मंगलबार, चैत ६, २०८०
11:19 | १७:०४

यूकेका पूर्व काउन्सिलर गुरुङ गायनमा ‘फूल टाइम’

सार्वजनिक गरे नयां म्यूजिक भिडियो 'तिमी र म'

नेपाली लिङ्क नोभेम्बर २८, २०२०

लन्डन । भूतपूर्व गोर्खा, राजनीतिज्ञ र समाजसेवी मात्र उनको परिचय रहेन अब । हरेक क्षेत्रमा केही नयांपन दिन रुचाउने पूर्व काउन्सिलर धन गुरुङ शुक्रबार आफ्नै स्वर, शब्द-संगीत रहेको ‘तिमी र म’ बोलको गीत अनि म्यूजिक भिडियोमार्फत सार्वजनिक भए ।

उनले डिजी प्रोडक्सन यूकेको युट्युव च्यानलबाट भिडियो रिलिज गरेका हुन् । अल्का गुरुङले प्रस्तुत गरेको उक्त भिडियोमा नायक ध्रुव दत्त र रिया लिम्बुको अभिनय छ भने भिडियो निर्देशन प्रभु गुरुङले गरेका छन् । सिनेमाटोग्राफी सुमन श्रेष्ठको छ । भिडियो बेलायतमै छायांकन गरिएको हो ।

‘छोटो समयमै राम्रो प्रतिक्रिया आएको छ’, गुरुङले नेपाली लिंकसंग भने, ‘महामहिम डा. दुर्गाबहादुर सुवेदीले विशेष शुभकामना दिनुभयो । देश विदेशबाट संगीतप्रेमी साथीहरुले शुभेच्छा पठाउंदा उत्साहित छु ।’

उक्त म्यूजिक भिडियो गत बिहीबार नेपालका राष्ट्रिय टेलिभिजन च्यानलहरु प्राइम टाइम, सूर्योदय, इमेज च्यानल र एपी वानमार्फत ग्लोवल प्रिमियर भएको थियो ।

काकडभिट्टा झापामा जन्मिएका धनले वेष्ट बेङ्गालको दार्जिलिङबाट सामाजिक अर्थतन्त्र र संगीतमा उच्च शिक्षा आर्जन गरेर पनि संगीतप्रति उनको लगाव बढेको थियो । सन् १९९० मा उनले हिमालयन ब्याण्ड (टु) यूके स्थापना गरे । आफ्नो सांगीतिक यात्रामा झण्डै दुई सय वटा गीत सार्वजनिक भइसकेको र अरु दर्जन गीत छिट्टै रिलिज हुने उनले बताए ।

गीत संगीतका हस्तीहरु मेलिना राई, अन्जु पन्त, सचिन सिंह, नरेश भट्टराई, कम्पोजर सुरत प्रधान, निर्देशक मिलन चाम्स, शास्त्रीय गीतारवादक किशोर गुरुङ लगायतसंग निकट रहेर काम गर्न पाउंदा अझ सिकेको उनको भनाइ छ ।

सन् १९८७ मा ब्रिटिश आर्मीमा भर्ती भएका उनी पल्टनमा छंदा पनि गीतसंगीतमार्फत मनोरन्जन दिन सधैं अग्रसर रहने उनका नम्बरीहरु स्मरण गर्छन् ।

सन् २००७ मा पहिलोपटक नेपालीमुलबाट बेलायतको फोकस्टन टाउन काउन्सिलर बनेर धन गुरुङले देश विदेशमा धेरै चर्चा बटुले । ४ वर्ष स्थानीय राजनीतिमा सक्रिय उनको गोर्खा आन्दोलन र समाजसेवामा पनि एकसाथ सक्रियता बढ्यो ।

केन्ट कलेज यूकेको विदेश मामिला र राजनीति विषयका विद्यार्थी धनले ब्रिटिश अभिनेत्री जोआना लुम्लीसंग सहकार्य गर्दै गोर्खा आन्दोलनलाई एउटा उचाईंमा पुरयाएका थिए ।

‘द गोर्खा मेमोरियल फण्ड यूके’ का संस्थापक अध्यक्ष उनले फोकस्टन केन्टमा गोर्खा सालिक पनि बनाए । नेपालको दुर्गमा गाउंहरुमा कम्प्युटर प्रविधि र शिक्षा प्रदान गर्न उनको निरन्तर सहयोग छ । उनले बेलायती विभिन्न स्थानीय निकायसंग समन्वय गरेर नेपालमा औषधि तथा प्राकृतिक विपत्तिका बेला राहत समेत बांडिरहेका छन् ।

म्यूजिक भिडियो हेर्नुहोस् : 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू