शुक्रबार, चैत १६, २०८०
11:52 | १७:३७

बेलायतमा ६४८ संक्रमितको मृत्यु, १६ हजार बढी संक्रमित

नेपाली लिङ्क डिसेम्बर २, २०२०

लन्डन । बेलायतमा कोभिड खोपलाई स्वीकृति र लकडाउन खुलेकै दिन थप ६४८ कोरोना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार ६९९ पुगेको छ । मंगलबार ६०३ को मृत्यु भएको थियो ।

कोरोना संक्रमितको संख्या पनि १६ लाख ६५ हजार २५६ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १६ हजार १७० जनामा नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारी दिएको छ । मंगलबारको तुलनामा संक्रमित संख्या झन्डै तीन हजारले बढी छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणको प्रयासमा इंग्ल्याण्डमा लागू एक महिने लकडाउन आज बुधबारदेखि खुलेको छ । लकडाउनका बेला बन्द इंग्ल्याण्डका धेरै स्टोर, रेष्टुरेन्ट, पब, जीमखाना, हेयर ड्रेसर पनि संचालनमा आएका छन् ।

लकडाउन खुलेसंगै इंग्ल्याण्डमा अब तीन फरक-फरक तहका प्रतिवन्धहरु लागू भएका छन् । कोरोना संक्रमणको अवस्था हेरेर अति उच्च (भेरी हाई), उच्च (हाई) र मध्यम (मेडियम) अलर्ट गरी तीन तहमा वर्गीकरण गरी क्षेत्रगत रुपमा प्रतिवन्धहरु जारी गरिएको छ ।

यसैगरि जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले तयार पारेको कोभिड–१९ विरुद्धको खोपलाई स्वीकृति दिने बेलायत पहिलो मुलुक बनेको छ ।

परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी पाइएको यो खोप आम प्रयोगका लागि सुरक्षित रहेको निश्कर्षसहित बेलायतले स्वीकृत गरेको हो । सोमबार मात्रै कम्पनीका तर्फबाट आवेदन गरिएकोमा बेलायतको मेडिसिन एन्ड हेल्थ प्रोडक्ट रेगुलेटरी एजेन्सी (एमएचआरए) ले स्वीकृति प्रदान गरेको हो ।

प्राप्त जानकारी अनुसार  बेलायतमा एकसाताभित्र कोरोना विरुद्धको भ्याक्सिन संचालनमा आउने तयारीमा छ  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू