शुक्रबार, वैशाख ७, २०८१
02:55 | ०७:४०

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्यारेटद्वारा शपथ

रासस/एएनआई अक्टोबर २७, २०२०

वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका रुपमा एमी कोने ब्यारेटले शपथग्रहण गरेकी छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित ब्यारेटको नाम माथिल्लो सदन सिनेटले सोमबार पारित गरेपछि उनले सपथग्रहण गरेकी हुन् ।

सिनेटको न्यायिक समितिमा विपक्षी डेमोक्रेट सदस्यहरुले अहिले न्यायधिश नियुक्त गर्ने उपयुक्त समय नभएको भन्दै विरोध जनाएपछि उनको नियुक्तिमा विवाद हुँदै आएको थियो ।

सिनेटमा अल्पमतका नेता चाल्र्स शुमर र समितिमा रहेका डेमोक्रेट सदस्यहरुले न्यायाधीश नियुक्ति प्रक्रिया शुरुदेखि नै लज्जाजनक रहेको बताउँदै आएका थिए ।

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा न्यायाधीश नियुक्त गर्ने प्रक्रिया र पद्धति नै गलत रहेको र यस्तो पद्धतिमा सहभागी भएर वैधानिकता दिने कार्य आफूहरुका लागि स्वीकार्य नरहेको उनीहरुको भनाइ थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत सेप्टेम्बर २६ मा ४८ बर्षीया एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गरेका थिए । राष्ट्रपतिको मनोनयनलाई सिनेटबाट पारित गर्नुपर्ने व्यवस्था छ ।

ब्यारेट सर्वोच्च अदालतका दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने सर्वोच्च अदालतका पूर्वन्यायाधीश एन्टोनिन स्केलियाको क्लर्क भई काम गरेको अनुभव छ । ब्यारेट यसअघि संयुक्तराज्य मेरिकाको सातौँ सर्किटको पुनरावेदन अदालतमा न्यायाधीश थिइन् ।

उदारवादी भनेर चर्चित न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएपछि सर्वोच्च अदालतमा रिक्त भएको स्थानमा राष्ट्रपति ट्रम्पले ब्यारेटलाई मनोनयन गरेका हुन् । उनले मङ्गलबारदेखि नै काम शुरु गरेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू