बिहीबार, वैशाख १३, २०८१
13:50 | १८:३५

९४ वर्षीया बेलायती महारानी एलिजावेथ कोभिड खोप लिने पालो पर्खिंदै

नेपाली लिङ्क डिसेम्बर ६, २०२०

बेलायती महारानी एलिजावेथ द्वितीय।

लण्डन । आउंदो मंगलबारदेखि आम रुपमै कोभिड खोप वितरण शुरु गर्न लागेको बेलायतमा यतिबेला नयाँ आशा र उत्साह जागेको छ ।   

यसैक्रममा बेलायती महारानी एलिजावेथ द्वितीयले समेत कोभिड खोप लिने तयारी रहेको खबर बाहिरिएको छ ।  

९४ वर्षीया महारानी र उनका ९९ वर्षीय पति प्रिन्स फिलिप पहिलो चरणमै खोप लिनेहरुको ‘वेइटिङ लिस्ट’ मा रहेको बेलायती मिडियाले उल्लेख गरेका छन् ।  

सरकारले पहिलो चरणमै खोप पाउनेको प्राथमिकतामा राखेको ८० वर्ष माथिको उमेर समूहअन्तर्गत उनीहरुलाई खोप दिइने भएको हो । तर महारानीका लागि कुनै छुट्टै विशेष व्यवस्था नगरिने भएकाले उनले आफ्नो पालो पर्खिएरै खोप लिने बताइएको छ ।  

जोखिमयुक्त उमेर समूहमा रहेका कारण अबको केही साताभित्रै महारानीको खोप लिने पालो आउने अपेक्षा छ । उनले खोप लिइसकेपछि त्यो खबर सार्वजनिक गर्ने तयारी छ ।  

जसले कोभिड खोपका विषयमा अहिले जनतामा रहेका डर, आशंका कम गर्ने र विश्वास बढाउने आशा गरिएको छ ।  

महारानी दम्पति आफ्ना डाक्टरहरुको परामर्शअनुसार खोप लिन तयार भएका हुन् ।  

यसअघि गतासाता मात्रै बेलायतले पहिलो कोभिड खोपको आम वितरणका लागि स्वीकृति प्रदान गरेको थियो । फाइजर र बायोनटेक नामक कम्पनीले संयुक्त रुपमा निर्माण गरेको यो खोपका लागि स्वीकृति दिने बेलायत नै पहिलो मुलुक हो ।  

परीक्षणका क्रममा ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको यो खोप २ करोड मानिसलाई दिन पुग्ने गरी ४ करोड डोज बेलायतले अर्डर गरिसकेको छ ।  

यही मंगलबारदेखि बेलायतभरका ५० बढी अस्पताल तथा खोप केन्द्रबाट कोभिड खोप वितरण हुँदैछ ।खोप पाउने पहिलो प्राथमिकतामा केयर होम रेसिडेन्टहरु, एनएचएसमा कार्यरत स्वास्थ्यकर्मी एवम् कर्मचारीहरु, अन्य रोगका कारण उच्च जोखिममा रहनेहरु, ज्येष्ठ नागरिकहरु लगायतलाई राखिएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू