शनिबार, साउन १२, २०८१
10:51 | १५:३६

बीबीसी मास्टर सेफको सेमिफाइनलमा हिमालको स्वाद पस्किने तयारीमा सन्तोष

नेपाली लिङ्क डिसेम्बर ३, २०२०


लण्डन । बीबीसीबाट प्रसारण हुने प्रतिष्ठित ‘मास्टर सेफ प्रोफेसनल्स यूके’ को सेमिफाइनल राउण्ड प्रवेश गरेका नेपाली सेफ सन्तोष साह यतिबेला अघिल्ला चरणका प्रतिस्पर्धाको तयारीमा छन् । 

सेमिफाइनलमा विभिन्न राउण्डमा हुने कडा प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्ने चुनौती बोध गरेका उनी कसरी राम्रो प्रस्तुति दिने भनेर अभ्यासमा जुटेका छन् । 

‘यो प्रतियोगितालाई मैले नेपाली खानामार्फत् नेपाललाई विश्वमाझ चिनाउने प्लेटफर्मका रुपमा लिएको छु । हाम्रो नेपाली खानामा जुन विशेष मौलिकता र विविधता छ, त्यसलाई कसरी राम्रोसंग संसारलाई देखाउन सक्छु भनेर कोशिस् गरिरहेको छु’, सन्तोष भन्छन् । 

प्रतिस्पर्धाको सेमिफाइनल राउण्डमा नेपालको हिमाली भेगबाट प्रेरित खाना पस्किने उनको सोच छ । ’अघिल्ला राउण्डहरुमा तराईको, पहाडको खाना बनाएर देखाएको थिएं । उनीहरुले खुबै मन पराए । अब हाम्रो देशको हिमाली भेगका स्वादिलो परिकारहरु पनि देखाउने सोच बनाएको छु’ , उनले भने । जसका लागि पिंडालु, स्कुस, तरुल, स्याउ, कोदो लगायतका परिकारहरु तयार गर्ने सन्तोषको योजना छ । 

हिमाली भेगमा प्रचलित खानाहरुको विविधता र मौलिक स्वादले निर्णायकहरुको मन जित्न सक्छु भन्ने विश्वास उनमा छ । 

यही डिसेम्बर ८ तारिख बेलुका सेमिफाइनलको पहिलो राउण्ड प्रसारण हुनेछ । केही राउण्डका प्रतिस्पर्धाहरु पार गर्न सक्ने प्रतियोगीहरु मात्र फाइनल राउण्डसम्म पुग्न सक्नेछन् । प्रतियोगिताको फाइनल डिसेम्बर १७ तारिख प्रसारण हुने आयोजकको वेबसाइटमा उल्लेख छ । 

सेमिफाइनल राउण्डको प्रतिस्पर्धा थप कडा हुने भएकोले सोहीअनुसार तयारी गरिरहेको सन्तोष बताउँछन् । भन्छन्, ‘अबको राउण्ड त झन् कडा हुनेछ । सेमिफाइनलसम्म पुगेका अन्य प्रतियोगी पनि निकै प्रतिभावान छन् । उनीहरुसंग प्रतिस्पर्धा गरेर उनीहरुभन्दा झन् राम्रो बन्नुपर्ने चुनौती छ ।’ 

प्रतियोगितामा अगाडि बढ्न सके नेपाल र नेपाली खाना चिनाउने अन्य धेरै परिकारहरु पस्किने उनको योजना छ । ‘कतिसम्म अघि बढ्न सक्छु थाहा छैन । अरु केहि राउण्ड माथि जान सके भने नेपाली टोपी लगाएरै खाना बनाउने ईच्छा छ । हाम्रो राष्ट्रिय झण्डा पनि देखाउने रहर छ’ , उनले सुनाए । 

प्रतियोगिताको पछिल्लो चरणमा उनले पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार जस्ता  मौलिक नेपाली खानाका परिकार पस्किएका थिए । अन्तरराष्ट्रिय स्तरमा प्रतिष्ठित बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खाना लिएर प्रतिस्पर्धा गर्ने  सन्तोष नै पहिलो नेपाली सेफ हुन् ।

अन्तरराष्ट्रिय बजारमा नेपाली खानाको ठूलो सम्भावना रहेपनि अहिलेसम्म ओझेल परिरहेको उनको ठहर छ । ‘यति मिठो र मौलिक हुँहाहुंदै पनि विश्वले चिन्न नपाएको नेपाली खानालाई चिनाउने मेरो एक मात्र सपना छ’, नेपाली लिंकलाई उनले आफ्नो लक्ष्यबारे सुनाए । 

सिरहाको कर्जन्हा घर भएका सन्तोष पछिल्लो एक दशकदेखि बेलायतमा छन् । कलिलै उमेरमा रोजगारीको खोजीमा भारत भासिएका उनले लामो मेहनत र संघर्षपछि त्यहाँका पाँचतारे होटेलहरुसम्म पुगेर सेफका रुपमा काम गर्ने अवसर पाएका थिए । लण्डन आइसकेपछि यहाँका प्रतिष्ठित मिसेलिन स्टार रेष्टुरेन्ट र सेफहरुसंगै काम गरेका उनी नेपाली खानाबाटै पहिलो मिसेलिन स्टार सेफ बन्ने लक्ष्यसाथ अघि बढिरहेको बताउँछन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू