शनिबार, वैशाख ८, २०८१
00:10 | ०४:५५

बेलायतको लकडाउन अनुभूति

गाई, दूध र दूधेरो

जया राई डिसेम्बर ५, २०२०


बिहान चार बजेतिर व्यूंझिएर फेरी निन्द्रा फकाउने हुंदाको वेफाइदा यिनै त हुन् नि । ब्यूंझदा बिहानको सात बजिसकेको रहेछ । उठ्न कति अल्छी लागेको होला, वास्तवमा सबैलाई नै बिहानको निन्द्रा प्यारो लाग्छ । आलस्य छ, बढि त कर्तव्य नै छ, काममा पनि जानुपर्ने । यिनलाई एकै ठाउंमा कदापी राख्न सकिन्न ।

सिरकभित्र अल्झिरहन पनि मिल्दैन । ओड्ने 
फ्वात्त फालेर मुख धुन बाथरुममा गएर फर्कें । किचन गएर हतारमा केटल अन गरि पानी उमालेपछि हतारमै बे्रक फाष्ट तयार गरेर खान बसें । टिभीमा बीबीसी ब्रेकफाष्ट न्यूज आइरहेको छ । ब्ल्याक लाइफ्स म्याटर, अमेरिकी कोभिड, जो वाइडन र डोनाल्ड ट्रमको चुनावी दौड । बीबीसी समाचार भरिनै अमेरिकी रंग पोतिएको छ ।
राती चार्जमा छाडेको फोन डिस्कनेट गरें ।

ओहो मिसकल ! केटीएमबाट दाजु डा.गोविन्दराज भट्टराईको रहेछ, मेसेन्जरमा । फोन साइलेन्समा भएकाले रिङ्ग सुनिएन । बिहान साढे छ बजे नै आएको रहेछ । मनमा कस्तो कौतुहल भयो, दाईलाई पक्कै केही जरुरी भएर फोन गर्नु भएको थियो कि । उहांको दोश्रो बेलायत यात्रा निकट भविष्यमा नै निस्कंदैछ । यही क्रममा केही पटक कुरा भइरहेकै पनि छ, धेरै खुशी लागेको छ । अग्रिम बधाई छ दाई ।
लाग्यो, आज पनि केही कुरा गर्नु छ, हतारमा ब्रेकफाष्ट खांदै कल गरें । उता दाईको स्वर सुनेपछि सोधें “केही समस्या आयो दाई ?”
“अब सबै तयारी भइसकेको छ बैनी, केही काम टाइपिष्टको कारणले रोकिएको छ । यता काम सकिनासाथ विकल आचार्य भाइले बांकी काम गर्नु हुंदैछ । उहांसंग पनि कुरा भइसकेको छ ।”

“बैनी अस्ती पठाइदिनु भएको नियात्रा संग्रहको पिडिएफ फाइल मैले तेजपुर आसामको डा. ज्ञान छेत्रीलाई पठाइ दिएको थिएं, उहांले पढेर चार पेजको समीक्षा लेखेर पठाइसक्नु भएको रहेछ । मन पराएर प्यारले समीक्षा गरिसक्नु भएको छ । अब चांडै नै प्रकाशन हुन्छ” दाईले भन्नुभयो ।

कुरा सुनिरहें, “बेलायतको बारेमा पाठकलाई दिन धेरै नै बांकी छ । कुनै रातका निद्राहरुलाई माया मारेर भए पनि लेख्नुस् बैनी, लेखाइमा इमान्दारीता छ, सुन्दर र मिठास छ । छाडेर जाने हाम्रा यिनै कृतिहरु नै त हुन्, लेख्नुस् । तपाईंको लेखाई मन पराउंछन्, पाठकले खोजी रहेछन्, त्यतिकै रुचिकासाथ पनि पढ्छन् ।” यो पटक मात्र होइन, पटकपटक मलाई सल्लाह सुझाव दिनुभएको छ ।
उठ्नै अल्छी मान्ने अल्छेलाई, यी प्रेरणाको शक्तिवचन, बिहानको दैविक वचन जस्तै लाग्छन् ।

“केदार भाइले पठाए, मैले सकें । जानु काङमाङ बैनीको पनि सकें । अबको पालो, तपाईंको आउनु पर्छ । ढिलो गर्नु भएन । हो हामी भित्र राक्षस नि साथैमा छ, जीउनका लागि दुःख त गर्नैपर्छ, पेटको लागि । तर पनि केहि समय लेखनलाई, साहित्यलाई दिनु, यो पवित्र काम हो बैनी” फेरी उत्साह दिंदै स्नेहमय आग्रह गर्नुभएको त्यो आत्मियता शब्दमा कसरी वर्णन गरम होला ।

“बैनी तपाईंले अब आफ्नो जीवनको बायोग्राफी पनि लेख्ने बेला भयो । लेखकले इमान्दार भएर लेख्न सक्नु पर्छ । लेख्न थाल्नु” भन्नु भएका शब्दहरु मनमा फेरी गुन्जिए, मीठो संगीत जस्तै ।

“हुन्छ म लेख्न थाल्छु दाई” भनेकी पनि हो, वर्ष दिन बढि भयो । मैले केही शीर्षकहरुको लिष्ट बाहेक केही पनि गरिन । अहिले ग्लानी सिवाय केहि छैन् । ममा अध्ययन र लेखनमा आलस्यता आएको पक्कै हो । मैले आदरणीय दाइलाई ढांटें, नेपाली साहित्यका पाठकहरुलाई ठगें र अझै बढी त ठगिरहेछु आफैंलाई । हो, वास्तवमा त्यस्तै भैरहेको छ ।

“सम्झनाको सागरमा” उहांको बायोग्राफीको अडियो रेकर्ड भै सकेपछि मलाई हरेक इपिसोड पठाइरहनु भयो । मनको आंखाले हेरें, सुनें । कुनै भागले आंखाबाट बगेका आंसुको भेललाई परेलीले रोक्न सकेनन्, रोकिएन । कुनै आनन्द आउने, शिक्षाले ओतप्रोत, प्रेरणादायी, जीवनलक्ष्य प्राप्तिमा गरिएका कडा परिश्रमका अनन्त श्रृंखलाहरु । अति नै मन परयो “सम्झनाको सागरमा” सबै भागहरु ।
मेरा लागि आवश्यक लिंकहरु निरन्तर पठाएर ऊर्जा थपिरहनु भएकै छ । म आभारी छु दाई । यस्ता असल मानवको स्नेह, सद्भाव र निगरानी निरन्तर पाउने कस्तो भाग्यमानी म, गर्व लाग्छ ।

लकडाउनको डोरीले टन्टन् कसेको बेला, अप्रिल महिनाको मध्यतिर दाईको फोन आएको थियो “बैनी बेलायतमा गारहो छ भन्छन् नि कस्तो छ खर्चपर्च ? म एक दुईलाखसम्म त पठाई दिउं भनेको” भन्दा मेरो मन मायाको सागरमा चुर्लुम्म पौडी खेलेको थियो । कस्तो ममता होला ? अपनत्व होला । “धन्यवाद दाई त्यति गारहो भइहालेको छैन्, अहिलेसम्म ठिकै छौं” भन्याथें ।

मेरो उत्तम शिक्षक, उत्तम अभिभावक, शुभचिन्तक के के पो भन्ने होला । उहांलाई विविध बहाना बनाएर कति ढाटौं । आज आफैंलाई दह्रो गरेर भने “हुन्छ, दाई अब चाहिं पक्कै लेख्न सुरु गर्छु ।”

कति त समय नभएर नै लेखिन । तर, कोभिड १९ ले फुर्सद दिएको बेला पनि लेखिन । यद्यपि मेरो झोलामा पढ्ने पुस्तक र डायरी जहिले हुन्छ । यी घरैमा छुटे भने मेरो मन मान्दैन । झोला गर्हौं गर्ने यी दुई चिज पनि हुन् । प्रयोजन छ प्रयोग थोरै मात्र हुन्छ । कारण स्पेयर समय पाएको खण्डमा हातमा भएको स्मार्ट फोनले स्वाट्ट तानेर निलिदिन्छ ।

यो पटक मैले समय नभएर होइन, समय भएरै पनि लेख्न सकिन । तीन महिनाको लकडाउनमा चाहिं घरमा बस्न नसकेर बारीमा गएर समय बिताएं । बेलायतमा 
राम्रो पक्ष, नगरपालिकाले विभिन्न ठाउंमा एरिया तोकिदिएको हुन्छ । सानासाना बारीहरु उपलब्ध गराउंछ । इच्छा हुनेले हांस, कुखुरा, माहुरी पालन गर्न पाउंछन् । तरकारी, फलफूल त झन् मुख्य नै भए ।

कोभिड १९ को आक्रमणका वैराग लाग्दा समाचार टिभीमा कति हेर्नु । डिप्रेसनमा जाने खतरा छ । त्यसैले स्वच्छ हावा, खुल्ला वातावरणमा श्रीमान्संग हरेक दिन बोटविरुवाहरुसंग मितेरी लगायौं । गएका वर्षहरुमा नभ्याएका बारीको काम, नयां तरकारीका विभिन्न विरुवा, विभिन्न आलुका प्रकार, विभिन्न बोडी, टमाटर, फर्सी, कुजेटको लागि कसरी खन्ने गोड्ने, मल राख्ने बीउ, विरुवा, पानी हाल्ने, तारजाली लगाउने, विरुवा रोप्ने, सार्ने नयां नयां प्रयोग गरयौं, सिक्यौं ।

वास्तवमा कोभिड १९ ले हामीलाई चाहिं जीवनमा पहिलोपटक फुर्सद दियो, आराम दिएकै हो । प्रकृतिसंग मिलेर पूmलटाइम काम गर्ने मौका पाइयो जो यसअघि कहिले फुर्सद मिलेको होइन । प्रकृतिलाई नजिकबाट नियाल्ने अवसरलाई सौभाग्य नै भन्न चाहन्छु ।

स्यालरी, बिट्रुट, क्यारोट, केल, रायोसाग, तोरी, बेथुसाग, फर्सी, सीमसाग, रामतोरीया, धनिया आदि क्या मौलायो । मौसम पनि राम्रो, तात्तिंदै गयो । यी ताता र घमाइलो दिनमा स्याउको बोटको छहारीमा बसेर सुसेला सुसेल्दै वाटरमेलन खांदै इनर्जी टपअप गर्दा क्या आनन्द । व्याकग्राउण्डमा रोविन चरी, ढुकुर, म्याकपाई र 
लोखर्केको हलचल आनन्दमय छ । हाम्रो लटरम्म फल्ने स्याउको बोटमा फूल लागेन, यसमा चाहिं दुःख लागेको छ ।

काममा जाने हतारो छैन् । काम सकेर फर्कने कुनै आतुरता छैन् । जीवनमा पहिलो चोटी आफ्नो खुशीले चल्न पाउने समय कोभिड १९ ले जुराई दिएको हो । छ त कोभिड १९ को आक्रमणले मानव सभ्यतालाई बन्धक तथा तहसनहस बनाएको पीडा छ । साथीभाइहरु, आफन्तको मृत्युको पीडा, अन्तिम अवस्थामा गुड्बाई भन्न अन्त्येष्टिमा जान नपाउंदाको पीडाहरुलाई संसारको कुन औषधिले निको पार्ला र खोई ।

सञ्चारको हरेक माध्यमले मानवजातिको विनासको समाचार दिइरन्छ हरक्षण । मृतकहरुको संख्या सुन्दा ठूलो लासको पहाड आंखा अगाडि खडा हुन्छ । डिप्रेसनको डिग्री अझ माथि माथि चढ्छ ।

हो त्यो स्ट्रेसलाई शुन्यमा झार्न बारीको खुला आकाशमा चराहरुको चिरविर र स्वच्छ हावाको सिरसिर गानमा 
रमेर काम गरें, हो बढ्तै गरें जुन अहिलेसम्म गरेको थिइन् । घरैमा बसे टिभीको अगाडि चुम्बक टांसिए झैं आकर्षण गर्छ, पार्कमा गएर बस्ने अनुमति छैन् । सडकमा छिनछिनमा कुदेका एम्बुलेन्स र पुलिसभ्यानको साइरनले मुटुनै लुछेर लगेझै गरि अझ स्टे«स् लेभल बढाउंछ ।

समयको वायूपंखी घोडा, उडान भर्दै करिव दुई महिनाको बन्धकपछि पहिलोपटक फूलका विरुवाहरु किन्न गार्डेन सेन्टर जान खुकुलो भयो । धेरै समयपछि बाहिर निस्कयौं । साथमा मेरी प्रिय सखी टेक्लासंग । फेस माक्स लगाएर सोसियल डिस्टेस राख्नु कत्ति गारो भएको । मान्छेले मान्छे देखि तर्सेको अनौंठो दृष्य, जताततै देख्न पाइन्छ ।

कोभिड १९ भाइरसबाट बंच्नकालागि सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर जान रोक लगाएको छ । जान दिएको ठाउं भनेको नै बारी हो । बारी पुगेपछि दिनभरी तरकारीका विरुवामा मलजल, पानी, गोडमेल, प्रशस्त मात्रामा गर्न भ्याइयो । यसपालीको हाम्रो प्रयास कति मात्रै फलेको होइन, सबैभन्दा पहिलो द वेष्ट 
हार्भेष्ट लसुन भयो । यति धेरै लसुन त झापाको खेतीमा पनि उत्पादन भएको थिएन, त्यति धेरै त्यति सप्रेका । यो त करिब बीस किलो बढि नै उत्पादन भयो ।

कुजेट (जुकिनी) ले त्यस्तै रेकर्ड तोड्यो । बारीमा दुईसयवटा भन्दा बढी फल्यो । साथीभाइलाई घरमा बोलाउन कोभिड १९ ले मनाही गरेको बेला बारीमा भेटेर सोसलाइज हुने अवसर दियो । पालुंगो, फर्सी, चुकुन्दर, टमाटर, चुच्चेकरेला, कांक्रा, बोडी, भन्दा आलुले धेरै धेरै उत्पादन दियो, सानो ठाउंमा नै ८० केजी बढि नै । जमिनको आयतन करिब एक कठ्ठा अलिक बढि होला जम्मा ।

यी सबै फलेका अर्गानिक फसलहरु हामीले साथी, आफन्तहरुलाई बोलाएर बांडि खायौं र खांदै पनि छौं । बांडेर खान क्या आनन्द आउने । लिनु भन्दा दिनुमा आनन्द बढि नै हुने । यिनै आनन्दको कारणले, माफ गर्नु होला लकडाउनको समयमा लेखन र अध्ययन केही गर्न नभ्याएको कारण यिनलाई जिम्मा दिएर म चोखिन चाहन्छु ।

तर, यही लकडाउनको समयमा एउटा आश्चर्यलाग्दो साहित्यिक माहोल तयार भयो, मेरा लागि । त्यसको श्रेय सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. धनकृष्ण उपाध्यायले मेरा प्रकाशित चारवटा पुस्तकको समीक्षा जुन पत्रात्मकशैली लेखेर पठाउनु भएको थियो । बेलायतको नेपाली पपुलर वेवसाइट ‘नेपाली लिंकमा’ प्रकाशन भयो । जुन ओझेलमा परेको मेरा साहित्यिक यात्रालाई प्रकाशमा ल्याइदियो । लाग्छ, मेरो साहित्यिक यात्राको पहिलो सहि समीक्षा हो । प्राध्यापक डा. धनकृष्ण उपाध्यायप्रति आभारी छु म ।

कोभिड १९ महामारीको त्यो असजिलो 
परिस्थितिमा साहित्यिक खुराक दिएको थियो, स्फूर्ति थियो । फेसबुकमा साथी बन्नेको ओइरो लाग्यो । भित्रभित्रै फुर्किएं क्यार । साथी बन्न आउने प्रायलाई स्वीकार गरें । धेरै असल व्यक्तिहरुसंग सम्पर्कमा जोडियौं । तर कोहि यस्ता व्यक्तिहरु पनि आए, जसले मेसेन्जरमा अनावश्यक भिडियो कल गरेर, कसैले उन्मत्त पुरुष लिंग देखाउने पशुहरुसंग पनि जोडिन पुग्दा त्यो भन्दा घीन लाग्दो अर्को केहि लागेको छैन् । यसबारेमा चाहिं बिट् मारौं ल ।

अनेसासको दोश्रो सम्मेलनताका सन् २०११ मा लण्डन आउनुभएको बेला गोविन्द दाई हामीकहां केही समय बस्नु भएको थियो । त्यो बेला दाईको लेखन उर्जा नजिकबाट नियाल्ने मौका मिल्यो । उहांले एक मिनेट पनि समयलाई खेरनफाली सही सदुपयोग गर्नु भयो । उहांको समय प्रतिको त्यो लगाव क्या ताजुब लागेको छ ।

यही बेला भन्नु भएको थियो, “हामी लेखक भनेको दुध दिने गाई हो । समय मिल्नासाथ दुधेरो लिएर बस्नु पर्छ, कुनै बेला गाईले राम्रै दुध दिन्छ दुधेरो भरिन्छ, त कुनै बेला थोरै । तर, जे भए पनि दूध त झर्छ । त्यसैले हरेक दिन दुधेरो लिएर बस्न चाहिं छोड्नु हुन्न ।”
आज मैले फेरी सम्झाएं र भने, “दाई मैले हजुरको दुध र दुधेरोको उखान बिर्सेको छैन् । अब चाहिं म अवश्य लेख्नेछु ।”
मेरो प्रतिज्ञा पत्यार लाग्यो लागेन, किनकि मैले ढांटेको निक्कै नै भइसकेको छ ।

दाईले भन्नुभयो “बैनी लेखेर पठाउनु म यहांका राम्रा राम्रा पत्रिकामा दिन्छु । तपाईंले झमेला गर्नु पर्दैन ।”

आज उहांसंग अलि पारिवारिक कुराहरु पनि भए । दुबै छोरीहरुको बिहे भैसकेछन्, कान्छी छोरीको प्रसिद्ध 
व्यंग्यकार बात्स्यानका छोरासंग र जेठी अभि सुवेदीको छोरासंग । कान्छी छोरी अहिले विश्व बैंकमा काम गर्न थालिन् रे । ती विद्धान छोरीहरुलाई हार्दिक बधाई छ ।

वासिंगटन डिसीको विश्व बैंकमा काम, प्रेम संग्रौला दाईको “सुकीधुकी” खण्ड काव्यको बोरमा चर्चा पनि गरें । उहांले भन्नु भएको छ, प्रेम संग्रौलालाई सम्पर्क गर्नु भन्नु । “सुकीधुकी बारेमा जानकारी छैन रे ।”

तेश्रो पटक २०१९ मा गोविन्द दाई बेलायत आएको बेला आमा विमार भएर केन्टको क्यान्टबरी हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो । विश्वासदीप तिगेला भाईले हस्पिटलमा नै लिएर आए । बेडमा बसिरहनु भएको आमालाई देखेर उहां अंगालो हालेर रुनुभयो । कारण उहांले आफनी ममतामयी आमा गुमाएको पीडा मत्थर भएकै थिएन, आलै रहेछ । “मेरी आमा जस्तै, आमा देखें” भन्दै रुनुभयो दाई ।

त्यही क्रममा विजय हितानको निवास फोक्स्टन टाउनमा केही दिन बसेको बेला फेरी भेट्ने मौका मिल्यो । डोभर रोडमा मेरो दाईभाउजु र बाबालाई भेटन 
पुर्याएं, समरको एक बेलुका । त्यसैबेला ९१ वर्ष पुग्नु भएको बाबा, दाईभाउजुसंग पनि भेट भएको थियो । आमा चाहिं नर्सिंग होममा नै हुनुहुन्छ । त्यसैले आजको संवादमा सबै परिवारको बारेमा सोध्न भ्याउनु भयो । आज भएको संवादमा फेरी प्रमिस गरें “हुन्छ दाई म लेख्छु ।” त्यसैले आज दिनभरीमा भएको सानातिना घट्नाको माला उनेको छु, जुन यहां प्रस्तुत छ ।
हाम्रो संवाद सक्यौं । हतारमा तयार भएर काममा जानका लागि बाटो लागें ।

पातलो समर कोलो कोट लगाएको छु, यूनिफर्ममा आइरन लगाउन अल्छी लागेर कुच्चिएको छ, त्यसलाई छोप्न । आइरनको झमेला चाहिं पटक्कै मन पर्दैन । श्रीमान रातीको ड्यूटी सकेर आएका उनका निदाउरा आंखा छन् । गएं है भन्दै बिदा भएं ।

आकाश खुल्ला, बिहान अल्ली जाडो भए पनि दिउसो २८-२९ डिग्री सेल्सियस हुने मौसम छ । त्यसैले बाटोमा हिंड्ने केही थोरै मानिसहरु पातलो लुगा लगाएका छन् ।

पाकेको बिदा लिएर एकहप्ता बसेको थिएं । फेरी अर्को हप्ता बिदामा बस्नु परयो, कारण मेरो पुरानो विमार अल्सरेटिभ् कोलाइटिस्ले अचानक सतायो । आज त्यसैले दुई हप्तापछि काममा हिंडेको, पीनार रोड ट्राफिकले खचाखच छ ।

दुईहप्ता अगाडि अलि जाडो आएर अलि चिसो बनाएको थियो । तर यो हप्तादेखि मौसम तात्तिंदै छ । बेलायतको मौसमको बयान गरिसाध्य छैन्, खै के भनौं ।

सडकमा अब चाहिं कारका तांती लागिसक्यो । मानिसहरु सबै काममा हिंड्न थाले । लण्डनमा कोभिड १९ को असर अब घटेको प्रमाण प्रष्ट देखियो । सडकमा कुंदेका कारको तांतीले नै बताइरहेछ । लण्डनका प्रायः अफिस खुलेको प्रमाण हो, तर अचम्म लाग्छ सडक पेटीमा थोरैमात्र मानिस हिंडेका छन् । कोभिड १९ को असर देशको हरेक क्षेत्र, वर्ग सबैतिर परेको छ ।

म आफैंसंग बोल्दै पीनार रोडमा पाइला चाल्दै पश्चिमतिर लागें । बस स्टपमा अडिएको बस हिंड्न लागेको छ, बसलाई भेट् अगाडिबाट स्कूले केटा झोला बोकेर कुदेर आउंदै छ । खै किन ड्राइभरले नरोकेर गति लियो । यो समयका बसहरु स्कूलबस हुन् । विद्यार्थीलाई प्राथमिकता दिनुपर्ने हो । अहिले डबल डेकर बसमा २२ जना र सिंगल बसमा १७ जना मात्र प्यासेन्जर चढाउने नियम छ । त्यहि भएर हो कि ड्राइभरले बस रोकेन ।

त्यो बच्चाले बस ड्राइभरलाई च्यालेन्ज दिएर बस संगसंगै पेटीमा बेजोडले दौड्न थाल्यो । बसको घ्यार घ्यार आवाजसंगै मेरो मातृत्व अनायसै अत्तालिएर चिच्यायो, “बि केयर फुल, बि केयरफुल बोई ।” उ बेतोडले दौडंदै गर्दा पनि हावाले मधुरो आवाज ल्यायो कानमा “ओके । ओके ।”

सानो केटो बेतोडले अर्को अगाडिको स्टपतिर दौडियो । छोटो मधुरो आवाजले थोरै सान्त्वना दिएर कटक्कै दुखेको मुटुमा थोरै मलम लगायो । उमेरले ९-१० वर्षको होला, यो उमेरका बच्चाहरुलाई अभिभावकले स्कूल 
लैजाने गर्छन् । तर आज यो बच्चा एक्लै स्कुल जांदै छ । उसको पनि आफ्नै कथा, व्यथा होला । कामकाजी 
सिंगल आमाबाहरुले छोरा छोरीलाई स्कुल पुरयाउन कुनै बेला सक्दैनन् । काममा जानु पर्छ, अरु आदि इत्यादि कारण पनि होलान् ।

मेरो दश मिनेटको बाटोमा यस्तै सानातिना घट्नाहरु घट्छन्, जुन सामान्य जीवनमा भइ नै रहन्छन् ।

म काममा पुगें, बिहानको साढे आठ बज्न बांकी नै छ । सर्जरीको ढोका खुल्ला छोड्ने अनुमति छैन्, त्यसैले चाबी लगाएको हुनुपर्छ । बिना अपोइन्मेट कोही पनि भित्र पस्न मनाही छ । यी सब नियम ‘कोभिड १९’ ले बनाउन लगाएको त हो ।

भारती हप्ता दिनको बिदा मनाउन कोर्नवल गएकी 
रहिछ । त्यसैले आज मार्गरेट रिसेप्सन डेक्समा छे । उ अर्लीबर्ड हो, सधैं चांडै आइपुग्छे । मलाई माया दर्शाउंदै मार्गरेटले, “बिमार कस्तो भयो ? जाति भयो ? काम बढि नगर, आफ्नो ख्याल गर्नु” आदि इत्यादि भनेर सोधखोज गरि ।

लकडाउन पछि फर्लो खाएर बल्ल काममा आएकी एलिना, उ इटाली आमाकहां बसेर आएकी रे । काम आएको पहिलो दिनमा नै एलिनासंग मार्गरेटको परेछ, ठ्याङ्ग एकै दिनमै उसले तर्साइदिछ । मलाई भन्दै थिई, जया, एलिनाले यहां कति भयो काम गरेको ? तिमी हौ नि सबै भन्दा पुरानी, उसले तिमीलाई कुनै कुरामा तल पार्न खोज्ली नि, त्यो गर्न नदिनु । ऊ मेरो कवाचका लागि अनेक शब्दले सुसज्जित बनाउंछे । यी आइरिसहरु पनि कति सन्काह हुंदारछन्, सानातिना कुरामा मलजल हाल्नु पर्ने ।

तीनवटा सर्जरी छ, तर एकजनाले मात्र खोल्न पाइने, वेटिङ्गरुममा अरु कसैसंग भेट हुन नपाउने कारण गर्दा एक जना डेण्टिस्टमात्र दिनमा काम गर्छन्, हप्तामा पालैपालो । आज डा. खाजाको पालो । उसले हेजाप कहिले लगाइएकी थिइन्, लकडाउन पछिको कमब्याक टु वर्कमा उसले हेजाव लगाएर आएकी । हामी सबैजना आश्चर्यचकित भएको । हेजावले त वास्तवमा पीपीइको पनि काम गर्ने रहेछ । उसको कालो लामो सुन्दर कर्ली कपाललाई कालो सलले मज्जाले ढाकेपछि दिनहुं कपाल धुन पनि परेन । सर्जिकल क्यापले कति त टाउको सबै कपाल छोपिन्न । मलाई पनि हेजाव मन पो परयो त ।

तीन महिना लकडाउनपछि खुलेको डेन्टल सर्जरी तीन महिनासम्म खाली इमरजेन्सी बाहेक कुनै काम नै भएन । सेप्टेम्बर महिनाबाट व्याक टु नर्मल हुनुपर्ने हो तर धेरै रेड टेपले बांधेकाले डेन्टिस्टहरुको काममा अवरोध छ । अनि सोसियल डिस्टेन्स राखेर काम गर्न नमिल्ने भएकाले खतराको लेभल पनि माथि नै छ । डेन्टिस्ट, डाक्टरले सोसियल डिस्टेन्स रहेर काम गर्न असम्भव हुन्छ, त्यसैले हामी जोकोहीलाई पनि कोभिडको भाइरस सजिलै सर्न सक्ने सम्भावना बढी छ ।

आज ६ महिनापछि अल्जिनेट मिक्स गर्दा मेरो लुते 
नारीलाई कस्तो हम्मे हम्मे परेको । आज सोमबार अपोइनमेन्ट् फूल बुक रहेछ ।

दश बजेको बिरामी कति राम्रो कुर्ता सलवार लगाएकी घरेलु महिला, कति फरासिली । आउने जाने ‘वान वे’ हुनुपर्छ । उ बाहिरिन लागेको बेला भनें “कति राम्रो कुर्ता, कति सुहाएको ।” सुन्दरी महिला झन् सुन्दर भएर भनिन्, यो त पाकिस्तानी हो नि । यी कस्तो राम्रो मेटेरियल छ । उ पछ्यौरी देखाउंछे । उसले लगाएको रानी कलरको कुर्तामा मोतीको जडी भरेको बुट्टा क्या दामी लागेको, घुटुक्कै निलौं झैं ।
१२ बजेको पेसेन्ट हो, हना, हंगेरीको सिटिजन, उसको बोली, अनुहार केटाको जस्तो । हामीले पहिलो पल्ट विशेष तयार गरेका एजिपी माक्स लगाउनुपर्ने, विशेष गाउन लगाउनु पर्ने तयारीमा बसेका थियौं । उसको लागि रुट ट्रिट्मेन्ट थियो तर लगाउन परेन । उसले आफ्नो प्लान चेन्ज गरी, क्या खुशी लाग्यो, हप्ता दिनको एन्टिबायोटिकले दुखाई कम भएको छ रे, कोभिड कम भए पछि गर्ने रे ।

क्या गज्जब भयो, त्यो गाईको थुतुनो जस्तो माक्स लगाएर कसरी काम गर्ने, स्वास फेर्दा घ्वारघ्वार गर्छ आफैं तर्सन्छु । आजको समस्या त टरयो तर हामीले यो माक्ससंग मिलेर काम नगरी सुखै छैन् ।

अन्तिमको पेसेन्ट लुते छ, हाम्रो बाबा जस्तै उसले पनि हंगेरियन महिला जस्तै तर्क गर्न सक्ने भएकाले उसले अहिले दांत खोल्ने काम क्यान्सिल गर्यो । जीवनको उत्तरार्धमा बंचेका केही दांत धेरै नै महत्वका हुन्छन् । त्यसैले उसले पनि एन्टिबायोटिकले दुखेको दांत केही संचो भएकोले नखोल्ने निर्णय गरेको । जे गरयो सही भयो ।

आज मेनेजर साम र साथमा नयां स्टुडेन्ट डेन्टिस्ट आएका छन् । सायद पेपर वर्क गर्न आएका हुंदा हुन् । अब काम सुचारु हुन्छ ।
गँगा नजाने रे, बारीमा पानी हाल्न मेसेज पठाकी छ । म जानु पर्छ ।

मार्गरेटले भनेकी-भोलि लन्च ब्रेकमा गएर सघाउंछु रे, तिमी आज थाकेकी छौं घर जाउ ।

अचम्म लागिरहेछ लकरमा रहेको मेरो पीपीई, नयां गाउन छैन्, लकरबाट कसले निकाल्यो होला मनमा कौतुहलता छ, एउटा कुरा पनि आजसम्म केहि नहराएको, यो मार्गरेट आइकन अनेक हुंदैछ । आजै मेरो लन्च व्याग माथि मार्गरेटले कोलगेटको स्याम्पल टुथपेष्ट 
राखिदिएकी रहिछ । यसको चेपारो खै के भन्ने ।

म कामबाटै बारीमा गएं, घाम चर्को लागेको छ । सीमालाई कल गरें । उनी घरैमा रहिछिन् । टमाटर टिप्न आउन अनुरोध गरें । सुवर्णले कारमा लिएर आएछन् । छिमेकीले दिएको तलको टी टेबल पनि ल्याइ दिए । क्या गज्जव अब पाहुना आको बेला सजिलो हुने भयो बारीको गोठमा ।

सुर्वणले पहिलो चोटी कुजेट टिपेको कांडाले बिझायो रे । आम्मामा सीमा कति चांडो एक डाली टमाटर टिपेर आइछन् ।
बेलुका बारीबाट एक झोला रातो पाकेको टमाटर र कुजेट टिपेर घर पुगेका थियौं ।

मेरील्याण्डमा बस्ने उषा दिदीसंग भर्खरै परिचय भएकी संखुवासभा निवासी मिना भाउजुसंग आज पहिलो पटक बोलें । कस्ती फरासिली हाम्री गाउंले मिना भाउजु । श्रीमान् र छोरा आइटी इन्जिनियर, उनी आफूलाई एक्लो ठान्छिन् घरमा ।

ला ! बुबुको मेसेज । “वेल्सहाउस नर्सिंग होमले लकडाउन भयो भनेर खबर गरे रे ।” आमालाई सेप्टेम्बर १ मा २ मिटर परबाट भेट्न पाको करिब चार पांच महिनाको बीचमा एक पल्ट । अब त्यो पनि सम्भव नहुने भयो । लण्डन बाहिर कोभिडको आक्रमण ह्वात्तै बढेको छ ।

मेरो टेबलमा डेलिभरीको ब्राउन प्याकेट देखें । अघिल्लो दिन नीराले मम्मी तपाईंको बुक आइपुग्छ है भनेकी थिई । हो त्यो रहेछ तीनवटा ट्वींकल खन्नाको मिसेज फनीबोन्स्, पाइजामा र द लिजेन्ड अफ लक्ष्मी प्रसाद ।

तीन महिना बढी भइसक्यो प्रमिला बुहारीले पठाइदिएको ‘द बोइ विथ् द टप नट्’ । तीन भागको एक भाग पनि भएको छैन् । तपाईंहरुलाई थाहै छ मेरो राम कहानी किन मैले लेखन र अध्ययनमा कमी भएको छ भनेर ।

मलाई पुस्तक उपहार प्राप्त गर्दा अत्यन्तै खुशी लागेको छ हार्दिक धन्यवाद छोरी, भतिजा बुहारी । तर डर पनि छ पुस्तक कस्तो लाग्यो भनेर फोन कल आयो भने चाहिं के भन्ने होला । प्रमिलाको फोन कल अभोइड् गर्दा गर्दा केही सीप नलागेर राम कहानी भन्नु परेको थियो ।
ला ! दुधेरो त भरियो जस्तो छ त । तर तपाईंलाई कस्तो लाग्यो दुधेरो भित्रको दुध ? खबर गर्नुस् है प्लिज ।

१४ सेप्टेम्बर २०२०, लन्डन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू