शनिबार, साउन १२, २०८१
02:18 | ०७:०३

धरानको भेडेटारमा शुरु भयो जीपलाइन खेल

३ करोड लगानीमा जिपलाइन शुरु गरिएको

रासस नोभेम्बर २, २०२०

सुनसरी । पर्यटकीय नगरी धरान पछिल्लो समय साहसिक खेल हुन थालेका छन् । धरानका केही व्यवसायीहरुले २०६७ सालमा प्याराग्लाइडिङ र जलयात्रा (रयाफ्टिङ) शुरु गरेपछि अन्य साहसिक खेल पनि शुरु हुन थालेका हुन् ।

पाराग्लाडिङ पछि पछिल्लो समय धरान–४ स्थित भेडेटारमा जीपलाइन खेल शुरु भएको छ । गत फागुन १७ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको जीपलाइन खेल सात महिनापछि आजबाट शुरु भएको छ । वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले सञ्चालन गरेको खेल लकडाउन भए पछि बन्द भएको थियो ।

भेडेटारमा २ वर्ष अध्ययन गरेर करिव ३ करोड लगानीमा जीपलाइन शुरुआत गरिएको सञ्चालक मध्येका एक विवस भण्डारीले जानकारी दिए । उनका अनुसार जीपलाइनमा टेकअफ पोइन्टदेखि ल्याण्डिङ पोइन्टसम्म आइपुग्न करिब ३०-४० सेकेण्ड लाग्छ । क्लासिक, सुपरम्यान र कपल जिपफ्लाइङ गरी तीन प्रकारको सुविधा दिइदै आएको छ । क्लासिकमा एकजना बसेर फ्लाइङ गर्छन् भने सुपरम्यानमा उडे झै गरी फ्लाइङ गर्छन् ।

त्यस्तै कपलमा जोडीले बसेर फ्लाइङ गर्छन् । क्लासिकको एक हजार दुई सय, सुपरम्यानको एकहजार पाँच सय र कपलको एकहजार आठ सय रुपैयां मूल्य तोकिएको छ ।

तारको क्षमता ११ हजार किलो भारको छ । सेफ्टी बेल्ट (हार्नेस) २२ देखि २७ सय केजी भार र क्याराविनरको भार क्षमता पनि २७ सयकेजीसम्म रहेको कम्पनीले जनाएको छ । साहसिक पर्यटकहरुको ५ लाखका बीमा पनि भएकोले सुरक्षाको चिन्ता लिन नपर्ने सञ्चालक बताउँदछन् ।

नेपालमा हुंदै आएका १६ वटा साहसिक खेलमध्ये पाँच-छ वटा खेल धरानमा सम्भावना रहेको धरान उपमहानगरपालिकाका पर्यटन विकास समितिका सह–संयोजक किशोर थुलुङले जानकारी दिए । उनका अनुसार धरानमा हाल साइकिलिङ, पाराग्लाइडिङ, क्यानोनिङ, फ्लाइङ विपलाइन, बोटिङ, रेस, बाइक रेसलगायत खेलको सम्भावना छ । साइकिलिङ, बोटिङ खेल निजीस्तरबाट भइरहेका छन् ।

धरानका युवा व्यवसायी मदन ढकालले धनकुटाको मुलघाटबाट चतरासम्म जलयात्रा (रयाफ्टिङ) सेवा दिदै आएका छन् । छोटी मोरङ र दानाबारीबाट पाराग्लाइडिङको उडान भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू