बिहीबार, वैशाख १३, २०८१
09:41 | १४:२६

टर्कीको भूकम्पमा ४२ जनाको मृत्यु

शुक्रबार ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो

रासस/एएनआई नोभेम्बर १, २०२०

भग्नावशेषमा उद्दारकर्ताहरु । तस्बिर सिन्हवा

अंकरा । टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको यहाँका अधिकारीहरुले जनाएका छन् । यो भूकम्पको धक्का अन्य छिमेकी देशहरुमा पनि महसुश भएको बताइएको थियो ।

तर पनि ती देशहरुमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । टर्कीको इज्मीर शहरमा शुक्रबार ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त शहरमा अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ । भूकम्पका कारण अहिलेसम्म ८०० जना घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । भूकम्पपछि सयौँ पटक पराकम्प पनि महसुस गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टेलिभिजनमार्फत् सम्वोधन गर्दै यस भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुगेको जानकारी आइतबार दिएका हुन् । उनले खोजी तथा उद्धार कार्य भइरहेको र सबैजना त्यसमा सहभागी हुन वा सहयोग गर्न आह्वान गरे । उनले त्रसित नहुन र सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरेको यहाँको राष्ट्रिय टेलिभिजनले जानकरी दिएको छ । यहाँका दर्जनौं घर भत्केको विवरणहरु आएको र यसमा परेर सयौँ नागरिक घाइते भएका बताइएको छ ।

शुक्रबार नै अधिकारीहरुले धेरै मानिसहरू पुरिएको हुनसक्ने बताएका थिए । तर आइतबार भने मृत्यु हुनेको संख्या ४२ पुगेको जनाइएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू