शुक्रबार, वैशाख १४, २०८१
13:38 | १८:२३

इंग्ल्याण्डमा दोश्रो लकडाउनले नेपाली व्यवसाय फेरि मारमा

कोभिड शुरु भएपछि यसैपनि व्यवसाय घटेको थियो, अब थप मार

नेपाली लिङ्क नोभेम्बर ३, २०२०

लन्डन–इंग्ल्याण्डमा आउंदो बिहीबारदेखि हुने महिना दिन लामो लकडाउनले नेपाली व्यवसायी फेरि चिन्तित बनेका छन् । २ डिसेम्बरसम्म लागू हुने दोश्रो राष्ट्रिय लकडाउनले विशेष गरि नेपालीका रेष्टुरेन्ट र सेवा प्रदायक अन्य व्यवसाय प्रभावित हुने भएका हुन् ।

सरकारले इंग्ल्याण्डमा हस्पिटालिटी क्षेत्रअन्तर्गत पब, बार रेष्टुरेन्ट खोल्न प्रतिवन्ध लगाएको छ ।

लन्डनमा लामो समयदेखि रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका गोर्खाज प्राइड रेष्टुरेन्टका सञ्चालक जनक रोका दक्ष जनशक्ति अभावमा पहिले नै संकटग्रस्त भइरहेका रेष्टुरेण्टहरु थपिएको लकडाउनले अतिरिक्त मारमा परेको बताउंछन् । ‘साना ब्यवसायहरुको व्यापार कम भएपनि आर्थिक अभाव छैन् किनकि सरकारले एक वर्षको विजनेश रेट छुट, स्टाफहरुलाई फर्लो, टेकवे, डेलिभरी अनि ५० हजार बोनस ब्याकलोनले तिनीहरु टिकेका छन्’, रोका भन्छन्, ‘तर ५० सिट माथिका रेष्टुरेन्टमा टेकवे र डेलिभरी पनि नहुने, महंगो भाडा अनि कामदार राख्न नसक्ने हुनाले बढि जोखिम भएको छ ।’

गोर्खाज प्राइड रेष्टुरेन्टका सञ्चालक जनक रोका

देशको अर्थतन्त्र डामाडोल र बढ्दो बेरोजगारीबीच खानामा खर्च गर्ने ग्राहक कमै हुने बताउंदै रोकाले सरकारले ‘फर्लो स्किम’ हटाएपछि झन् कठिन हुने देख्छन् । ६० प्रतिशत भन्दा बढी व्यापार टेकवे र डेलिभरिबाट हुने साना रेष्टुरेन्टबाहेक ठूला रेष्टुरेन्ट र पार्टी हलहरु पूर्ण रुपमा संकट र कतिपय ख्यातिप्राप्त व्यवसाय नै बन्द हुने उनको बुझाइ छ ।

कोभिडविरुद्धको खोप विकास कहिले हुन्छ र लकडाउन कति लम्बिन्छ त्यसमा पनि व्यवसायको भविष्य रहेको रोकाले बताए । ‘सबैजसो रेष्टुरेण्ट विदेशी विद्यार्थी र ईयू इमिग्रेन्टले थामेको विगतबाट प्रष्ट छ’, उनले थपे, ‘ब्रेक्जिट, कोभिड महामारी र निराशाजनक अर्थतन्त्रले १-२ वर्ष ब्यवसाय टिकाउन निक्कै अप्ठेरो हुने देखिन्छ ।’


अल्डरसटस्थित एम्पायर हलका सञ्चालक पुरन गिरी सरकारको अर्को लकडाउनले व्यवसायले पुनर्जीवन पाउने सम्भावना टरेको गुनासो गर्छन् । पहिलो लकडाउन २३ मार्चदेखि बन्द उनको एम्पायर हल लकडाउन र सरकारी नियमले पूर्ववत अवस्थामा आउन अझै कयौं समय लाग्न सक्छ । ‘हामी त सरकारको नियम पालना गर्नुबाहेक अरु के गर्न सक्छौं र ?’ अहिलेको विषम परिस्थितिले आजित गिरीले सुनाए, ‘पब्लिक हल भएकाले हामीले त सरकारी ग्रान्ट पनि पाएनौं । कार्यक्रम गर्न प्रतिवन्ध छ । कसरी धान्ने हो चिन्ताको विषय छ ।’

पहिलो लकडाउनपछि बन्द एम्पायर हललाई ‘रिफर्विस्’ गरेर हल सिट क्षमता र अन्य सुविधा विस्तार गरि 
तयारी अवस्थामा राखिएको गिरीले बताए ।

लन्डनको इलिङ ब्रोडवेस्थित ४० वर्ष पुरानो नेपाली रेष्टुरेन्ट मन्टिज पनि कोभिड चपेटामा परेको छ । मन्टिजमा विगत २० वर्षदेखि व्यवस्थापन हेरिरहेका सन्जिव ढकालले सरकारको नयां लकडाउनले व्यवसाय फेरि संकटउन्मुख भएको बताए । ‘टेक वे र डेलिभरिमात्र गर्न दिने भनिएको छ । हाम्रो हाइ स्ट्रिटमा रहेको र मुख्य गरि इट-इन फाइन डाइन रेष्टुरेन्ट भएकाले व्यापार करिब ७० प्रतिशत कमी हुन सक्छ’, ढकालले नेपाली लिंकलाई भने, ‘कोभिड शुरु भएपछि यसैपनि हाम्रो व्यवसाय ५० प्रतिशत जति घटेको थियो । अब थप मार पर्ने भएको छ ।’

करिब ४० वर्षको इतिहासमा कुनै बेला साताको २० हजार पाउण्डसम्म व्यापार गर्ने मन्टिजमा अहिले ति दिन इतिहास झैं लाग्ने ढकाल बताउंछन् ।


विगत १५ वर्षदेखि बेलायतको ब्ल्याकपुलमा ‘द गोर्खा’ नामक होटल, रेष्टुरेन्ट तथा पब सञ्चालन गर्दै आएका दिलिप गुरुङले पनि लकडाउनको मार प्रत्यक्ष खेप्ने भएका छन् । सरकारको नियम अनुसार उनको होटल, रेष्टुरेन्ट तथा पब बन्द गरिंदैछ । ‘पुरै व्यवसाय नै बन्द गर्नुपरेपछि त्यसको आर्थिक असर जसले पनि अनुमान गर्न सक्छ’, गुरुङले भने, ‘सरकारी नियम पालना गर्दै लकडाउन छिट्टै बन्द होस् भन्ने कामना गर्नुको विकल्प छैन् ।’ ब्ल्याकपुलमा पर्यटकको कमी भएपछि यसअघि पनि व्यापार घट्दै गएको गुरुङको भनाइ छ ।

बेलायतमा कोभिड १९ को दोश्रो लहर शुरु भइसकेको विज्ञहरुले बताएका छन् । पहिलो भन्दा यसपटक संक्रमण र मृत्युदर झन् बढ्ने भविष्यवाणी गरिएको छ । बैज्ञानिक सल्लाहकारहरुको समूह सेज ग्रुपले बेलायतमा जाडो यामका बेलामात्र करिब ८५ हजार मानिस कोरोना भाइरसका कारण मर्न सक्ने अनुमान गरेकाले पनि यसपटक थप सन्त्रास छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू