शुक्रबार, चैत १६, २०८०
07:17 | १३:०२

बेलायतमा पहिलो भिसी विजेताको जीवनीमा बन्यो फिल्म

कोरोनाका कारण 'गोर्खाः बिनीथ द ब्रेभरी' रिलिजमा ढिलाइ

नेपाली लिङ्क अक्टोबर ३१, २०२०

लन्डन । बेलायतवासी नेपाली युवाले भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो नेपाली स्वर्गीय कुलबीर थापाको जीवनीमा फिल्म निर्माण गरेका छन् । यही नोभेम्बरमा पोष्ट प्रोडक्सनको काम सकिने निर्माण पक्षले जनाएको छ । तर, कोरोना भाइरसका कारण रिलिज मिति भने अनिश्चित छ ।

परिस्थिति अनुकुल भएपछि पहिलो प्रिमियर यूके र त्यसपछि नेपाललगायत अन्य मुलुकमा गरिने पिआर म्यानेजर निशा गुरुङले जनाइन् । गुरुङले उक्त फिल्मको प्रमोशनका लागि खुकुरी रमलाई ‘अफिसियल प्रमोशनल पार्टनर’ र प्रायोजक घोषणा गरिएको जनाउंदै भविष्यमा बेलायत, नेपाल र विश्वका अन्यत्र ठाउंमा फिल्म प्रचार प्रसारको जिम्मा खुकुरी रमले लिएको उनको भनाइ छ । नेपालको स्थापित कम्पनीको साथ पाएर फिल्मले यथेष्ट चर्चा बटुल्ने विश्वास निशाको छ ।

बेलायत बसोवासरत भूतपूर्व ब्रिटिस गोर्खा सन्तानहरुले स्वर्गीय थापाको जीवनीमा आधारित ‘गोर्खाः बिनीथ द ब्रेभरी’ नामक चलचित्र बनाएका छन् । २६ हजार पाउण्ड क्राउड फण्डिङ र अन्य चन्दा गरि करिब ३० हजार पाउण्ड लगानीमा फिल्म बनाइएको हो ।

यो नेपालमा बनाउन उल्लेख्य बजेट भएपनि बेलायतमा सिमित स्रोत साधनबीच फिल्म बनाउनु परेको निर्देशक प्रदीप शाही बताउँछन् ।

निर्देशक शाहीसहित अन्य कलाकार, क्यामेरामेन लगायत चलचित्र युनिटमा आवद्ध धेरैजसो प्राविधिक पनि गोर्खा सन्तान हुन् ।

करिब सवा घण्टा लामो उक्त चलचित्रमा समिर गुरुङले भिसी कुलबीर थापा र गौमाया गुरुङले मैयाँ अर्थात भिसीपत्नीको भूमिकामा अभिनय गरेका छन् भने ओली बासी, सूर्य गुरुङ, राजन गुरुङ, अगोस्टिनो, रोविन, चार्ली, ज्याक, माइकल लगायतले युद्दमोर्चामा प्रत्यक्ष लडेका सेनाको भूमिका निभाएका छन् ।

सगरमाथा युथ युकेको समेत अभिनयमा साथ छ । स्वर्गीय कुलबीर थापा बेलायत सरकारको सम्मानित पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो नेपाली हुन् । पाल्पामा जन्मिएका थापाले भारतीय सेनामा सेवारत रहंदा २६ वर्षको उमेरमै भिक्टोरिया क्रस पाए ।

लुको युद्धको शुरुमा २५ एप्रिल १९१५ मा उनी 
फ्रान्समा तैनाथ थिए । उनको सैनिक टोलीमाथि विपक्षी जर्मन सैनिकहरुले गोलाबारी शुरु गरे । लड्दै जांदा उनी जर्मन नियन्त्रित क्षेत्रमा पुगिसकेका रहेछन् । उनी घाइते पनि थिए ।

उनले बेलायतको लेस्टरसायर रेजिमेन्टको दोश्रो बटालियनका एकजना नराम्रोसंग घाइते सैनिकलाई भेट्टाए । ती सैनिकले उनलाई आफ्नो ज्यान जोगाउन सुझाव दिए । तर, थापा दुश्मनको क्षेत्रमा उनीसंग एक रात, एक दिन संगै बसे ।

सेप्टेम्बर २६ का दिन एकाबिहानै उनले जर्मनहरुले लगाएको तारबार नाघेर ती घाइते सैनिकलाई ल्याएर राखे । त्यसपछि फेरी दुश्मनहरुको नियन्त्रणमा रहेको इलाकाभित्र पसेर उनले दुईजना घाइते गोर्खा सैनिकलाई पालैपालो सुरक्षित स्थानमा ल्याए । उनी फेरी गएर घाइते ब्रिटिश सैनिकलाई पनि दिउसो उज्यालोमै सुरक्षित स्थानसम्म पुरयाए ।

यही बहादुरीका लागि बकिङघम राजदरबारमा आयोजित एक समारोहमा ब्रिटिश नरेश किङ्ग जर्ज पांचौंले थापालाई भिक्टोरिया क्रस तक्मा प्रदान गरेका थिए ।

सन् १८८९, १५ डिसेम्बरका दिन पाल्पामा जन्मिएका तिनै भिसी विजेता थापा चलचित्र पर्दामा देखिंदै छन् । तर, कोरोना कहरले त्यो दिन कहिले आउने हो सबैलाई खुल्दुली छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू