बिहीबार, चैत १५, २०८०
09:51 | १५:३६

३०९ स्थानीय तह र तीन प्रदेशमा अस्पताल भवन शिलान्यास

रासस नोभेम्बर ३०, २०२०

भरतपुर अस्पतालको आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई आइतबार भरतपुरमा सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल । तस्वीर- नारायण अधिकारी, रासस

काठमाडौं । सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुरयाउने उद्देश्यले आज ३०९ स्थानीय तहमा अस्पताल भवन र तीन वटा प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेको छ । स्वास्थ्य तथा जनसड्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तहमध्ये ३०९ वटा र तीन वटा प्रदेशमा सरुवा अस्पताल निर्माणका लागि भवनको शिलान्यास गरेको हो ।

स्थानीय तहमा बन्ने अस्पतालको भवन पाँचदेखि १५ श्ययाका र सरुवा अस्पताल ५० श्ययाका रहेका छन् । प्रदेश नं २, वाग्मती र कर्णाली प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि भवन शिलान्यास गरिएको छ ।

अहिले सङ्घमा एक मात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँमा छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ३०९ स्थानीय तहमा आधारभूत अस्पताल, तीन वटा सरुवा रोग अस्पताल र एक वटा अस्पतालको आकस्मिक विभागको भवनको शिलान्यास गरिएको जानकारी दिए ।

शिलान्यास भएका अस्पतालको भवनको उद्घाटन पूर्वप्रधानमन्त्री, मन्त्रीगण, मुख्यमन्त्री, सांसद र स्थानीय तहका प्रमुखले एकैसाथ आज गरेका थिए । सात सय ५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो ।

अधिकारीले शिलान्यास हुन बाँकी रहेका स्थानीय तहमा अस्पतालको भवन यही महिनाभित्र गरिने जानकारी दिए । “जग्गा प्राप्तिका विषयहरु समाधान गरेर यही मङ्सिरभित्र शिलान्यास हुनेछ”, उनले भने, “८७ स्थानीय तहमा आधारभूत भवन र चार वटा प्रदेशमा सरुवा अस्पतालको भवनको शिलान्यास जग्गा प्राप्ति गरेपछि हुनेछ ।”

सरकारले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न यसै आर्थिक वर्षको नीति तथा कार्यक्रममा अस्पताल नभएका सबै स्थानीय तहमा जनसङ्ख्या, बिरामी दर, स्थानीय तहको माग र आवश्यकता एवं क्षमतासमेतलाई मध्यनगर गर्दै पाँचदेखि १५ श्ययाको आधारभूत अस्पताल, सातवटै प्रदेशमा सरुवा रोग अस्पताल र अस्पतालमा आकस्मिक कक्षहरु स्थापना गर्ने कार्यक्रम रहेको थियो ।

यही कात्तिक २ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालबीच भएको बैठकले आज एकैसाथ जग्गा प्राप्त भएका स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्ने निर्णय गरेका थिए ।

सोहीअनुसार आजै अर्थमन्त्री पौडेलले ललितपुरका गोदावरी नगरपालिकाको १५ श्ययाको अस्पतालको भवन, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने अस्पताल भवनको शिलान्यास गरे । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेका थिए ।

सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो । सहप्रवक्ता डा अधिकारीले ३९६ स्थानीय तहका लागि ५८ अर्ब र सरुवा रोग अस्पताल र आकस्मिक उपचार विभागसहितका सबै अस्पतालका लागि अर्थमन्त्रालयबाट स्रोत सुनिश्चितता भई बहुवर्षिय ठेक्का प्रणालीअनुसार आवश्यक व्यवस्था मिलाइसकेको जानकारी दिए ।

निर्माण हुन बाँकी रहेका अस्पतालको हकमा आगामी वर्षको बजेटमा रकम विनियोजन गरिने छ । अधिकारीले शिलान्यास भएका ३०९ र शिलान्यास हुन बाँकी भएका ८७ स्थानीय तहका अस्पतालको भवन आगामी दुई वर्षभित्र बनिसक्ने बताए ।

आज शिलान्यास भएकासँगै स्थानीय तहमा कूल चार हजार ८७५ श्यया, ९७५ चिकित्सकसहित ९७ हजार ६५२ जनशक्ति हुने छन् । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रवाह भई स्वास्थ्य सेवाको पहुँचबाट सबै नागरिकलाई सेवा प्रदान हुने विश्वास लिइएको अधिकारीले बताए ।

मन्त्रालयले नगरपालिकामा १५ श्यया र गाउँपालिकामा हेरेर पाँच र १० श्ययाको अस्पताल भवन बनाउन थालेको हो । पाँच श्ययाको लागि रु आठ करोड, १० श्ययाका लागि रु ११ करोड र १५ श्ययाका लागि रु १८ करोड विनियोजन गरिएको छ ।

अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि रु छ अर्ब १२ करोड २६ लाख स्थानीय तहमा पठाइसकेको छ । सातवटा प्रदेशमा सरुवा रोग नियन्त्रणका लागि ५०÷५० श्ययाका अस्पताल निर्माणको प्रारम्भिक कार्य अघि बढाउन रु ५६ करोडको व्यवस्था गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू