शनिबार, वैशाख १५, २०८१
00:40 | ०५:२५

यूकेले महामारीबाट पिल्सिएका नेपालका विपन्नलाई पठायो ६८ करोड

यसअघि १८ मिलियन पाउण्ड बढीको सहयोग

नेपाली लिङ्क डिसेम्बर ५, २०२०

लण्डन । नेपालमा कोभिड महामारीका कारण दैनिक गुजाराकै लागि संघर्ष गर्न बाध्य विपन्न मानिसहरुको सहयोगका लागि बेलायत सरकारले करिब ६८ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

बेलायत सरकारको फरेन, कमनवेल्थ एण्ड डिभेलपमेन्ट अफिस (एफसिओडी) ले संयुक्त राष्ट्रसंघको ‘विश्व खाद्य कार्यक्रम’ मार्फत ५७ लाख ५० हजार डलर सहयोग प्रदान गरेको हो । जुन रकम महामारीबाट अति प्रभावित १ लाख ६० हजार नेपाली परिवारको सहयोगमा खर्च गरिनेछ ।

बेलायत सरकारले उपलब्ध गराएको सहयोग रकमबाट ‘विश्व खाद्य कार्यक्रम’ ले सर्लाही, रौतहट, कालिकोट, दैलेख र बाजुराका ६५ हजार मानिसलाई नगद सहायता बांडिने बताएको छ । त्यस्तै, थप ७३ हजार महिला तथा बालबालिकालाई पोषणयुक्त खाद्यान्न र परामर्श उपलब्ध गराइनेछ ।

यसैगरी, गोरखा, धादिङ र रसुवामा १९ हजार बढी मानिसहरुलाई बाटो एवम् पुल निर्माणको काममा रोजगारी दिइनेछ । समुदायमा आधारित परियोजनाहरुमा स्थानीयवासीलाई आय आर्जनको अवसर दिएर स्थानीय अर्थतन्त्रमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ ।

‘विश्व खाद्य कार्यक्रम’ ले महामारीका बेला हातमुख जोर्नै अफ्टेरोमा परेका परिवारलाई बिना कुनै शर्त नगद सहयोग गरिने बताएको छ । जसबाट आर्थिक अभावकै कारण आधा पेट खानुपर्ने, बालश्रम वा बालविवाह गराउनुपर्ने र नेपालले जनस्वास्थ्य र शिक्षाका क्षेत्रमा गरिरहेको सुधार नै छायाँमा पर्ने अवस्था नआओस् भन्ने उसको चाहना छ ।

‘विश्व खाद्य कार्यक्रम’ की नेपाल निर्देशक पिप्पा ब्राडफोर्डले अत्यन्त जरूरी रहेको अवस्थामा उपलब्ध आर्थिक सहयोगका लागि बेलायत सरकारलाई धन्यवाद दिइन् । महामारीका कारण खाद्यान्नको मूल्य बढ्ने, आम्दानी घट्ने र बेरोजगारी बढ्ने जस्ता कारणले नेपालमा कयौं परिवारलाई पर्याप्त खानाकै अभाव हुने अवस्था आएको उनले बताइन् ।

‘बेलायत तथा नेपालबीचको ऐतिहासिक मित्रताका क्रममा संकटका समयहरुमा बेलायतले सहयोग दिँदै आएको छ । कोभिड १९ महामारी पनि अपवाद हुन सक्दैन’, काठमाडौंस्थित बेलायती दूतावासकी डिभलेपमेन्ट डिरेक्टर लिसा हनानले भनेकी छन्, ‘नेपालका गरीव र समस्यामा परेका केही मानिसहरुलाई सहयोग गर्न पाउनुमा हामीलाई गर्व छ ।’

बेलायत सरकारले कोभिड महामारी नियन्त्रणका लागि भन्दै यसअघि १८ मिलियन पाउण्ड बढीको आर्थिक सहयोग नेपाल सरकारलाई प्रदान गरिसकेको छ । नेपालको प्रमुख दाता राष्ट्र बेलायतले ‘डिएफआइडी’ मार्फत् वर्षेनी सरदर ९२ मिलियन पाउण्ड सहायता दिँदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू