शनिबार, वैशाख ८, २०८१
02:54 | ०७:३९

नेकपा स्थायी कमिटीको बैठक मङ्सिर २८ सम्म स्थगन

रासस डिसेम्बर ६, २०२०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार काठमाडौँको धुम्बाराहीस्थ्ति पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकको निर्णयबारे पत्रकारलाई जानकारी दिदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ । तस्बिर- रोशन सापकोटा, रासस

काठमाडौं । आन्तरिक विवादका विषयमा छलफल गर्न आज बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही मङ्सिर २८ गतेसम्मका लागि स्थगन भएको छ । स्थायी कमिटीको बैठकका कारण पूर्वनिर्धारित यही मङ्सिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गतेका लागि सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सो पार्टीको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा शुरु भएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित नभई पार्टीलाई विभाजनका डिलमा पुरयाउने तयारीसहित बैठक राखिएकाले आफू बैठकमा सहभागी नभएको लिखितपत्र पठाएका थिए । बैठकमा अध्यक्ष ओलीको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले वाचन गरेको प्रवक्ता श्रेष्ठले बताए । शीर्ष नेताबीच अनौपचारिक छलफल गरेर सहमति खोज्ने प्रयास पनि जारी रहेको जनाइएको छ ।

शनिबारको सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन पत्र स्थायी कमिटीमा लाने निर्णय गरेको थियो । यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्ताव पत्रका सम्बन्धमा शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ ।

स्थायी कमिटीले विवेकपूर्ण निकास दिने अध्यक्ष ओलीको विश्वास
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफूविरुद्ध आएको प्रस्ताव सम्बन्धमा स्थायी कमिटीले विवेकपूर्ण निकास दिने विश्वास व्यक्त गरेका छन् । पार्टी स्थायी कमिटीको आजदेखि शुरु भएको बैठकमा लिखितपत्र पठाउँदै अध्यक्ष ओलीले गत कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावले पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथा पार्टीभित्रको नीतिगत वहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको जनाएका छन् ।

‘पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानूनसमेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरुसमेत लगाइएको उक्त अभियोग–पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छु । पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निःशर्त फिर्ता हुनुपर्ने मेरो मान्यता यथावत् छ ‘, अध्यक्ष ओलीको पत्रमा भनिएको छ, ‘एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिडविरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्तावसहित पर्याप्त तयारीका साथ बैठकमा जानुपर्छ भन्ने भनाइ पनि मैले स्पष्ट पारिसकेको छु ।’

अध्यक्ष ओलीले आफूलाई आरोप लगाइएको पत्रका बारेमा हुने छलफलमा सहभागी हुन आफू असमर्थ रहेको तर परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा सक्रिय सहभागिता रहने स्पष्ट गरेका छन् ।

अध्यक्ष ओलीले महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेका कमिटीहरु त्यसैअनुरुप सहमतिका आधारमा चल्नुपर्नेमा जोड दिएका छन् । ओलीको पत्रमा भनिएको छ, ‘मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु तर पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस सङ्कटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास रहिरहेको छ ।’

अध्यक्ष ओलीले आफूलाई स्थायी कमिटीका सदस्यको सामूहिक विवेकमाथि विश्वास रहेको जनाउँदै गतः भदौ २६ गते उक्त कमिटीले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराएको पनि स्मरण गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू