शुक्रबार, वैशाख १४, २०८१
17:35 | २२:२०

न्यूजील्यान्डमा नयाँ मन्त्रिपरिषद घोषणा

प्रधानमन्त्री आर्डेनको दोस्रो कार्यकाल शुरु

रासस/एएनआई नोभेम्बर २, २०२०


वेलिङटन, १७ कात्तिक–– न्यूजील्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषदको घोषणा गरेकी छन् । निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्व अर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ ।

रोबर्टसनले आफूलाई समलिङ्गी भएको भन्दै खुला रुपमा बताउने गरेका छन् । उनलाई अर्थ मन्त्रालयको कार्यभार दिइएको छ ।

२० सदस्यीय मन्त्रिपरिषदमा महिला र माओरी समुदायका व्यक्तिलाई पनि राम्रो स्थान दिइएको छ । माओरी समुदायमा प्रचलित परम्परागत टाटु चिउँडोमा खोपेकी ननैया महुतालाई विदेश मन्त्रीको जिम्मेवारी दिइएको छ ।

गत अक्टोबरमा सम्पन्न आमचुनावमा ठूलो जनमत सहित विजयी भएकी आर्डेनले मन्त्रिपरिषदलाई बढीभन्दा बढी समावेशी बनाउने प्रयत्न गरेकी छन् ।

मन्त्रिपरिषद गठनका बारेमा राजधानी वेलिङटनमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री आर्डेनले न्यूजील्यान्डका लागि आगामी तीन वर्ष निकै चुनौतीपूर्ण रहेको बताइन् । उनले विश्वका धेरै देशलाई समस्यामा पारेको कोभिड–१९ ले न्यूजीन्यान्डलाई पनि असर पार्ने भन्दै चिन्ता व्यक्त गरिन् ।

नयाँ मन्त्रिपरिषद जतिसक्दो समावेशी बनाउने क्रममा आफूले योग्यतालाई पनि विशेष रुपमा ध्यान दिएको उनले स्पष्ट गरिन् ।

प्रधानमन्त्री आर्डेनको दोस्रो कार्यकाल शुरु हुँदैछ । गत चुनावमा आर्डेनको लेबर पार्टीले ८७ प्रतिशत मतगणना भइसक्दा झण्डै ४९ प्रतिशत मत प्राप्त गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू