फाइल फोटो
कपिलबस्तु । नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले रयाली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ ।
तर, यस वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण कपिलवस्तुका मुस्लिम समुदायका व्यक्तिले सामूहिक भेला भएर गरिने कार्यक्रमहरु रद्द गरी आ–आफ्नै घरमा मोहम्मद डे मनाइरहेको मुस्लिम आगुवा जमशेर अलि मियाले बताए ।
कपिलवस्तुको चन्द्रौटा, तौलिहवा, कृष्णनगर, महाराजगञ्ज, बहादुरगञ्जमा मुस्लिम समुदायले घर तथा मस्दिमहरुमा नमाज पढेर मोहम्मद डे मनाइ रहेको मौलाना मशहुद खाँ नेपालीले बताए । मोहम्मदको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग उनको छ ।
मोहम्मदको जन्म इस्वी सम्वत् ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो । बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको थियो । उनी जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तीर्थस्थल मानिन्छ ।
मुस्लिम अगुवाहरुले हज कमिटीलाई व्यवस्थित बनाउनुपर्ने, मदरसालाई अन्य सरकारी विद्यालय सरह मान्यता दिनुपर्ने र मोहम्मद डेको अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका छन् । सरकारले विगतमा मुसलमान संयुक्त सङ्घर्ष समितिसँग सार्वजनिक विदा दिने सम्झौता गरे पनि कार्यान्वयन हुन नसकेकोमा उनीहरुले दुःख व्यक्त गरेको छ ।
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार कूल जनसङ्ख्याको ४ दशमलव ४ प्रतिशत मुस्लिम रहेका छन् । नेपालमा बसोवासका आधारमा ७७ जिल्लामा नै मुस्लिम समुदाय रहेको बताइएको छ ।
नेपालगञ्जमा मोहम्मद डेको हर्षोल्लास
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव (मोहम्मद डे) को अवसरमा नेपालगञ्जका इस्लाम धर्मावलम्बीमा आज बिहानैदेखि हर्षोल्लास छाएको छ । नेपालगञ्जका विभिन्न स्थान बेलुन, झण्डा, बत्तीसहित सिङ्गारिएका छन् । इस्लाम धर्मावलम्बीहरुले बिहानैदेखि शहरका चोक–चोकमा झाँकी र बाजागाजासहित प्रदर्शन गरिरहेका छन् ।
बाँकेका इस्लाम समुदायका धर्मगुरु तथा अगुवाहरुले सामाजिक दूरी कायम गरेर मोहम्मद डे मनाउन आग्रह गरेका छन् । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम रहेकाले सामाजिक दूरी कायम गरेर मोहम्मद डे मनाउन सबै इस्लाम धर्मावलम्बीमा आग्रह गरिएको धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए । उनले कोरोना भाइरस सङ्क्रमणबाट आफू सुरक्षित राख्दै चाडपर्व मनाउन नेपालगञ्जवासीमा अपिल समेत गरे ।
जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले अहिलेको विषम परिस्थितिमा स्वास्थ्य सजकताका साथ पर्व मनाउनुपर्ने बताउँदै हालै सम्पन्न भएको दशैं लगायतका अन्य चाडपर्वमा देखिएको सद्भाव र सामाजिक एकतालाई मोहम्मद डे मा पनि कायम राख्न सबैमा अनुरोध गरे ।
इस्लामी पात्रोको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखका दिन नेपाली मुसलमानसहित विश्वभरिका मुसलमान धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएको इस्लाम धर्मका गुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताए । उनका अनुसार आज नेपालगञ्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुसलमान धर्मावलम्बीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन् ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणी स्मरण गर्ने गरिन्छ ।