बिहीबार, वैशाख १३, २०८१
14:50 | १९:३५

रेग्मीलाई सांसदहरुको प्रश्न: यूकेको राजदूत पाउन मुख्यसचिवबाट राजीनामा ?

कर्मचारीतन्त्रकै रुपरेखा बिग्रिएको सांसदहरुको आरोप

नेपाली लिङ्क नोभेम्बर १२, २०२०

फाइल तस्विर: बेलायतको राजदूतमा प्रस्तावित लोकदर्शन रेग्मी

काठमाडौं । बेलायतका लागि नेपाली राजदूतमा सिफारिश भएका लोकदर्शन रेग्मीको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । सरकारको सिफारिश र संसदीय समितिको अनुमोदन भइसकेपछि अबको केहि दिनभित्रै उनलाई राष्ट्रपतिले बेलायतको राजदूतमा नियुक्ति गर्ने पक्कापक्की छ ।

गत असोज १६ गते सरकारले रेग्मीलाई बेलायतको राजदूतमा सिफारिश गरेको थियो । राजदूतमा सिफारिश हुनु एक दिनअघि मात्रै उनले नेपाल सरकारको मुख्यसचिवबाट राजीनामा गरेका थिए ।

निजामती सेवाकै सर्वोच्च पदबाट राजीनामा बुझाएको २४ घण्टा बित्न नपाउँदै उनलाई राजदूतमा सिफारिश गरिएको थियो ।

विहीबार संसदीय सुनुवाईका क्रममा रेग्मीलाई राजदूत बन्नकै लागि किन मुख्यसचिवबाट राजीनामा गरेको भनेर सांसदहरुले प्रश्न गरे । मुख्यसचिव जस्तो पदमा रहेको व्यक्ति राजदूत बन्नका लागि राजीनामा गरेर हिंड्दा कर्मचारीतन्त्रकै रुपरेखा बिग्रिएको आरोप उनीमाथि लगाइयो ।

सरकारी सेवाबाट बाहिरिएलगत्तै अर्को नियुक्ति खोज्ने प्रवृत्ति गलत रहेको टिप्पणी सांसदहरुको थियो । रेग्मीले राजदूतको अवसर पाउन मुख्यसचिव पदकै दुरुपयोग गरेको आरोप सांसदहरुले लगाए ।

सांसदहरुको प्रश्नको जवाफ दिंदै रेग्मीले राजदूत बन्नकै लागि आफूले पदको दुरुपयोग नगरेको जिकिर गरे । विधि र प्रक्रियाबाटै आफू अघि बढेको बताउँदै उनले सविंधानअनुसार सरकारले गरेको निर्णयलाई आफूले स्वीकार गरेको बताए । सार्वजनिक पदमा रहँदा आफूले कुनै गलत कार्य तथा आर्थिक अनियमतिता समेत नगरेको रेग्मीले बताएका थिए ।

यो पनि पढौं:

बेलायतको राजदूतमा प्रस्तावित रेग्मीको नाम संसदीय समितिबाट अनुमोदन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू