लन्डन वर्ल्ड ट्राभल मार्केटमा नेपालको सहभागिता



लन्डन । लन्डनमा जारी पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) मा नेपालले सहभागिता जनाएको छ ।
लन्डन एक्सेलमा मंगलबार ४ नोभेम्बरदेखि तीन दिनसम्म चल्ने विश्वकै उत्कृष्ट उक्त पर्यटन मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ ।
मेलामा नेपालबाट होटल, ट्राभल एण्ड टुर, एयरलाइन्स र एक्सपिडिसन सेल्स कम्पनी गरि ३० वटा कम्पनीले सहभागिता जनाइरहेका जोशीले जानकारी दिए ।
जेनजी आन्दोलनपछि नेपालको पर्यटन क्षेत्रसमेत प्रभावित भइरहंदा मेलामार्फत नेपाल अब सामान्य भइसक्यो र घुम्न सुरक्षित छ भन्ने सन्देश दिइएको बोर्ड सिइओ जोशीले बताए । युरोपियन कम्युनिटीमा नेपालको आन्दोलनबारे ‘नोटिस’ नै नभएको आफूले पाएको पनि उनले बताए ।
सन् १९८० देखि शुरु वर्ल्ड ट्राभल मार्ट लन्डन आइटिबी बर्लिनपछि पर्यटन व्यवसायीहरुको दोश्रो ठूलो विश्व मेला मानिन्छ । यो दशकौंदेखि ग्लोवल ट्राभल एण्ड टुरिजमको प्रभावशाली इभेन्ट समेत बनेको छ ।

लन्डनस्थित नेपाली दूतावासले नेपालबाट आएको प्रतिनिधिमण्डललाई स्थानीय तहमा सहजीकरणको काम गरेको कार्यवाहक राजदूत विपिन दुवाडीले जनाए ।
यस मेलामा नेपालको सहभागिता लामो समयदेखि निरन्तर छ । नेपाल पर्यटन बोर्ड स्थापना भएयता २७ वर्षदेखि निरन्तर सहभागिता रहेको जोशीले बताए । सन् २०२३ मा भने बोर्डको आन्तरिक समस्याका कारण सहभागिता हुन सकेन ।
अहिले डब्लुटिएम लन्डनले २. ८ बिलियन पाउण्डको उद्योग सम्झौताहरू प्रदान गर्दछ भने यसमा १८२ देश र क्षेत्रका लगभग ५ हजार प्रदर्शक र ५१ हजार बढी सहभागी हुन्छन् । झण्डै ५ हजार प्रदर्शनी कक्षमार्फत विश्वभरका पर्यटन व्यवसायीले आआफ्नो प्रचार प्रसार र सम्पर्क स्थापित गर्ने गर्छन् । पर्यटन सम्भावना र नीतिबारे मन्त्रीस्तरिय विभिन्न अन्तरकृया समेत गरिन्छ । डब्लुटिएममा विश्वभरिका टुर अपरेटर, ट्राभल एजेन्टहरु, डेस्टिनेशन म्यानेजमेन्ट कम्पनी, प्रविधि पार्टनर, विमानसेवा, विभिन्न देशका पर्यटन निकाय आदिले भाग लिन्छन् ।

निरासाजनक छैन् नेपालको पर्यटन
सिइओ जोशीका शब्दमा गत ८ र ९ सेप्टेम्बरको आन्दोलनपछि त्यस महिना पर्यटक आगमन संख्या १८.३ प्रतिशतले घटेपनि अक्टोबरमा पर्यटक आगमन संख्या गत वर्षको अक्टोबरभन्दा ३.३ प्रतिशत वृद्धि भयो जुन निरासाजनक होइन । जोशीले भने, ‘यद्यपि हाम्रो प्रवर्धनात्मक कार्यक्रम अनुरुप २० प्रतिशत पर्यटक बढ्ने आशा चाहिं पूरा भएन ।’
चीन र भारतबाट पर्यटक संख्या घटेको उनले जनाए । बेलायतबाट भने मासिक करिब ८ हजार हाराहारी छ ।
नेपाल घुम्न आएका पर्यटक, विदेशस्थित डायष्पोरा र मिसन एवं मल्टिपल एजेन्सीमार्फत नेपाल नर्मल भइसक्यो भन्ने सन्देश आक्रामक तरिकाले दिंदा पर्यटन क्षेत्र छिटो रिकभर भएको जोशीको भनाइ छ ।
सिइओ जोशीले अब नेपालमा परम्परागत माउन्टेन टुरिजमबाहेक आध्यात्मिक, वन्यजन्तु र सांस्कृतिक पर्यटन प्रचार प्रसार अभियान शुरु गरिने पनि जनाए ।
‘निजी क्षेत्रको बीटुबी अतिरिक्त हामी डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष ग्राहक लक्षित कार्यक्रम पनि आक्रामक बनाउने सोचमा छौं’, उनले भने ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



