बिहीबार, वैशाख १३, २०८१
09:55 | १४:४०

ताइवानमा २०० दिनभित्र आन्तरिक संक्रमित शून्य    

ताइवानमा अहिलेसम्म ५५० जना मात्रै संक्रमित

रासस/एएनआई अक्टोबर ३०, २०२०

ताइपेइ, १४ कात्तिक– ताइवानमा पछिल्लो २०० दिनदेखि कोरोनाभाइरस आन्तरिक रुपमा सरेर सङ्क्रमित भएकाहरुको संख्या शून्य रहेको छ ।

विश्वभरी कोरोनाभाइरसको महामारी फैलिइरहेको भएपनि ताइवानमा भने अहिलेसम्म ५५० जना मात्रै सङ्क्रमित भेटिएका थिए ।

त्यसैगरी कोरोनाभाइरसका कारण ताइवानमा अहिलेसम्म सात जनाको मात्रै मृत्यु भएको छ । ताइवानमा झण्डै दुइ करोड तीस लाख जनसंख्या छ ।

ताइवानमा सबैभन्दा पछिल्लो सङ्क्रमित गत अप्रिल १२ तारिखका दिन भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सफल देशको रुपमा ताइवानलाई लिन थालिएको छ ।

चिकित्सा सम्बन्धी अष्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालय मेडिकल सेन्टरका प्राध्यापक पिटर कोलिग्ननले कोरोना महामारीको राम्रो व्यवस्थापन गर्नेमा ताइवान विश्वमै सबैभन्दा अगाडि रहेको दावी गरे ।

प्रतिवेदनहरुका अनुसार ताइवान सन् २०२० मा लगातार आर्थिक बृद्धि गर्ने थोरै देशहरुको सूचीमा पनि छ । महामारीको चर्चा थाहा पाउनासाथ आवतजावत गर्ने र भिडभाड गर्नेहरुलाई रोक्ने गरी प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरिएकाले संक्रमण फैलिन नपाएको पिटरको भनाई छ ।

यस्तो व्यवस्था जनवरीमै लागू गरिएको थियो । साथै ताइवानले शुरुदेखि नै सीमा नाकामा पनि कडाइ गरेको थियो ।

ताइवानमा विद्युतीय माध्यमबाट शंकास्पद व्यक्तिहरुको ट्रेसिङ र शंका लागेका व्यक्तिहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू