शुक्रबार, चैत १६, २०८०
19:24 | ०१:०९

कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई हरितारा चलचित्र पुरस्कार

नेपाली लिङ्क डिसेम्बर ४, २०२०

काठमाडौं । वि.स. २०७५ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मी अभिनेता कृष्ण मल्ल र विशिष्ट चलचित्रकर्मी तथा नाट्यकर्मी अभिनेता मदनदास श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शमसेर जबराको अध्यक्षतामा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

४ दशक बढी समयदेखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृति, रंगमञ्च, रेडियो नाटक एवं नेपालको गौरव देश विदेशमा पुरयाउन महत्वपूर्ण योगदान पुरयाएवापत मल्ल र श्रेष्ठलाई उक्त पुरस्कारबाट सम्मान गर्न लागिएको हो । यो पुरस्कार चलचित्र क्षेत्रकै सबैभन्दा पहिलो हो ।

वि.सं. २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफू र आफ्ना पति हरि शमशेरको नाममा अक्षय कोष राखेर पुरस्कार स्थापना गरेकी हुन् ।

यसैगरी २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई प्रदान गरिने भएको छ । ढुंगानाले ४ दशक भन्दा बढी समयदेखि गीत रचनाको माध्यमबाट नेपाली कला संस्कृति एवं गीत संगीत र चलचित्र क्षेत्रको उत्थानका लागि देश विदेशमा महत्वपूर्ण योगदान पुरयाएका छन् । पुरस्कार राशी जनही २५ हजार छ ।

यसैगरी वि.सं. २०७६ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सञ्चारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई अर्पण गर्ने निर्णय भएको छ । पुरस्कारको रकम जनही दश हजार रुपैयाँ छ ।

परिवर्तन नेपालको सोही बैठकले परिवर्तन सम्मान २०७६ बाट नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका सचिव मोहन पन्त, निर्देशक एवं अभिनेता विश्वदीप घिमिरे र निर्देशक, अभिनेता तथा सञ्चारकर्मी माधवराज खरेललाई सम्मानित गर्ने पनि निर्णय गरेको छ ।

पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी एवं गीतकार शान्तिप्रिय सम्मिलित समितिले गरेको हो ।

यसअघि हरितारा चलचित्र पुरस्कार मह जोडी, शिव श्रेष्ठ, विश्व बस्नेत, रविन्द्र खड्का, रमेश बुढाथोकी, भुवन थापा, करिष्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापा आदिलाई अर्पण गरिसकिएको छ ।

डब्लुएचओ र नेपाल सरकारको स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर पुस दोस्रो साता दुबै पुरस्कार तथा सम्मान अर्पण गरिने कार्यक्रम रहेको परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष तथा हरितारा चलचित्र पुरस्कारका सदस्यसचिव मोहन निरौलाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू