शुक्रबार, वैशाख १४, २०८१
19:55 | ००:४०

सन् २०३२ को ओलम्पिकका लागि अस्ट्रेलियाले दाबी गर्ने  

हालसम्म पाँचवटा देशले चासो देखाएका छन्

रासस–सिन्ह्वा डिसेम्बर ७, २०२०

 

सिड्नी । अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यले सन् २०३२ को ओलम्पिक खेल आयोजनाका लागि आफूले प्रस्ताव अगाडि सार्ने घोषणा गरेको छ ।

कोरोनाभाइरस महामारीका कारण ओलम्पिक खेल आयोजना गर्नेसम्बन्धी यसअघि गरिएका तयारी स्थगन गरिए पनि अब चाँडै यसबारेमा प्रयत्न थालिने उक्त राज्यका अधिकारीहरुले बताएका छन् ।

राज्यकी मुख्यमन्त्री अनास्तासिया पालास्जुकले सोमबार ओलम्पिक कार्यदल गठन प्रक्रिया थालनी गरिएको जानकारी दिइन् । उनले कार्यदलको सुझाव बमोजिम क्विन्सल्यान्डमा ओलम्पिक खेल ल्याउन प्रयत्न गरिने बताइन् ।

उनले कार्यदलका सदस्यहरुले सन् २०२१ को जुलाई २३ का लागि तय भएको टोकियो ओलम्पिकका गतिविधिलाई नजिकबाट नियालिरहेको जानकारी दिइन् । उनले भनिन्, ‘कोरोनाभाइरसको संकटपछिको विश्वमा टोक्यो ओलम्पिकको विकासक्रमलाई हामीले ध्यान दिनुपर्छ ।’

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका उपाध्यक्ष एवं अस्ट्रेलियाली ओलम्पिक कमिटीका अध्यक्ष जोन कोट्ससँग सोमबार नै मुख्यमन्त्री पालास्जुकले भेटवार्ता गरेकी थिइन् ।

कोट्सका अनुसार सन् २०३२ को ओलम्पिक आयोजनाका लागि हालसम्म मोटामोटी पाँचवटा देशले चासो देखाएका छन् । कोट्सले अस्ट्रेलियामा कोरोनाभाइरसको संक्रमण लगभग नियन्त्रणमा आइसकेकाले सबै अस्ट्रेलियावासीले ओलम्पिक खेलको आयोजनाका बारेमा सकारात्मक रुपमा सोच्न सक्ने बताइन् ।

उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले जापानका प्रधानमन्त्री योसिहिडे सुगासँग गत महिना टोकियोमा भेटवार्ता भएको र टोकियो ओलम्पिक निर्धारित मितिमै हुनेमा दुबै नेता सहमत भएको पनि जानकारी दिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू