शुक्रबार, चैत १६, २०८०
12:31 | १८:१६

 बेलायतमा कोरोना भ्याक्सिन ढुवानीमा सेना परिचालन गरिने

अर्को हप्तासम्ममा बेलायतमा ८ लाख डोज भ्याक्सिन उपलब्ध हुने

नेपाली लिङ्क डिसेम्बर ७, २०२०


लन्डन  । फाइजर-बायोएनटेकले विकास गरेका कोरोना भाइरस विरुद्धको खोप ढुवानीका लागि बेलायतमा सेनाको मद्धत लिइने भएको छ । विदेशमन्त्री जेम्स क्लेभर्लीले सो जानकारी दिएका हुन् ।

यो भ्याक्सिन प्रमुख प्राथमिकतामा पर्ने भएकाले यसको ढुवानीको लागि नियमित व्यावसायिक उडानको विकल्प खोजिएको उनले बताए । हाल चलिरहेको ब्रेक्जिट वार्ताका कारण भ्याक्सिन प्रक्रियामा ढिलाई हुनसक्ने बताउंदै यसलाई कुनै पनि परिस्थितिमा बाधा पुर्याउन नहुने उनले बताए ।

फाइजर बायोएनटेकद्वारा निर्मित उक्त भ्याक्सिन इंग्ल्याण्डमा भोलि मंगलबारबाट वितरण गरिने भएको छ । स्कटल्याण्ड, वेल्स र नर्दर्न आएरल्याण्डले पनि मंगलबारदेखि खोप वितरण गर्ने भएका छन् । भ्याक्सिन लगाएका प्रत्येक मानिसलाई भ्याक्सिन कार्ड उपलब्ध गराइने भएको छ ।

पहिलो डोजको भ्याक्सिनका लागि इंग्ल्याण्डमा करिब चार दर्जनभन्दा बढी अस्पतालहरुलाई तोकिएको छ । अर्को हप्तासम्ममा बेलायतमा ८ लाख डोज भ्याक्सिन उपलब्ध हुने अधिकारीहरुले जनाएका छन्  ।

सरकारले फाइजर बायोएनटेकले उत्पादन गरेको कोभिड खोपको ४ करोड डोज अर्डर गरिसकेको छ । जसबाट दुई डोजका दरले कुल २ करोड मानिसलाई खोप प्रदान गर्न सकिनेछ ।

२१ दिनको फरक पारेर दुई डोज भ्याक्सिन प्रयोग गरिनेछ । बेलायतले पहिलो चरणमा केयर होममा बस्ने ज्येष्ठ नागरिक, एनएचएसमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी, ज्येष्ठ नागरिक, मेडिकल समस्याका कारण जोखिम समूहमा रहनेहरु लगायत ८० वर्ष माथिकालाई खोप वितरण गर्दैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू