विश्वभर कोरोनाबाट चार करोड ५० लाख भन्दा बढी संक्रमित
न्युयोर्क । न्युयोर्क, १४ कात्तिक–विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी चार करोड ५० लाख १८ हजार ३५४ जना सङ्क्रमित भएका छन् ।
कोरोनाका कारण विश्वभर अहिलेसम्म एघार लाख ८० हजार मानिसको मृत्यु भएको पनि विवरणहरुमा जनाइएको छ । सङ्क्रमित भएकाहरुको संख्याका आधारमा हेर्दा सबैभन्दा धेरै प्रभावित अमेरिका छ भने दोस्रोमा भारत, तेस्रोमा ब्राजिल, चौथोमा रुस र पाँचौँमा फ्रान्स छ ।
अमेरिकामा अहिलेसम्म ९२ लाख १२ हजार ७६७ जना सङ्क्रमित भएका छन् भने दुई लाख ३४ हजार १७७ को मृत्यु भएको छ । त्यसैगरी भारतमा ८० लाख ८८ हजार ८५१ जना सङ्क्रमित हुँदा एक लाख २१ हजार १३१ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ ।
तेस्रो अग्रस्थानमा रहेको ब्राजिलमा ५४ लाख ९६ हजार ४०२ जना सङ्क्रमित र एक लाख ५९ हजार ३३ जनाको मृत्यु भएको छ । त्यसैगरी चौथो क्रममा रहेको रुसमा १५ लाख ९९ हजार ९७६ जना सङ्क्रमित र २७ हजार ६५६ जनाको मृत्यु भएको छ भने फ्रान्समा १२ लाख ८२ हजार ७६९ जना सङ्क्रमित र ३६ हजार २० जनाको मृत्यु भएको छ ।
कोरोनाभाइरसको महामारी अहिलेसम्म विश्वका २१८ देशमा फैलिएको छ भने सङ्क्रमित भएर पनि निको भइसकेकाहरुको संख्या तीन करोड ३० लाख १८ हजार ६९७ रहेको छ । त्यसैगरी अहिलेपनि सङ्क्रमित अवस्थामै रहेका कुल एक करोड ११ लाख ७६ हजार ४२५ मध्ये एक करोड दश लाख ९४ हजार १४३ जनाको अवस्था मध्यम छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५