बिहीबार, वैशाख ६, २०८१
12:29 | १७:१४

मेक्सिकोमा कोरोनाबाट ९० हजार भन्दा बढीको मृत्यु  

अर्जेन्टिनामा ३० हजार बढीको मृत्यु  

रासस/एएनआई अक्टोबर २९, २०२०

फाइल फोटो

मेक्सिको सिटी, १३ कात्तिक– मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९५ जना संक्रमितको ज्यान गएको छ ।

मन्त्रालयका प्रवक्ता लुइज अलोमियाले मेक्सिकोमा हालसम्म ९ लाख ६ हजार व्यक्ति संक्रमित भइसकेको बताउँदै यी संंक्रमितमध्ये ९० हजार ३०९ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले पछिल्लो २४ घण्टामा ५ हजार ५९५ जना नयाँ संक्रमित थपिएको पनि बताउनुभयो ।

यसैबीच, दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजार ७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३४५ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको थियो । मन्त्रालयका अनुसार अर्जेन्टिनामा हालसम्म ११ लाख ३० हजार ५३३ जना संक्रमित भएकामा ९ लाख ३१ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । अर्जेन्टिनाको सबैभन्दा ठूलो शहर ब्यूनस आयर्समा मात्र ५ लाख ४० हजार व्यक्तिमा संक्रमण देखिएको छ ।

मन्त्रालयले कोरोनाभाइरसका कारण गम्भीर स्वास्थ्य अवस्था रहेका पाँच हजार व्यक्तिको हाल सघन उपचार कक्षमा राखेर उपचार भइरहेको जनाएको छ । अर्जेन्टिनामा गत मार्च ३ मा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो ।

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ४ करोड ४३ लाखभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने ११ लाख ७० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू