बिहीबार, वैशाख १३, २०८१
23:03 | ०३:४८

यूकेको स्वीण्डनमा बेरोजगारी कम गर्न नेपाली समाजले दियो सेक्युरिटी तालिम

५ दिने तालिममा ३० नेपाली सहभागी

नेपाली लिङ्क डिसेम्बर ५, २०२०

लण्डन । बेलायतको स्वीन्डन आसपासका क्षेत्रमा बस्ने नेपालीहरुको संस्था ‘नेप्लिज् एशोसिएशन अफ विल्शायर’ ले आफ्ना सदस्यहरुको लागि सेक्युरिटी तालिम संचालन गरेको छ ।  

नोभेम्बर ३० मा शुरु भएर डिसेम्बर ४ मा सम्पन्न ५ दिने तालिममा सो क्षेत्रका ३० जना नेपाली सहभागी भए ।  

ओजास् सेक्युरिटी ट्रेनिङ कम्पनीसँगको सहकार्यमा संचालित ‘एसआइए’ सेक्युरिटी तालिममा मुख्यत: युवाहरुको सहभागिता थियो । एक महिला र केही वयस्क पुरुषहरुले समेत तालिमको लाभ उठाएको समाजले जनाएको छ   

कोरोना महामारीका बेला स्थानीय युवाहरुमाझ  देखिएको बेरोजगारीको समस्या कम गर्ने उद्धेश्य राखेर तालिम संचालन गरिएको समाजका अध्यक्ष ज्ञान गुरुङले बताए   

समाजका सदस्यहरुलाई तालिम लिनका लागि सहज वातारण बनाउनुका साथै आर्थिक भार समेत कम गर्ने कोशिश समाजले गरेको उनले बताए । 

समाजका तर्फबाट तालिमका लागि संयोजन र हल व्यवस्थापन गरिएको थियो भने तालिम दिने कम्पनीसंग समन्वय गरी प्रशिक्षार्थीहरुलाई सहुलियत दर मिलाइएको थियो । 

‘हामीले समाजकै संयोजनमा पहिलोपटक सेक्युरिटी तालिम चलाएका हौं । हाम्रो समुदायका सदस्यहरुको उल्लेख्य सहभाहिता भएपछि  तालिम प्रभावकारी बनेको महशुस गरेका छौं’, अध्यक्ष गुरुङले भने, ‘समुदायको आवश्यकता र चाहनाअनुसार भविष्यमा पनि यस्ता तालिमहरु संचालन गर्नेछौं ।’ 

स्थानीय बर्कहर्स्ट कम्युनिटी सेन्टरमा संचालन भएको तालिमको उद्घाटन अध्यक्ष गुरुङले गरेका थिए । तालिमको संयोजन सचिव विष्णुकुमार गुरुङले गरेका थिए ।  

तालिमको समापनका अवसरमा सबै प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई समाजको तर्फबाट धन्यवाद ज्ञापन गर्दै दिवाभोज दिइएको थियो ।  

सामाजिक कार्यहरुमा क्रियाशिल रहंदै आएको समाजले कोरोना महामारी शुरु भएपछि केही महिनाअघि बेलायतको नेशनल हेल्थ सर्भिसेज् (एनएचएस) को लागि १० हजार पाउण्ड सहयोग प्रदान गरेको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू