आइतबार, वैशाख ३०, २०८१
04:25 | ०९:१०

‘रिमम्बरेन्स् डे’ को अवसरमा बेलायतमा युद्ध साहित्य गोष्ठी गरिंदै

‘युद्ध-सिर्जना’ वाचनसहितका विविध कार्यक्रम

नेपाली लिङ्क अक्टोबर २९, २०२०

लन्डन । विश्व नेपाली साहित्य महासंघ (वेनेसाम) साउथ यूकेले एक युद्ध साहित्य गोष्ठी आयोजना गर्ने भएको छ ।

‘रिमेम्बरेन्स् अर्थात पप्पी डे’ को अवसर पारेर आउंदो नोभेम्बर ७ का दिन गोष्ठी आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष विजय हितानले जानकारी दिएका छन् ।

‘रिमम्बरेन्स् डे’को दिनमा गोर्खाली सैनिक तथा लाहुरे जनजीवनसँग सम्बन्धित सिर्जना वाचन भर्चुवल माध्यमबाट गरिन लागिएको हो । गोष्ठीमा विशेष अतिथिका रुपमा युद्ध साहित्यकार रक्ष राईको पनि सहभागिता रहने संस्थाका सचिव अमित थेबेले जानकारी दिए ।

‘पल्टनेको फोटो’ कथासंग्रह हालै प्रकाशन गरेका कथाकार राईले युद्ध सौन्दर्य र लाहुरे तथा पल्टनीय साहित्यको विषयमा प्रस्तुति गर्ने अपेक्षा गरिएको छ ।

त्यसअवसरमा सहभागी स्रष्टाहरुले आफ्ना सिर्जना सुनाउनेछन् । सोही दिन औतारी साहिंला र फिफ्रा काहिंलाद्वारा लिखित ‘हाम्रो अतित हाम्रो मन’ कविता संग्रहमाथि गणेश पुनले समिक्षा गर्ने कार्यक्रम पनि छ ।

नेपालमा लाहुरे परम्पराले एउटा पृथक संस्कार र संस्कृति निर्माण गरिसकेको सन्दर्भमा यही इतिहासको प्रबर्द्धन र संरक्षणमा टेवा पुर्‍याउनु गोष्ठीको मुख्य उद्धेश्य रहेको आयोजकको भनाइ छ ।  

लाहुरे जनजीवन तथा पल्टनसँग सम्बन्धित घटना, अनुभव, संवेदना, पीडा तथा भोगाइमा आफ्ना गीत, गजल, कविता, मुक्तक, हाइकु जस्ता सिर्जना लिएर जो कोही पनि जुम एपमार्फत गोष्ठीमा सहभागी हुन सक्ने बताइएको छ ।  

त्यस अवसरमा साहित्यमा कलम चलाउने सेवारत तथा अवकाशप्राप्त गोर्खा सैनिक तथा सम्बन्धित व्यक्तिहरुको बाक्लो सहभागिता रहने आयोजकको अपेक्षा छ । 

गोष्ठीमा सहभागी ईच्छुक स्रष्टाहरुको लागि जुम एपको लगिन आईडीसहितको जानकारी विनेसाम साउथ यूकेको आधिकारिक फेसबुक पेजमा पछि राखिनेछ ।

बेलायतमा हरेक वर्ष नोभेम्बर ११ तारिखका दिन ‘रिमेम्बरेन्स् डे मनाइन्छ । प्रथम विश्वयुद्ध अन्त्य भएको दिनको रुपमा यस दिवसमा सम्पूर्ण युद्धहरुमा सहादतप्राप्त सैनिकहरुलाई स्मरण गर्दै श्रद्धान्जली दिइन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू