शुक्रबार, चैत १६, २०८०
19:32 | ०१:१७

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरियो अमेरिका

रासस /एएनआई नोभेम्बर ४, २०२०

वासिङ्टन । १९ कात्तिक– संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बुधबार औपचारिक रुपमा बाहिरिएको छ । अमेरिका बुधबार सो सम्झौताबाट बाहिरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । ती सञ्चारमाध्यमहरुका अनुसार अमेरिका गत वर्षदेखि शुरु सो अभियानबाट आज बुधबार औपचारिक रुपमा बाहिरिएको हो ।

उक्त सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बार ५ देखि शुरु गरेको थियो । त्यस निर्णयको कार्यान्वयन बुधबार भएको बताइएको छ । विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धी सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वका शक्ति राष्ट्रहरुसँग एक सम्झौता गरेको थियो ।

त्यो सम्झौतामा अमेरिकाले पनि हस्ताक्षर गरेको थियो । तर पछि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि उनले यस सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका थिए । अमेरिकाको यो निर्णयको विश्वका प्राय देशहरुले विरोध गरेका थिए । तर पनि ट्रम्प प्रशासनले सो सम्झौताबाट अमेरिका बाहिरिने अडान लिएको थियो ।

केही महिना अघिसम्म नै उक्त सम्झौताबाट नहट्न अमेरिकालाई विश्वका नेताहरुले आग्रह गरिरहेको भए पनि अमेरिकी राष्ट्रपति ट्रम्पले भने सो निर्णय मानेनन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू