल्लेख गरेका थिए । त्यसैगरि, लैंगिक मुद्दा तथा सामाजिक विकासकी अध्येता डा. ज्योति तुलाधरले नेवा मुल्य मान्यता सम्बन्धमा चर्चा गरिन् ।

तीन सत्रको कार्यपत्र प्रस्तुतिपछि पासा पुच गुठी यूके लन्डनका सल्लाहकार डा. सचेतन तुलाधरले मध्यस्तता गरेको सत्रमा सहभागीबीच छलफल भएको थियो । तुलाधरले भविष्यमा पनि यस्ता सेमिनारमा जोड दिए ।

ओजेश सिंहले कार्यक्रम समापन गर्दै सबै प्रमुख वक्ता तथा सहभागीप्रति आभार व्यक्त गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू