शुक्रबार, वैशाख २१, २०८१
12:24 | १७:०९

लन्डनमा पृथक रह्यो स्मृति दिवस, राजदूत डा. सुवेदीले चढाए ‘रिथ’

नेपाली लिङ्क नोभेम्बर ८, २०२०


लन्डन । बेलायतमा यसपटक पृथक ढंगले रिमेम्बरेन्स डे (स्मृति दिवस) मनाइएको छ । कोरोना भाइरस संक्रमण फैलिरहंदा बेलायतमा पहिलोपटक कार्यक्रम भिन्न रह्यो । सरकारले घरैमा बसेर श्रद्धासुमन अर्पण गर्न अपिल गरेको थियो ।

कोभिड प्रकोप नियन्त्रण प्रयासमा लकडाउन गरिएकाले सर्वसाधारणका लागि समारोहमा सहभागी हुन रोक लगाइएको हो । विगत वर्षहरुमा भूतपूर्व गोर्खा सैनिकहरु पनि आफ्नो पोशाक, टोपी र मेडलमा सजिएर परेडमा सहभागी हुने गरेका थिए ।

आइतबार बिहान लन्डन हवाइटहलस्थित सिनेताफमा आयोजित विशेष समारोहमा बेलायती महारानी एलिजावेश द्वितीय, प्रधानमन्त्री बोरिस जोन्सन, प्रतिपक्षी दल लेबर नेता सर कियर स्टारमर, पूर्व प्रधानमन्त्रीहरु टेरेजा मे, डेभिड क्यामरुन, टोनी ब्लेयर, सर जोन मेजर, सैन्य तथा राजनीतिक पार्टीका शीर्षस्थ नेताहरु, ब्रिटिश तथा कमनवेल्थ भेट्रान, कूटनीतिज्ञहरु लगायतको सहभागिता थियो । कार्यक्रममा भौतिक दुरी अपनाइएको थियो ।

बिहान ११ बजे दिवगंत योद्धाहरुको सम्झनामा दुई मिनेट मौनधारण गरेपछि राजकुमार चाल्स, राजकुमार विलियम, प्रधानमन्त्री बोरिस जोन्सन लगायतले ‘रिथ’ चढाएका थिए । कालो टोपी र कोटमा सजिएकी महारानीले बेलायती विदेश मन्त्रालय (एफसीओ) अफिसको बाल्कोनीबाट अवलोकन गरेकी थिइन् । उक्त विशेष समारोहलाई बीबीसी, स्काइ लगायत सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए ।

उक्त समारोहमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी पनि सहभागी भएर ‘रिथ’ चढाए । राष्ट्रिय पोशाक दौरा सुरुवाल र कालो टोपीमा सजिएका राजदूत डा. सुवेदी र आइरिस राजदूत एकसाथ रिथ चढाउन गएका थिए । बेलायतका १८३ जना राजदूतमध्येबाट ७ जना राजदूतलाई मात्र निमन्त्रणा गरिएको थियो जसमा नेपाल र आयरल्याण्डका राजदूत तथा माल्टा, मालावी, पपुवा न्यूगिनी र बंगलादेशका उच्च आयुक्तहरु समारोहमा सहभागी भए ।

‘पप्पी डे’ अर्थात् पुर्खाहरूको स्मृति दिवस प्रत्येक वर्ष नोभम्बर ११ तारिख मनाउने गरिन्छ । प्रथम विश्वयुद्धको समापनसंगै युद्धमा लडेका र वीरगति प्राप्त गरेका सैनिक योद्धाहरूप्रति सम्मान व्य​क्त गर्न यो दिवस मनाउन थालिएको हो ।

बेलायतसहित कमनवेल्थ देशमा ‘रिमेम्बरेन्स सन्डे’ मनाइन्छ । दुई विश्वयुद्धमा बेलायती साम्राज्यको रक्षार्थ धेरै गोर्खाहरुले पनि बलिदानी गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू