मंगलबार, वैशाख ४, २०८१
14:29 | १९:१४

कोभिड खोपको पहिलो लट आइपुग्यो यूके

नेपाली लिङ्क डिसेम्बर ४, २०२०

तस्वीर : रोयटर्स

लण्डन । आउँदो सातादेखि कोभिड खोप वितरण गर्ने तयारीबीच बेलायतमा कोभिड खोपको पहिलो लट आइपुगेको छ ।

दुई दिनअघि मात्रै बेलायतले आम प्रयोगका लागि स्वीकृति    दिएको फाइजर र बायोनटेकद्वारा निर्मित खोपको पहिलो लट विहीबार  लण्डन आइपुगेको छ ।  

बेल्जियममा उत्पादन  गरिएको खोप युरो टनेल हुँदै ‘रेफ्रिजरेटर लरी’ मार्फत् ल्याइएको हो । बेलायत ल्याइएको खोप कहाँ स्टोर गरी राखिएको छ भन्ने गोप्य राखिएको छ । त्यसो त खोप बोकेर ल्याउन पनि अरुले नचिन्ने गरी सामान्य देखिने लरी प्रयोग गरिएको थियो ।  

अहिले स्टोर गरिएको केन्द्रबाट अब कोभिड खोप वितरणका लागि तयार अस्पतालहरुमा खोप पठाइनेछ यो खोप माइनस ७० डिग्री सेल्सियसको तापक्रममा स्टोर गर्नुपर्ने भनिएको छ ।  

बेलायतले फाइजर र बायोनटेकले उत्पादन गरेको कोभिड खोपको ४ करोड डोज अर्डर गरिसकेको छ । जसबाट एक मानिसलाई दुई डोजका दरले कुल २ करोड मानिसलाई खोप प्रदान गर्न सकिनेछ ।  

पहिलो लटमा कति डोज बेलायत आइपुग्यो भन्ने खुलाइएको छैन ।  

बेलायतले पहिलो चरणमा केयर होममा बस्ने ज्येष्ठ नागरिक, एनएचएसमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी, ज्येष्ठ नागरिक, मेडिकल समस्याका कारण जोखिम समूहमा रहनेहरु लगायतलाई खोप वितरण गर्दैछ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू